टोखालाई नमुना नगर बनाउन तल्लीन बि.सी. एक वर्षमा एक दिन पनि बिदा बसेका छैनन् « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टोखालाई नमुना नगर बनाउन तल्लीन बि.सी. एक वर्षमा एक दिन पनि बिदा बसेका छैनन्


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । टोखा नगरपालिकाले विकास पूर्वाधार र प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखेको छ । २०७१ मंसिर १६ मा स्थापना भएको नगरपालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । 

नगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई अझ सुदृढ, पारदर्शी र जनमैत्री बनाउँदै छिटो छरितोरुपमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले सूचना प्रविधिको प्रयोगमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. बताउँछन् । उनका अनुसार सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि नगरपालिकाले कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौतासमेत गरेको छ । नगरपालिकाका प्राथमिकता, वर्तमान गतिविधि र भावी योजनासँग सम्बन्धित रहेर प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.सँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

प्राथमिकतामा पूर्वाधार र कानुन
नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पूर्वाधार विकासमा सडक विस्तार, सडक स्तरउन्नती, खानेपानी व्यवस्थापनलगायत विभिन्न योजनाहरूमा काम गरिरहेका छ । नगरपालिकाको संरचनागत विकास पनि प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले प्रदान गर्ने सेवाहरूलाई अझ सुदृढ, पारदर्शी, जनमैत्री बनाउँदै छिटो छरितो रूपमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छौँ ।

नगरपालिकाले कानुन निर्माणलाई पनि प्राथमिकता राखेको छ । समयमा कानुन निर्माण भएन भने सेवा प्रवाहमा पनि समस्या आउँदो रहेछ । र सेवा प्रवाह प्रभावकारी नहुँदो रहेछ ।  सेवा प्रवाह प्रभावकारी बनाउनका लागि कानुन निर्माणलाई तीव्रता दिएका छौँ । नगरपालिकाले ऐन, नीति, रणनीति, कार्यविधि, फ्रेमवर्कसँग सम्बन्धित १५ वटा कानुनहरू निर्माण गरिसकेको छ । यसै गरी १६ वटा कानुन बन्दै छन् । 

आवधिक योजना जारी गर्‍यौँ । र आवधिक योजना जारी गरेपछि एमटिएफ बनाएर त्रिपक्षीय बजेट खर्चको मोडालिटी तयार गर्दै छौँ । इन्टरनल कन्ट्रोल सिस्टम निर्माण गरेर नगरपालिकाको आर्थिक जोखिम न्यूनीकरण, अन्तर शाखा समन्वय, शाखागत सेवा प्रवाहलाई चुस्त बनाउने काम भएको छ ।  

म पालिकामा आएपछि सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भनेर कुरा उठाएँ । अहिले सार्वजनिक जग्गा संरक्षणको काम भइरहेको छ । असारमा भएको नगर सभाले सार्वजनिक जग्गा संरक्षण समिति बनाएको छ । 

विष्णुमती करिडोरमा डोजर लगाएका थियौँ । अवैध संरचना बनाएर खोला कब्जा गरेकाहरूलाई हटाएका थियौँ । करिडोर खोल्ने काम भयो । नगरपालिकाले सामाखुसीदेखि झोरसम्मको बाटो ठूलो बनाउने गरी काम गरिरहेको छ ।

प्रविधिमैत्री सेवा
नगरपालिकाका सबै शाखा र वडा कार्यालयहरूबाट प्रदान गरिने सेवालाई आइसिटी वेस सर्भिस डेलिभरीको रूपमा विकास गर्नका लागि सफ्टवेयरहरू निर्माण भएका छन् भने केही निर्माणका क्रममा छन् । लेखालाई व्यवस्थापन गर्नका लागि संघीय सरकारद्वारा जारी गरिएको सूत्र प्रणाली लागू गरिरहेका छौँ । राजस्वलाई आइसिटी वेस बनाउनका लागि वेभवेस सिस्टम, आरएमएस सिस्टम लागू गरेका छौँ ।

शिक्षा र स्वास्थ्यसम्बन्धी धेरै सफ्टवेयरहरू प्रयोगमा ल्याएका छौँ । वडा कार्यालयहरूबाट पञ्जीकरण सम्बन्धी सेवा आइसिटी वेस सिस्टमहरूको प्रयोगबाट सेवा प्रवाह गरिरहेका छौँ । नगरपालिकाले गर्नुपर्ने विभिन्न प्रकारका सिफारिसहरू अनलाइन मार्फत डिजिटल सिस्टम मार्फत गर्ने गरेका छौँ । कर्मचारीहरूको डिजिटल हाजिरीको व्यवस्था गरेका छौँ ।

नगरपालिकाको डाटा बेसलाई सुदृढीकरण गर्ने काम गरिरहेको छ । १३ वटा शाखाबाट प्रदान गरिने सेवालाई एकीकृत सिस्टम तथा सफ्टवेयरको माध्यमबाट सेवा प्रवाह गर्ने उद्देश्यले म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम बनाउँदै छौँ, जुन इन्टिग्रेटेड सिस्टम हुन्छ । यो सिस्टम बनिसकेपछि हामीले रेड बुक पनि वेभ वेस बनाउने तयारीमा छौँ । प्रोजेक्ट बैंक बनाउने छौँ । न्यायिक समिति पनि आइसिटी वेस बनाउने तयारीमा छौँ । 

यसको उद्देश्य पारदर्शी सेवा, घरदैलो सेवा, छिटो छरितो सेवा बनाउने नै हो । यसले नगरपालिकाको सेवा प्रवाह प्रणाली प्रभावकारी बनाउने छ । निर्माण भएका सफ्टवेयर नगरपालिकाकै स्वामित्वमा रहुन् भन्नका लागि सर्भर रुमको व्यवस्थापन गर्दै छौँ । 

प्रभावकारी सेवा प्रवाह
नगरपालिकामा २०५ जना कर्मचारीहरू र करिब एक सय शिक्षकहरू कार्यरत हुनुहुन्छ । प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता भएको छ । हरेक आर्थिक वर्षमा हरेक कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्दा आफ्नो शाखा र आफू मातहतका योजनामा ८० प्रतिशत प्रगति गर्नुपर्ने भनिएको छ ।

कार्य सम्पादन सम्झौताले विनियोजित बजेट अनुसार लक्ष हासिल गर्ने उद्देश्य पूरा हुने अपेक्षा नगरपालिकाको छ । कर्मचारीको क्षमता विकासका लागि पनि जोड दिइएको छ । समय–समयमा जनप्रतिनिधि र कर्मचारीहरूलाई क्षमता विकास सम्बन्धी तालिम प्रदान गर्ने गरिएको छ ।

नगरपालिकाको आवश्यकता र औचित्यलाई आधार बनाएर कर्मचारीको संख्या एकिन गर्नका लागि ओएनएम गर्ने काम भइरहेको छ । यसको उद्देश्य हरेक शाखा र कर्मचारीको कार्य विवरण स्पष्ट पार्ने हो । यसले अस्थिर प्रकारको परिवर्तन भइरहने सङ्गठन संरचनालाई सुधार गर्ने र स्थायीत्व प्रदान गर्नका लागि हो । 

भएका दरबन्दी मिलान गर्ने र बढी भएका दरबन्दी कटौती गर्ने गरी दरबन्दी मिलान गर्ने काम गर्दै छौँ । यो वर्ष ओएनएमको पुनरावलोकन गर्ने काम भइरहेको छ । यसैगरी नगरपालिकाले गरेको ओएनएम सर्भेको प्रतिवेदन प्राप्त भएको छ । यो सर्भेले सङ्गठन संरचनालाई निदृष्ट गर्ने छ । प्रत्येक कर्मचारी र शाखाले गर्नुपर्ने कामलाई निदृष्ट गर्ने छ ।   

सुशासनमा प्रतिबद्ध 
सुशासनको प्रत्याभूति जनतालाई गराउन अनुगमन प्रणालीलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाएका छौँ । कर्मचारीहरूका आचरण सम्बन्धी कानुन र नीतिहरू निर्माण भएका छन् । जसले कर्मचारीहरूको व्यवहार परिवर्तन नभएसम्म पालिकाले दिने सेवा प्रवाह जनताले अनुभूति गर्ने हुँदैन भनेर नै कर्मचारीको व्यवहार परिवर्तन गर्नका लागि नगरपालिका अन्तर्गतका निकायहरूमा सहायता कक्षको व्यवस्थापन गर्दै छौँ । यसको तयारी भइरहेको छ । 

कुन शाखाबाट कस्तो सेवा प्रवाह हुन्छ, कुन कर्मचारी कहाँ छ, सेवा प्राप्त गर्नका लागि कानुनी रूपमा कुन कुन प्रक्रिया पूरा गर्नु पर्छ जस्ता विषयहरू व्यवस्थित गर्नका लागि सहायता कक्षको व्यवस्थापन गरिएको हो । सहायता कक्षमा बस्ने कर्मचारीलाई तालिम दिएर यो सेवालाई व्यवस्थित बनाउने योजना बनाएका छौँ ।

पालिका र वडा कार्यालयमा डिजिटल नागरिक बडापत्रको व्यवस्था गर्दै छौँ । यो टेन्डर प्रक्रिया सकिएर सम्झौताको चरणमा छ । पालिकाबाट पाइने सेवा, कहाँबाट सेवा पाइन्छ र सेवाबापत कति दस्तुर लाग्छ भन्ने यसमा स्पष्ट गरिएको हुन्छ । जसले गर्दा सेवाग्राही अलमलमा पर्ने छैनन् ।

फोहोर व्यवस्थापन र वातावरण संरक्षण
फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । फोहोरमैला व्यवस्थापनका लागि आवश्यक कानुन निर्माण भएका छन् । नगरपालिकामा कति फोहोर उत्पादन हुन्छ ? र त्यसको प्रवृत्तिगत विश्लेषणका लागि अध्ययन भइरहेको छ । समग्र नगरपालिकामा कुन कुन प्रकारको फोहोर उत्सर्जन हुन्छ ? सड्ने खालको र न सड्ने खालको फोहोर कति उत्सर्जन हुन्छ ? लगायत सबै प्रकारका फोहोरबारे तथ्याङ्कगत अध्ययन गर्न खोजिएको छ । यो अध्ययनपछि व्यवस्थापनका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्न सहज हुनेछ । नगरपालिकामै प्लान्ट जडान गर्ने योजना छ ।

वातावरण संरक्षणका लागि विभिन्न मापदण्डहरूसँगै रणनीतिक कार्य योजना बन्दै छ । नगरपालिकाकै वातावरण संरक्षण ऐन, वातावरण संरक्षणको प्रारूप लगायतका विभिन्न कानुनहरू निर्माणको क्रममा छन् ।

वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन भइरहेको छ । सडकको दुवैतर्फ बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्ने काम गरेका छौँ । 

आर्थिक र सामाजिक विकास
सामाजिक विकासलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न योजना र कार्यक्रमहरू गर्दै आएको छ । पालिकालाई आर्थिक विकास र आत्म निर्भर बनाउन काम भएका छन् । 

सबै व्यवसायीलाई कारको दायरमा ल्याउनका लागि गत असोजमा कर सप्ताह कार्यक्रम गरेका छौँ । काठमाडौँ उपत्यकामा कर सप्ताह गर्ने पालिकामा टोखा पहिलो हो । करदातालाई कर शिक्षा प्रदान गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, व्यवसायी यसबाट लाभान्वित भएका छन् । 

व्यवसाय दर्ता सम्बन्धी कार्यविधि बनाएका छौँ । चैत महिनामा व्यवसाय दर्ता अभियान सञ्चालन हुँदैछ । पसल–पसलमा गएर व्यवसाय दर्ता गर्दैछौँ । यसका लागि जनप्रतिनिधि एक, कर्मचारी एक, नगर प्रहरी एक र विद्यार्थी दुई जना रहने गरी टिम तयार भएको छ । ठूलो वडामा दुई वटा र सानो वडामा एउटा टिम खटिने छ । 

यसको उद्देश्य सबै व्यवसायलाई करको दायरामा ल्याउनु हो । सबै व्यवसाय दर्ता भएपछि नगरपालिका पनि आत्मनिर्भर हुनेछ । सबैलाई करको दायरामा ल्याउन पालिकाले छुटको व्यवस्था पनि गरेको छ । म आएपछि ग्रान्डी इन्टर नेश्नललाई करको दायरमा ल्याएका छौँ । उसले साढे चार करोड रुपैयाँ तिर्दै छ । अन्य ठुला करदातालाई पनि करको दायरामा ल्याउँदै छौँ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट ३० करोड रुपैयाँ उठ्ने गरेको छ, यसमा यो वर्ष १० करोड रुपैयाँ थप हुने लक्ष लिइएको छ । नगरपालिकाले आफ्नो आन्तरिक स्रोत परिचालन बढाउने गरी काम गरिरहेको छ । 

कृषि र रोजगारी प्रवर्द्धन
कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास, सामाजिक रूपान्तरण लक्षित वर्गसँग सम्बन्धित कार्यक्रम, क्षमता विकासका कार्यक्रमहरू पालिकाले गर्दै आएको छ । आर्थिक विकास र रोजगारी प्रवर्द्धनका क्षेत्रमा पनि पालिकाले काम गरेको छ ।

वडा नं. १ र वडा नं. २ मा कृषि क्षेत्र बढी छ । त्यहाँ व्यवसायीक कृषि खेती सञ्चालन गरिएको छ । रोजगारी प्रवर्द्धन गर्ने र कृषिलाई बजारीकरण गर्ने काम गरिएको छ छ । बस्ती बाक्लो भएका अन्य वडामा कौशी खेतीलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । 

पशु सेवा शाखाबाट पशुजन्य रोग निदानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । मासुजन्य पसलहरूको नियमित अनुगमन हुने गरेको छ । अनुगमनका क्रममा गुणस्तरीय मासु विक्री भएको पाइएमा जरिवाना गर्ने गरिएको छ । बजार अनुगमनलाई प्राथमिकतामा राखिएको छ ।

बजारमा छाडा छोडिएका पशुचौपायालाई छोपेर व्यवस्थापन गर्ने गरिएको छ । मरेका चौपायालाई व्यवस्थापन गर्न फर्महरूसँग सम्झौता गरेर व्यवस्थापन गर्ने गरिएको छ । कुकुरहरूलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने काम गरिएको छ । रोजगारी प्रवर्द्धनका लागि पनि टोखा नगरपालिकाले विभिन्न काम गर्दै आएको छ । विभिन्न प्रकारका क्षमता विकास तालिम प्रदान गर्ने गरिएको छ । 

लघु उद्यमी, सिप विकास, क्रिष्टका सामान बनाउने, ढाका बुनाई, व्युटीसियन जस्ता तालिम प्रदान गरिएको छ । व्यवसायीक कृषि सम्बन्धी, सिलाई कटाई, इलेक्ट्रिसियन, मोबाइल मर्मतसम्बन्धी तालिम प्रदान गरिएको छ । तालिमको माध्यमबाट स्वरोजगार बनाउने काम गरेका छौँ । उद्योग दर्ता ऐन जारी भएको छ । ५ लाख भन्दा कम पूँजी भएका व्यवसायलाई पालिकामा नै दर्ता गर्ने व्यवस्था ऐनमा गरिएको छ । यसले साना उद्योगलाई प्रवर्द्धन गर्नुको साथै राजस्वमा वृद्धि हुने छ ।

जनप्रतिनिधि र कर्मचारीबिच समन्वय
टोखा नगरपालिकाको कार्यपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका जनप्रतिनिधिहरू छन् । जनप्रतिनिधिहरू विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने भएता पनि नगरपालिकाको साझा एजेन्डामा उहाँहरू एक ढिक्का भएर लागि रहेको अवस्था छ ।

जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध र समन्वयमा टोखा नगरपालिका आदर्श नगरपालिका हो । सम्बन्ध सौहार्दपूर्ण छ । मेरो एक वर्षको अनुभवमा कर्मचारी र जनप्रतिनिधिबिच मात्र होइन जनप्रतिनिधि जनप्रतिनिधिबिच पनि कुनै मनमुटाब भएको पाएको छैन । यसले कर्मचारीलाई काम गर्ने सहज वातावरण बनेको छ । 

कर्मचारीमाथि जनप्रतिनिधिबाट अनावश्यक हस्तक्षेप हुने गरेको छैन । कर्मचारीको रचनात्मक काममा नगरप्रमुख प्रकाश अधिकारीलगायत जनप्रतिनिधिबाट हौसला प्रदान हुने गरेको छ । कर्मचारीहरूलाई व्यवहारमा नरम र कानुनमा कडा हुनपर्छ भनेर अभिमुखीकरणसँगै सचेत गराउने गरेको छु । शाखा प्रमुखहरूसँग प्रत्येक साता बैठक हुने गर्दछ । प्रत्येक १५ दिनमा वडा सचिवसँग बैठक हुने गरेको छ । 

नियमित बैठकले एक साता र १५ दिनभित्र गर्नुपर्ने कामको बारेमा छलफल र निर्णय लिने गरेको छ । जसले समयमै काम सम्पन्न गर्न मद्दत पुगेको छ । र सम्पन्न भएका कामको बारेमा प्रगति विवरण लिनका लागि पनि सहज भएको छ । यसले कर्मचारीहरू चेनअफ कमाण्डमा छन् भन्ने देखाउँछ ।

जिम्मेवारी बोध
टोखा नगरपालिका विकास, सुशासन र सेवा प्रवाहमा अब्बल हुनुमा जनप्रतिनिधि र कर्मचारीको भूमिका प्रमुख छ । जनप्रतिनिधि र कर्मचारीले आफ्नो जिम्मेवारी महसुस गर्नु र जिम्मेवार भएर काम गर्नुले नै नगरपालिकाले प्रगति गर्न सकेको हो । केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई आउनै नदिने, आए पनि हाजिर गर्न नदिने र हाजिर गरे पनि काम गर्न नदिने कार्य भएको पाइन्छ । तर, टोखामा त्यो अवस्था छैन । 

प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीलाई काम गर्ने वातावरण हुनु पनि नगरपालिकाको विकासमा सकारात्मक कुरा हो । जसले कर्मचारीलाई काम गर्ने ऊर्जा थप्छ । यो एक वर्षको अवधिमा मैले एक दिन पनि बिदा लिएको छैन । सामान्यतया म बिहान ७ देखि ८ बजेको समयमा कार्यालय पुगेको हुन्छु र बेलुका पनि ७ देखि ८ बजेसम्म कार्यालयमै हुन्छु । 

नगर प्रमुखसँग समन्वय गरेर हरेक काम म आफै नेतृत्व गरेर गरेको हुन्छु । जनप्रतिनिधि र कर्मचारीबिच समन्वय र सहकार्यमा काम हुने गरेको छ । टोखालाई कसरी नमुना नगरपालिका बनाउन सकिन्छ भन्ने अभियानमा लागि रहेको छ । अहिले पनि करिब ६० प्रतिशत लक्ष हासिल गरेको छ । यो असार मसान्तभित्र ८५ प्रतिशत लक्ष हासिल गर्नु पर्छ भनेर लागि रहेको छु । यो लक्ष प्राप्त हुन्छ भन्ने लागेको छ ।

लिजामा काठमाडौँ उपत्यकामा हामीले दोस्रो स्थान हासिल गरेका छौँ । लक्ष एक नम्बरमा जानु हो । 

भावी योजना
पूर्वाधार विकासमा गुणस्तरीयता कायम गर्नका लागि काम गर्नुपर्ने छ । अनुगमन प्रणालीलाई अझ व्यवस्थित बनाउन जरुरी छ । पालिकाका सबै सेवा प्रविधिमैत्री बनाउनुपर्ने छ ।  असार १० मा बजेट प्रस्तुत हुन्छ । बजेट पास भएको दिन नै सबैको हात हातमा रेड बुक पुर्‍याउने गरी योजना बनाएका छौँ । राजस्वलाई व्यवस्थित गर्नका लागि संघीय सरकारले विकास गरेको सफ्टवेयरलाई कार्यान्वयन गर्ने योजना बनाएका छौँ । डाटा सुरक्षालाई प्राथमिकतामा राखेका छौँ । 

स्वास्थ्य क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने योजना छ । विद्यालयमा इलर्निङ र डिजिटल शिक्षालाई कार्यान्वयन गर्ने योजना छ । तालिम, गोष्ठी जस्ता कार्यक्रममा बजेट सक्नुको सट्टा सिपमूलक र  रोजगारीमूलक कार्यक्रममा बजेटको व्यवस्था गर्ने छौँ । 

कानुनी र नीतिगत अभाव हुन नदिन प्राथमिकताका साथ काम गरेका छौँ । आन्तरिक स्रोतलाई नै परिचालन गर्ने र करको दायरामा कसरी ल्याउने भन्ने विषयमा हामी गम्भीर छौँ । कर्मचारीलाई प्रोत्साहन गर्नका लागि कार्य सम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गर्ने योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस