राहदानी विभागका हाकिम र कर्मचारी सम्पर्क विहीन ! सोधपुछपछि फेरिए प्रवक्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राहदानी विभागका हाकिम र कर्मचारी सम्पर्क विहीन ! सोधपुछपछि फेरिए प्रवक्ता


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । पछिल्लो समय सरकारी कार्यालयका वेबसाइट र त्यहाँ राखिने विवरण भद्रगोल बन्दै गएका छन् । कतिपय सरकारी कार्यालयका वेबसाइट खुल्दैनन्, खुले पनि ढिलो खुल्छन् र खुली हाले पनि आवश्यक विवरण उपलब्ध हुँदैन । यदि विवरण उपलब्ध भए पनि ती विवरण सही हुँदैनन् ।

यस्तै समस्या छ, राहदानी विभागको वेबसाइटमा । राहदानी विभागमा राखिएको विवरणबाट त्यहाँका महानिर्देशक, प्रवक्ता र सूचना अधिकारीलाई सम्पर्क गर्न सकिँदैन । विभागको वेबसाइटमा उनीहरुका सम्पर्क नम्बर राखिएका छन्, तर ति नम्बरमा फोन गर्दा उनीहरूसँग सम्पर्क हुन सक्दैन । 

महानिर्देशक लक्ष्मण खनालको वेबसाइटमा राखिएको +९७७०-१५९७०३२९ नम्बरमा फोन जान्छ, तर फोन गएको केही सेकेण्डमै फोन कट्छ । त्यहाँ कुनै जानकारी वा सम्पर्क स्थापना गर्ने माध्यम फेला पर्दैन ।

त्यसो त विभागले प्रवक्ताको पनि व्यवस्था गरेको छ वेबसाइटमा । प्रवक्ता लेखनाथ गौतमको फोन नम्बर बाहिर देखिने गरी राखिएको छैन । तर, टेलिफोनको संकेत भएको स्थानमा क्रसर पुर्‍याउँदा +९७७०-१-५९७०३३० नम्बर र १००० एक्सटेन्सन नम्बर देखिन्छ । उक्त नम्बरमा फोन गर्दा फोन लाग्छ । महिलाको आवाजमा त्यहाँ भाषा छनोटको लागि नम्बर थिच्न अनुरोध गरिन्छ । नेपाली भाषाको लागि अङ्क एक थिच्दा उक्त कल सिधै कल सेन्टरमा फरवाड हुन्छ । त्यतिन्जेल सेवाग्राहीको २० सेकेन्डको पैसा खर्च भइ सकेको हुन्छ । 

यसैगरी वेबसाइटमा सूचना अधिकारीको पनि व्यवस्था छ । देवदूत ढकाल सूचना अधिकारी छन् । उनको पनि सम्पर्क नम्बर बाहिर देखिँदैन । टेलिफोनको संकेत रहेको स्थानमा क्रसर पुर्‍याउँदा +९७७०-१-५९७०३३० नम्बर देखा पर्छ । उक्त नम्बरमा फोन गर्दा हालत उही प्रवक्तालाई गरेको नम्बरको जस्तै हो । कल सेन्टरमा फोन फरवाड हुन्छ । कल सेन्टरका कर्मचारीले फोन उठाउँछन् । 

उनीहरूसँग विभागका महानिर्देशक, प्रवक्ता र सूचना अधिकारीको नम्बर माग्दा आफूहरूसँग नभएको बताउँछन् । कार्यालयकै कर्मचारीसँग हाकिमहरूको फोन नम्बर छैन ? भन्ने प्रशासनको प्रश्नमा उनीहरू जवाफ दिँदैन । तपाईँ सरकारी कर्मचारी कि करारको कर्मचारी ? भनेर सोध्दा उनीहरू झन् अक्क न बक्क हुन्छन् । केही जवाफ आउँदैन ।

बुझ्दै जाँदा कल सेन्टरमा कन्ट्रयाक्टका कर्मचारी रहेछन् । त्यसकारण उनीहरुले हाकिम र अन्य कर्मचारीको नम्बर दिन हिचकिचाउँदा रहेछन् ।

पछिल्लो समय सरकारी कार्यालयका वेबसाइटबाट कर्मचारीहरूको सम्पर्क नम्बर हटाउने परिपाटि नै चलेको छ । कोभिड महामारीका बेला सेवाग्राहीले धेरै सम्पर्क गर्ने गरेको र कर्मचारीलाई अनावश्यक झन्झट दिने गरेको गुनासो पछि सरकारी कार्यालयहरूले क्रमशः कर्मचारीहरूको फोन नम्बर वेबसाइटबाट हटाउँदै लगेका हुन् । 

त्यसो त केही सरकारी कार्यालयको वेबसाइटमा सुरुमै प्रवक्ता र सूचना अधिकारीको फोन नम्बर नभेटिए पनि कर्मचारी विवरण वा कर्मचारी सूचीमा उनीहरुका सम्पर्क नम्बर राखिएको हुन्छ । तर, राहदानी विभागमा त्यो सुविधा छैन । राहदानी विभागको कर्मचारी सूचीमा कालो कार्टुन सहितको कर्मचारीको नाम र पद उपलब्ध हुन्छ । 

वेबसाइटमा राखिएको विभागका प्रवक्ता र सूचना अधिकारीको ल्याण्डलाइन नम्बरमा फोन गरेपछि भाषा छनोटका लागि एक अङ्क थिच्दा कल सेन्टरमा फोन सिधै फरवाड हुन्छ । एक्सटेन्सन मर्मतमा समयलागेकाले उक्त नम्बर थिच्दा फोन कल सेन्टरमा फरवार्ड भएको रहेछ । यो समस्या करिब एक महिनादेखि रहेको पाइयो । एक्सटेन्सन नम्बर राख्न पनि एक महिना लाग्छ र ?

