३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौँका विभिन्न स्थानमा सञ्चालित ३४ वटा मोटरसाइकल वर्कसपलाई कारबाही गरेको छ ।

फुटपाथ मिचेर मोटरसाइकल मर्मत एवम् सरसफाइ गर्ने गरेको भन्दै महानगरले ती वर्कसपहरूलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको जनाएको छ । फुटपाथ नै अवरोध गरेर वर्कसप सञ्चालन गर्दा पैदल यात्रुलाई हिंड्डुल गर्न समस्या भएको महानगरको भनाइ छ ।

महानगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई बुधबार नियन्त्रणमा लिएको थियो । उनीहरू आबद्ध ३४ वर्कसपबाट जरिवाना तिराएको महानगरले जनाएको छ ।

महानगरले बुधबार नै कवाडी सामान सङ्कलन गरेर सडकमा अवरोध गर्ने दुई जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको थियो । यस्तै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिका भित्र सहरी व्यवस्थापनमा अवरोध गर्नेहरूलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस