‘आदिपुरुष’ मा समावेश शब्द नहटाए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने मेयर साहको चेतावनी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘आदिपुरुष’ मा समावेश शब्द नहटाए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने मेयर साहको चेतावनी


१ असार २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिएका छन् ।

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताए । ‘म आज विभिन्न काममा व्यस्त थिएँ । हाललाई मसँग अन्य जानकारी छैन’, उनले भने ।

‘आदिपुरुष’ को संवादमा बनाइयो आवाजरहित

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।

समितिका सदस्य ऋषिराज आचार्यले संवाद आवाजरहित बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिए । ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादलाई अनिवार्य रूपमा आवाजरहित (बीप) गर्न लगाई सोपश्चात् मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो । त्यो ल्याएपछि उनले अनुमति पाउनु हुन्छ’, सदस्य आचार्यले भने ।

रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस