रोजगार कार्यक्रमको आम्दानीले ल्याएको खुसी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोजगार कार्यक्रमको आम्दानीले ल्याएको खुसी


३० जेष्ठ २०८०, मंगलबार


सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका ५ साजपानीका गणेश सुनारको परिवारलाई साँझ बिहानको छाक टार्न धौ–धौ हुने गर्थ्यो । गाउँमा रोजगारीका लागि कुनै माध्यम नहुँदा कसरी घर चलाउने भन्ने चिन्ताले उनलाई सधैँ पिरोली रहन्थ्यो । तर, हिजोआज भने उनी त्यति चिन्तित देखिँदैनन् । किनभने उनलाई अहिले परिवार चलाउनका लागि जोहो गर्न सक्ने भएका छन् । गाउँमै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएर रोजगारी पाएपछि गणेशलाई निकै राहत मिलेको छ । 

एकसय दिने कार्यक्रम अन्तर्गत काम पाउँदा उनलाई साँझ बिहान छाक टार्न र छोराछोरीलाई पढाउन सहज भएको छ । “पहिला निकै गाह्रो हुने गरेको थियो । यो कार्यक्रम लागू भएर काम पाएपछि मलाई मेरो परिवार चलाउन र बच्चा पढाउन निकै सहज भएको छ” उनले भने । कार्यक्रम अन्तर्गत सय दिन काम गरेपछि भुक्तानी रकम समयमा नै पाउने गरे पनि ज्याला भने कम भएको उनी बताउँछन् । 

“श्रमिकले पाउने ज्याला सोचे जस्तो छैन । अहिलेको महँगो आर्थिक अवस्थामा अलिकति समय अनुसार ज्याला दिन सकेको भए राम्रो हुने थियो” उनले भने, “सरकारले तीन महिना मात्रै काम गर्न दिएको छ, तर यो कार्यक्रम अन्तर्गत ६ महिनासम्मै काम गर्न पाइदिएको भए अझ हामीलाई धेरै सहज हुने थियो ।” रोजगार कार्यक्रम मार्फत उनीहरूले सडक निर्माण, खानेपानी, सिँचाइ लगायतका काममा सहभागी भएर आम्दानी पनि भइरहेको छ भने आफ्नो क्षेत्रको विकासमा पनि योगदान पु¥याउने काम गरिरहेका छन् । 

सुनार मात्र होइन, बराह गाउँपालिका ६ की सोमती विकलाई पनि यो कार्यक्रमले निकै राहत दिएको छ । विगतमा बाहिर गएर ज्याला मजदुरी गर्नुपर्ने बाध्यता उनलाई थियो । तर, अहिले त्यसो छैन । किनभने उनी पनि प्रधानमन्त्री रोजगारी कार्यक्रमको माध्यमबाट गाउँमै काम गर्न पाएका कारण निकै खुसी देखिन्छन् । उनलाई घर आँगनमा परिवारसँग बसेर केही आर्थिक उपार्जन गर्न पाएकोमा दङ्ग छिन् । “पहिले काम गर्न सकिँदैन थियो । अहिले निकै सजिलो भएको छ । बालबच्चालाई स्कुल पठाएर काम गर्न पाइएको छ । यसले निकै सजिलो भएको छ” उनले भनिन्, “पहिला हामी घरमा केही काम नगरेरै बस्ने गरेका थियौँ तर, अहिले तीन महिना भए पनि काम गर्न पाएका छौँ ।”

उनले गाउँमा यस्तो कार्यक्रम आइसकेपछि श्रीमानले मात्रै कमाउनु पर्ने बाध्यता केही कम भएको बताइन् । “श्रीमानले मात्रै कमाएर नपुग्ने अवस्थामा हामीले पनि काम गर्न पाउँदा सहज त हुने नै भयो” उनले भनिन्, “ज्याला पनि महिला र पुरुष दुवैलाई बराबर पाइन्छ । यसले झन् खुसी बनाएको छ । पहिले घर बाहिर काम गर्न जाँदा महिला र पुरुषबिच ज्यालामा विभेद हुने गर्थ्यो । यो कार्यक्रममा त्यस्तो छैन ।” रोजगार कार्यक्रममार्फत प्राप्त गर्ने रकमले उनले दैनिक घर खर्च गरेर, स्कुलमा विद्यार्थीको शुल्क तिरेर बचेको रकमबाट केही व्यवसाय पनि गरेकी छन् । बाख्रा र कुखुरा पालन व्यवसाय सुरु गरेकी उनी ज्याला रकम केही बढाएर यो कार्यक्रमलाई अझ बढी समयसम्म सञ्चालन गर्नुपर्ने बताइन् । 

वडा नम्बर ५ साजपानी कै मनीषा वि.क. अहिले बाख्रा र कुखुरा पालन व्यवसाय गर्दै आएकी छन् । यति व्यवसाय गर्न पनि विगतमा उनलाई निकै सकस थियो । तर, ३ वर्षदेखि उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्न पाएपछि उनको दैनिकी नै फेरिएको छ । रोजगार कार्यक्रमबाट आम्दानी भएको पैसाले उनले बाख्रा र कुखुरा पालन व्यवसाय गरेकी छन् । जसबाट उनको आर्थिक अवस्थामा पनि केही सुधार आएको छ । उनका श्रीमान् अहिले पनि रोजगारीका लागि भारतमा नै कार्यरत रहेका छन् । कार्यक्रमले आफू जस्तै धेरै परिवारमा खुसी आएको उनी बताउँछिन् । “मैले रोजगार कार्यक्रममा आबद्ध भएर काम गर्न थालेको ३ वर्ष भयो । यो कार्यक्रमले मलाई निकै सहयोग गरेको छ” उनले भनिन्,“यसबाट आएको रकमले कुखुरा पालन र बाख्रा पालन व्यवसाय गर्न सफल भएको छु, मलाई निकै खुसी लागेको छ ।” 

यति मात्र होइन यो कार्यक्रममा महिला र पुरुष दुवैले समान ज्याला रकम पाउने हुँदा पनि उनी धेरै खुसी देखिन्छन् । “गाउँमै ज्याला मजदुरीमा जाँदा फरक हामीले पुरुषको जति काम गर्न सक्दैनौँ भनेर विभेद गरिन्थ्यो । पुरुषले एक हजार पाउँदा हामीले ६ सय रकम पाउने गर्थ्यौ” उनले भनिन्, “यो कार्यक्रमले न काममा विभेद गरेको छ न त ज्यालामा नै विभेद छ ।” घरधन्दा सम्हालेर घरमै बसेर काम गर्दा गाउँको विकास पनि भएको छ र आफूहरूको आम्दानी पनि भएको उनी बताउँछिन् ।

वडा नम्बर ५ कै जसुधा मिजारलाई पनि हिजोआज दैनिक छाक टार्न र आफ्ना बच्चालाई स्कुल पढाउने खर्च जुटाउनका लागि केही सहज महसुस भइरहेको छ । त्यो अवसर दिएको हो रोजगार कार्यक्रमले नै । उनले गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममा सरिक भएर ज्यालामा काम गर्न थालेकी हुन् । त्यसले उनको जीवनमा केही सहयोग पुर्‍याएको छ । “पोहोर सालदेखि काम गर्न थालेको हुँ । आर्थिक अवस्था निकै कमजोर थियो । मैले त्यो पैसाबाट घर बनाउन सकेँ । यो काम निरन्तर हुन पाएको भए धेरै राम्रो हुने थियो” उनले भनिन्, “महिला पुरुषले एउटै ज्याला पाउने गरेका छन्। यसले निकै राम्रो गरेको छ ।”

परिवारको भविष्य बनाउन र जीविकोपार्जन गर्नकै लागि उनका श्रीमान् भारतमा रोजगारी गर्छन् । घरमा भने उनी प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएर काम गर्न पाएपछि उनको परिवार सञ्चालन गर्न थप सहजता मिलेको छ । “म यो कार्यक्रममा छनोट भएर काम गर्न पाउँदा निकै धेरै खुसी भएको छु । छोराछोरी हेरेर घरधन्दा पनि गरेर काम गर्न पाएका छौँ । यसबाट आएको पैसाले मैले बाख्रा पालन गरेको छु” उनले खुसी हुँदै भनिन्,“अब फेरी आउने पैसाबाट कुखुरा पनि पालन गर्ने सोचेको छु ।” बिहान र बेलुका छाक टार्न नै समस्या भइरहेको अवस्थामा यो कार्यक्रमबाट आएको पैसाले आफूलाई निकै सजिलो भएको उनको अनुभव छ । उनले यो कार्यक्रम सय दिनका लागि मात्र नभई वर्षभरि नै सञ्चालन गर्न सके यसबाट आफ्नो गाउँ समाजको विकास गर्न सहज हुनुका साथै जीविकोपार्जनका लागि पनि सहज हुने बताइन् । 

वडा नम्बर ५ कै सुकमा विश्वकर्मालाई पनि घर खर्च चलाउन निकै कठिन भइरहेको थियो । तर, गाउँमै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएर त्यसमा जोडिन पाएपछि भने उनलाई पनि निकै सहज महसुस भएको छ । रोजगारमा आबद्ध भएपछि भने उनलाई जीविका चलाउन सहज भएको छ । “पुरुष र महिलालाई समान ज्याला हुँदा अझ धेरै राम्रो लागेको छ तर, ज्याला रकम अलि कम भएको छ । पैसा भने काम सके लगत्तै समयमा नै पाउने गरिएको छ” उनले भनिन् ।

उनको अबको योजना भनेको जीविकोपार्जन सहज बनाउनका लागि यही कार्यक्रमबाट आएको रकमले बाख्रा र कुखुरा पालन व्यवसाय गरेर जाने रहेको छ । “यो कार्यक्रम ३ महिना नभएर ६ महिनासम्म भए अझै राम्रो हुने थियो । मेरो घर पनि छैन खर्च चलाउन नै सकिन्थेन । अहिले राहत मिलेको छ” उनले भनिन्,“यसअघि श्रीमान्ले मात्रै कमाउनु हुन्थ्यो । उहाँको कमाइले पुग्दैन थियो । मैले पनि कमाउन थालेपछि हामीलाई सजिलो भएको छ ।” 

बराहताल गाउँपालिका रोजगार संयोजक रामकृष्ण गौतम २०७५ सालदेखि रोजगार सेवा केन्द्र स्थापना भएर कार्यक्रम सञ्चालन भइरहेको बताउँछन् । “ऐन, नियम अनुसार केन्द्रबाट निर्दिष्ट भएका पूर्वाधारसँग सम्बन्धित आयोजना छनोट गरेर बेरोजगारलाई सूचीकृत गर्दै एकसय दिने रोजगारीको व्यवस्था मिलाएका छौँ” उनले भने, “यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । यसबाट गाउँपालिकालाई पनि विकास निर्माणका काम गर्न सहज भएको छ भने बेरोजगार युवालेपनि सय दिनको रोजगारी पाए पनि लाभ लिइरहेका छन् ।”

उनले सिँचाइ, खानेपानी, भौतिक पूर्वाधार लगायतको काममा लाभग्राहीले काम गर्दै आइरहेको बताए । “मापदण्डमा रहेर कामको मूल्याङ्कन भइसकेपछि सम्बन्धित लाभग्राहीको व्यक्तिगत खातामा नै पैसा पठाउने व्यवस्था मिलाउने गरेका छौँ” उनले भने, “आयोजना सम्पन्न भइसकेपछि प्राविधिकले अनुगमन गरेर प्रतिवेदन तयार पारेपछि रकम भुक्तानी हुने गरेको छ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यति र पहल गरेर दुई वटा परियोजना सञ्चालनमा रहेको उनी बताउँछन् । यति अन्तर्गत लाभग्राहीलाई सडक, सिँचाइ, वन, खानेपानी लगायतका आयोजनामा काम लगाउने गरिएको छ भने अन्यलाई शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ लगायतमा काममा लगाउने गरिन्छ । श्रमिकको पनि प्राथमिकता निर्धारण गरेर काममा लगाउने गरिएको उनी बताउँछन् । 

गाउँपालिकाले वडा कार्यालयबाट नै छनोट गरेर कामदारको छनोट गर्दै आएको छ । सफ्टवेयर प्रणालीमार्फत प्रत्येक वडाका मानिसले फारम भरेका हुन्छन्। उनीहरूले फारम भर्दा आफ्नो विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । त्यसका आधारमा नै उनीहरू रोजगारीका लागि योग्य हुन वा होइनन् भन्ने छनोट गर्ने काम गर्दछ । त्यसपछि नै उनीहरूलाई सूचीकृत गरेर कार्यक्रममा सहभागी गराउने काम गाउँपालिकाले गर्दै आइरहेको छ । “पहिले नै हामीले सफ्टवेयर प्रणालीमार्फत विवरण भराएका हुन्छौ । त्यसबाट नै कसलाई प्राथमिकता दिने भन्ने प्रणालीले नै छान्छ” रोजगार संयोजक गौतमले भने। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा प्राप्त बजेट सबै रोजगारीमा खर्च गर्नुपर्ने भन्ने कार्यविधि रहेको छ । कतिपय आयोजनाको हकमा सामग्रीपनि त्यसै अन्तर्गत खरिद गर्नुपर्ने अवस्था रहन्छ । 

बराहताल गाउँपालिकामा आयोजनामा काममा खटिनु भएका श्रमिकको भनाइ अनुसार अति विपन्न वर्गका परिवारलाई आफ्नो आम्दानीबाट खर्च धान्नुपर्ने अवस्था नै हुँदैन । उनीहरू कामका लागि भारत जानुपर्ने हुन्छ । आफ्नै स्थानीय तहमा सय दिन काम गरेर अलिकति भए पनि आम्दानी हुँदा उनीहरूका लागि निकै राम्रो भएको गाउँपालिकाको बुझाइ छ । “आफ्नै घर टोलको विकास गर्न पनि पाइएको छ भने त्यसले आर्थिक अवस्था पनि मजबुत भएकाले सबै जना हर्षित हुनुहुन्छ । काममा लगाएर ज्याला दिएर मात्र भन्दा पनि आयआर्जन, सिपमूलक तालिम लगाउन सकियो भने अझ प्रभावकारी हुन सक्छ” उनले भने। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा मानिस बिदेसिने क्रम बढिरहेका बेला यो कार्यक्रमले केही हदसम्म सहयोग पुराएको बताउँछन् । “यो कार्यक्रमको माध्यमबाट गाउँको विकास हुनुका साथै स्थानीयलाई पनि केही सहयोग पुगेको छ । हामीले सूचीकृत गरेका छौँ। वडामार्फत त्यो काम हामीले गर्दै आइरहेका छौँ” उनले भने, “कार्यक्रम सुरु हुँदा गरिब मानिसलाई समावेश गरेर हामीले कार्यक्रम अघि बढाउने काम गरेका छौँ ”

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको माध्यमबाट सञ्चालित विकास आयोजनाको गुणस्तरमा भने कुनै सम्झौता गर्ने काम नगरिएको बताए । “हामीले गुणस्तरमा सम्झौता गर्ने कुरा नै हुँदैन । यी विषयलाई ध्यानमा राखेर नै काम गर्छौँ । दिगो हुनुपर्‍यो भन्ने हाम्रो नीति हो । निम्न वर्गका मानिसलाई निकै सहयोग गरेको छ नि” उनले भने । 

उनले गाउँपालिकामा रहेका विपन्न समुदायका नागरिकलाई आफ्नै घर आगनमा बसेर केही आर्थिक आयआर्जन गर्न निकै सहज भइरहेको बताए। “यो कार्यक्रमले धेरै जसो नागरिकलाई रोजगारीका लागि विदेश जानबाट रोकेको छ । आगामी दिनमा बजेट बढाएर थप प्रभावकारी बनाउन सकियो भने यो कार्यक्रम झनै प्रभावकारी हुन सक्छ । स्थानीय तहलेपनि अबका दिनमा अपनत्व लिने गरी कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ भन्ने हो”उनले भने। उनले कामदार छनोट गर्दा अल्पसङ्ख्यक र सीमान्तकृत वर्गलाई प्राथमिकता दिने गरेको बताए । “लाभग्राही छनोट गर्ने बेला बेरोजगारको सूचीमा समावेश भएकाहरू नै पर्ने हुन् । त्यसमापनि अल्पसङ्ख्यक र सीमान्तकृत वर्गलाई प्राथमिकता लिएर छनोट गर्ने गरिएको छ” उनले भने, “यो कार्यक्रमबाट उनीहरूको आर्थिक अवस्था सुधार गर्नेतर्फ निकै फलदायी बनेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा नै बेरोजगारलाई आर्थिक राहत दिने भन्ने व्यवस्था गरेको छ । 

बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगर यो कार्यक्रम निकै प्रभावकारी बनेको बताउँछिन्। “अति विपन्न वर्गका मानिसलाई गाउँपालिकाले सूचीकृत गरेर काममा लगाउने गरेको छ। त्यसले उनीहरूको आर्थिक अवस्थामा सुधार पनि ल्याएको अवस्था छ । वडा स्तरमा साझेदार भएर नै काम भइरहेको छ,”उनले भनिन्,“आवश्यकता अनुसार थप साझेदार गरेर हामी अघि बढ्ने छौँ । विकास निर्माणको कामलाई एकदमै सहयोग गरेको छ ।” उनले यो कार्यक्रमले स्थानीयलाई रोजगारी प्रदान गर्नुका साथै व्यक्तिको विकासमा पनि निकै सहयोग पु¥याएको बताइन् । 

“यहाँका मानिस भारतमा गएर कमाउनुपर्ने बाध्यता वर्षौँदेखि रहँदै आएको छ। त्यसमा यो कार्यक्रमले केही सहज भएको छ। घरमै बसेर कमाउन पाउनुभएको छ। यो निकै प्रभावकारी काम हो” उनले भनिन्,“सरकारले आगामी दिनमा अझ यसलाई प्रभावकारी बनाएर सञ्चालन गर्न सकेमा थप राम्रो हुन्छ ।” 

सुर्खेत जिल्लाका ९ वटा स्थानीय तहहरूमध्ये बराहताल गाउँपालिका साबिकको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्दछ। जिल्लाको पश्चिममा अवस्थित यस गाउँपालिकाको क्षेत्रफल ४५५ दशमलव ०९ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि ९ कोषको दूरीमा रहेको छ। गाउँपालिकाको पूर्वमा वीरेन्द्रनगर, दक्षिणमा भेरी नदी तथा कैलाली जिल्लाको केही भाग, उत्तरतर्फ कर्णाली नदी तथा दैलेख जिल्लाको भाग पर्दछ । त्यस्तै पश्चिममा पञ्चपुरी नगरपालिकाको भाग रहेको छ । समुद्री सतहको ६ सय मिटरदेखि १२ सय मिटरसम्मको उचाइमा अवस्थित गाउँपालिकाको केन्द्र विन्दु र व्यापारिक क्षेत्रका रूपमा बड्डीचौर बजार रहेको छ । 

सुर्खेत जिल्लाको पश्चिम भागमा अवस्थित बराहताल गाउँपालिका भौगोलिक दृष्टिले यसको धेरैजसो भूभाग महाभारत शृङ्खलाको मन्द ढालयुक्त पहाडी क्षेत्र, चटान युक्त र कङ्कड खैरो माटो, अधिकांश भाग जङ्गलले ढाकिएको,साना ताल तलैया, साजघाट, तरङ्गा उपत्यका, तथा भेरी नदीलेबनाएकोउपत्यकाहरू, सोतखोला र धनीगाड खोलाले बनाएका किनारीय भूखण्डहरू र महाभारत शृङ्खलाका तल्ला होचा पहाडहरूले बनेको छ । समुन्द्र सतहको ३०० मिटरदेखि २२०० मिटरसम्म उचाइमा अवस्थित यस गाउँपालिका पूर्वबाट पश्चिमतर्फ फैलिएर रहेको छ । उर्वर भूमि र विशाल जङ्गल क्षेत्रले ओगटेको यस गाउँपालिका दोमट बलौटे माटोको भूखण्डले बनेको छ । जिल्लाको भौगोलिक तथा धरातलीय अवस्था अनुसार सुर्खेत जिल्लालाई मुख्यतया चार प्रकारको हावापानी पाइने क्षेत्रहरूमा विभाजन गरिएको छ ।

सोही भौगोलिक तथा धरातलीय क्षेत्रको आधारमा बराहताल गाउँपालिकाको धेरै जसो भू–भाग समुन्द्री सतहको ४०० देखि १५०० मिटरको उचाइमा पर्ने भएकोले यहाँ न्यानो, सुख्खा, उपोष्ण, हावापानी पाइन्छ । महाभारत शृङ्खलाको तल्लो भागमा पाइने वनस्पति चिउरी, सिमल, तिजु, बाँझ, कटुस, काफल जातका वनस्पति पाइन्छ । भने जडीबुटी तर्फ समयो, काउलो, चुत्रो, कुरिलो, टिमुर, तेजपात, सुनगाभा, अमला, हर्रो, बर्रो, सिकारी लहरा, जीवन्ती आदि प्रशस्त मात्रामा पाइनुका साथै बाँस, निगालोजस्ता डोको डालोका लागि चोयायुक्त वनस्पति पनि यहाँ पाइन्छ र कुच्चोतथा झाडुकोलागि अम्रिसो, वनस्पति पनि प्रशस्त पाइन्छ । यस भू–भागमा औसत १०० मि.लि. भन्दा बढी नै वर्षा हुने गर्दछ । 

Tags :
प्रतिक्रिया दिनुहोस