यहाँ सबै कर्मचारी सेवाग्राहीको सम्पर्कमा हुनुपर्छ वा सबैले फोन नम्बर राख्नु पर्छ र फोन उठाउनै पर्छ भन्न खोजिएको होइन । तर, कार्यालयको बारेमा आधिकारी सूचना दिने र जानकारी उपलब्ध गराउने जिम्मेवारी प्रवक्ता वा सूचना अधिकारीहरुको हो । यदि उनीहरुले यो भूमिका राम्रोसँग निर्वाह गरेनन् भने अवस्था के हुन्छ ? भन्ने विभागले यसअघि नै भोगी सकेको छ । कुनै समय सेवा प्रवाह भद्रगोल भएको र समयमा राहदानी वितरण गर्न नसकेको आलोचना खेपेको राहदानी विभाग सायद सेवाग्राहीले मेरो पासपोर्ट कहिले बन्छ ? भनेर सोधेकै कारण प्रवक्ता र सूचना अधिकारी सेवाग्राहीबाट सम्पर्क विहिन भएका होलान् ।

प्रशासनको सोधखोज पछि विभागका प्रवक्ताको मोवाइल नम्बर करिव ३५ मिनेटपछि वेबसाइटमा अपडेट गरिएको छ । तर, उक्त नम्बरमा फोन गर्दा यो समाचार तयार पार्दासम्म उठेन । यसैगरी महानिर्देशकको फोन नम्बर पनि कल सेन्टरले फोन गरेर उपलब्ध गरायो । उपलब्ध गराइएको नम्बर यसअघिकै महानिर्देशकले बोक्ने नम्बर थियो । उपलब्ध नम्बर लामो समय उठेन । 

पछि सम्पर्कमा आएका महानिर्देशक खनालले कल सेन्टर तिहारपछि सुरु भएकाले कर्मचारीले नम्बर उपलब्ध गराउन नसकेको हुन सक्ने बताए । विभागको आन्तरिक काममा कुनै बाधा नरहेको सिस्टमबाटै काम हुने गरेको जानकारी दिए । देखिएका कमजोरीहरु क्रमशः सुधार गर्दै लैजाने उनको भनाइ छ ।

महानिर्देशकसँग कुराकानी गर्दैगर्दा विभागका प्रवक्ता पनि फेरिए । वेबसाइटमा गौतमको सट्टामा प्रवक्ताको रुपमा रमेश कुमार चर्मकारको नाम अपडेट भयो । प्रशासनले सोधखोज गरेपछि विभागले अपडेट गर्‍यो ।   

राहदानी विभाग स्वदेश मात्र नभएर विदेशमा रहनेहरुका लागि पनि सरोकारवाला निकाय हो । सेवाग्राही र अन्यले सम्पर्क स्थापित गर्न नसके पनि सरकारी कार्यालय कार्यालय बिच सम्पर्क कसरी हुन्छ होला, यदि सम्पर्क गर्नु परे कसरी सम्पर्क भइरहेको छ होला ? भन्ने बारेमा विभागको विभागीय मन्त्रालय परराष्ट्र मन्त्रालयसँग जानकारी लिने प्रयास गरेका थियौँ । परराष्ट्रका प्रवक्ताको पनि फोन उठेन ।

सबै सरकारी कार्यालयका वेबसाइटमा यो समस्या नभए पनि अधिकांशमा यस्तै समस्या झेल्नु पर्छ । विश्व डिजिटल युगमा छ । धेरैजसो सूचनाहरु डिजिटल प्लेटफममा नै उपलब्ध हुने गर्दछ । कुनै कार्यालयको बारेमा जानकारी लिनुपर्दा त्यहाँका कर्मचारीलाई सोधपुछ गर्नु भन्दा उनीहरुका वेबसाइट र सामाजिक सञ्जालबाट सूचना छिटो प्राप्त गर्न सकिन्छ । 

विभागले आफ्नो वेबसाइटमा पनि लक्ष्यको पहिलो बुँदामै लेखेको छ, ‘सूचना प्रविधिको अधिकतम प्रयोग गरी राहदानी जारी गर्ने प्रक्रियालाई सहज बनाउने सम्पर्क स्थापित गर्न आवश्यक छ ।’ यो तालले सूचना प्रविधिको अधिकतम प्रयोग र सहज सम्पर्क स्थापित कसरी होला ?

Tags :
प्रतिक्रिया दिनुहोस