नवप्रवर्तनका लागि प्रतिभा डबली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवप्रवर्तनका लागि प्रतिभा डबली


२७ जेष्ठ २०८०, शनिबार


निजामती कर्मचारीहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराई व्यक्तित्व विकाससँगै नीति निर्माण र कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्ने अभीष्टका साथ सरकारले प्रतिभा डबली कार्यक्रम अघि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा गत वर्षदेखि यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम मार्फत सार्वजनिक सरोकारका विषयमा नवीन सोचको पहिचान एवं उपयोग गर्ने उद्देश्य राखिएको छ । यो कार्यक्रम निर्धारित उद्देश्य बमोजिम सहीरुपमा सञ्चालन हुनसक्ने हो भने यसले सार्वजनिक सेवाप्रवाहका क्षेत्रमा नयाँपन ल्याउन सक्ने देखिन्छ ।

निजामती सेवाभित्र परिवर्तनको संवाहकका रूपमा रहेका कर्मचारी स्वयंकै नवीन सोच प्रस्फुटित गराई उनीहरूकै क्षमता र प्रतिभालाई सार्वजनिक सेवा प्रवाहमा उपयोग गर्ने उद्देश्यले अघि सारिएको यो कार्यक्रम आफैँमा स्वागतयोग्य रहेको छ । यसमार्फत सार्वजनिक सरोकारका विषयलाई नयाँ तरीकाबाट सम्बोधन गर्न सक्ने सोचहरू प्रस्फुटित हुने र ती सोचहरुको कार्यान्वयनबाट सार्वजनिक सेवा प्रवाहले फड्को मार्न सक्ने अवस्था रहन्छ । यही कारण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उच्च प्राथमिकताका साथ प्रतिभा डबली कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ ले यससम्बन्धी कार्यविधिगत र प्रक्रियागत विषयहरूलाई व्यवस्थित गरेको छ । कार्यविधिले कर्मचारीमा रहेको नवीन सोच प्रस्फुटन गराई सार्वजनिक क्षेत्रमा उपयोग गर्ने सम्बन्धी नीति निर्धारण, समन्वय, सञ्चालन तथा व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको अध्यक्षतामा निर्देशन समिति रहने व्यवस्था गरेको छ । यसैगरी, प्रतिभा डबली कार्यक्रमको कार्यान्वयनमा सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखको अध्यक्षतामा कार्यान्वयन समिति रहने व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढीमा १ महिनाको समय दिई अनलाइन प्रविधि मार्फत नवीन सोच सम्बन्धी प्रस्ताव पेस गर्न सूचना प्रकाशन  गर्ने र अनलाइन प्रणालीमार्फत प्राप्त नवीन सोच हरूलाई कार्यविधि अनुरूप रहे नरहेको जाँचबुझ गरी प्रारम्भिक सूची तयार गर्ने प्रक्रिया कार्यविधिले तय गरेको छ । यसैगरी, प्रारम्भिक सूचीमा परेका नवीन सोच मूल्याङ्कनका लागि निर्देशन समितिले तोके बमोजिमको तीन सदस्यीय प्रारम्भिक मूल्याङ्कन समिति समक्ष पठाइने, मूल्याङ्कन समितिले प्राप्त अनलाइन प्रस्ताव र भिडियो तथा अडियो अध्ययन गरी आवेदकहरूको नवीन सोचको प्रारम्भिक मूल्याङ्कन गरी बढी अङ्क प्राप्त गर्ने ३० आवेदकहरूको सूची तय गर्ने व्यवस्था कार्यविधिमा रहेको छ । 

तत्पश्चात्, निर्देशन समितिले तीन सदस्यीय संक्षिप्त सूची तयारी मूल्याङ्कन समिति गठन गर्ने र प्रारम्भिक मूल्याङ्कनबाट छनोट भएका ३० आवेदकहरूको नवीन सोचको  मूल्याङ्कन गरी १० जनाको संक्षिप्त सूची तयार गर्ने व्यवस्था रहेको छ । संक्षिप्त सूची तयार गर्दा मूल्याङ्कनका आधारहरू पनि निर्दिष्ट गरिएको छ । जसमा, नवीन सोचमा नवप्रवर्तनीयता र सृजनशीलताको अवस्था, नवीन सोच विद्यमान अवस्थामा अवलम्बन गरिएको अभ्यासभन्दा फरक वा नवीन भएको अवस्था, सोचको मौलिकता र कार्यान्वयनयोग्य रहेको सुनिश्चितता, सोचको स्पष्टता र सकारात्मकताको अवस्था, सार्वजनिक सरोकारका समस्या वा मुद्दा सम्बोधनमा केन्द्रित रहे, नरहेको, समग्र सार्वजनिक प्रशासनको रूपान्तरणमा उपयोगी हुने, नहुने लगायतका आधारहरू रहेका छन् । 

यसरी गरिने मूल्याङ्कनबाट संक्षिप्त सूचीमा पर्न सफल उत्कृष्ट दस जना नवीन सोच प्रस्तुतिकर्तालाई अन्तिम चरणको तयारी तथा प्रस्ताव परिस्कृत र परिमार्जन गर्ने क्षमता अभिवृद्धि गर्न बन्द प्रशिक्षण सञ्चालन गरिने व्यवस्था कार्यविधिले गरेको छ । बन्द प्रशिक्षण पश्चात् संक्षिप्त सूचीमा परेका आवेदकले आफ्ना नवीन सोच अन्तिम मूल्याङ्कन समिति समक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । नवीन सोचको आधार, गहनता र स्पष्टता, विषयवस्तुको प्रस्तुति, मूल्याङ्कनकर्ताको जिज्ञासा सम्बोधन, कार्यान्वयन कार्य योजना, प्रस्तुतीकरणको समय पालना लगायतका आधारमा अन्तिम मूल्याङ्कन गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ । यसरी गरिने मूल्याङ्कनबाट अन्तिम मूल्याङ्कन समितिले प्रस्तुत नवीन सोचमध्ये उत्कृष्ट तीन सोचहरू छनौट गर्ने र ती नवीन सोच पेस गर्ने आवेदकहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्नका साथै त्यसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिने प्रावधान समेत कार्यविधिले व्यवस्थित गरेको छ । 

यसरी, अवधारणागत रूपमा प्रतिभा डबली कार्यक्रम आफैँमा नवीन र प्रभावकारी कार्यक्रमका रूपमा रहेको छ । यसको सफल कार्यान्वयनबाट निजामती कर्मचारीहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटित हुने अवसर प्राप्त गर्नुका साथै यसले सार्वजनिक नीति निर्माण र कार्यान्वयनमा समेत योगदान गर् नसक्ने देखिन्छ । निजामती कर्मचारीहरू पुरातनवादी सोचका हुनुका साथै कर्मचारीमा नयाँपन एवं सुधारका योजना नै हुँदैनन् भन्ने आमरुपमा व्याप्त सोचलाई चिर्दै प्रतिभाको सम्मान, कदर र नवीन सोचको उपयोग गर् नसक्ने वातावरण सिर्जना गर्नमा यो कार्यक्रम फलदायी बन्न सक्ने देखिएको छ । विभिन्न चरणबाट खरोरुपमा छनोट भएका नवीन सोचहरूको प्रभावकारी कार्यान्वयन हुनसकेमा यस मार्फत निजामती सेवाले फड्को मार्ने र जनतामाझ खस्किएको साखलाई उँचो गराउने माध्यमका रूपमा प्रतिभा डबली कार्यक्रम स्थापित हुनसक्ने देखिन्छ । 

यति हुँदाहुँदै पनि, सञ्चालनको दोस्रो वर्षसम्म आई पुग्दा प्रतिभा डबली कार्यक्रमसम्बन्धी अवधारणाको व्यवहारिक कार्यान्वयनका क्रममा थुप्रै समस्या र चुनौतीहरू देखा परेका छन् । कार्यविधिले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा कार्यरत कर्मचारीहरू सहभागी हुनसक्ने व्यवस्था गरेतापनी तुलनात्मक रूपमा न्यून सङ्ख्याका कर्मचारीहरूको मात्रै प्रस्ताव आउने गरेको देखिन्छ । कार्यक्रममा कर्मचारीहरूको आकर्षण अपेक्षित रूपमा बढ्न सकेको छैन । मन्त्रालयको वेबसाइट र अन्य माध्यमहरू मार्फत प्रस्ताव आव्हान गर्ने गरिएको भएतापनी अझै पनि दूर दराजसम्म कार्यक्रमसम्बन्धी सूचना प्रवाह हुन सकेको छैन । चरणबद्ध रूपमा गरिने मूल्याङ्कन प्रक्रिया र यसका आधारहरू बढी विषयगत रहेका छन् । मूल्याङ्कनका आधारहरूलाई थप बस्तुगत तुल्याई मूल्याङ्कन प्रक्रियालाई समेत पारदर्शी बनाउन आवश्यक देखिन्छ । प्राप्त भएका वा उत्कृष्ट ठहरिएका नवीन सोचहरूलाई सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा हालको कार्यविधिमा ठोस व्यवस्था हुन सकेको पाइँदैन । अन्तिम सूचीमा परेका नवीन सोचको कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था कार्यविधिमा रहेको भएतापनी कमजोर अन्तर निकाय समन्वयको पुरातन प्रशासनिक रोगबाट यो कार्यक्रम समेत अछुतो रहन सकेको छैन । 

प्रतिभा डबली त्यस्तो ऐना हो जसले, सार्वजनिक प्रशासनमा नयाँपनको प्रतिबिम्ब उतार गरी तत्काल र दीर्घकालमा गर्नुपर्ने सुधारका एजेन्डाहरूको मार्ग प्रशस्त गर्दछ । यो प्रशासकीय सङ्गठनहरूमा सुशासन कायम गराउने अभियानको महत्त्वपूर्ण औजार र सार्वजनिक क्षेत्र सुधारको आधार पनि हो । अवधारणा अनुरूप नै यसको व्यवहारिक कार्यान्वयन हुने हो भने प्रतिभा डबली सेवा प्रवाहमा नागरिक सन्तुष्टि सिर्जना गर्दै शासकीय प्रभावकारिता अभिवृद्धि गर्ने गतिलो माध्यम बन्न सक्छ । अतः प्रतिभा डबलीलाई अझ व्यापक र प्रभावकारी तुल्याउन यस सम्बद्ध कार्यविधि, संस्थागत क्षमता र नवीन सोचको उपयोग र कार्यान्वयनका सन्दर्भमा थप ध्यान पुग्नुपर्ने देखिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस