भन्सार प्रमुखसहित तीन जना तानिए, उपसचिव, अधिकृत र नासुमाथि अनुसन्धान हुँदै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भन्सार प्रमुखसहित तीन जना तानिए, उपसचिव, अधिकृत र नासुमाथि अनुसन्धान हुँदै 


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राजश्व छलीमा संलग्न भएको आशङ्कामा रसुवागढी भन्सार कार्यालयका प्रमुख(उपसचिव)सहित तीन जना कर्मचारीलाई तानिएको छ । 

जाँच पास भएका वस्तुको तुलनामा न्यून राजश्व सङ्कलन भएसँगै स्थलगत अनुगमनमा खटिएको भन्सार विभागको टोलीले नै कैफियत भेटाएपछि सुवागढी भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीसहित तीन जनालाई झिकाएर अनुसन्धान शुरु गरेको हो । 

भन्सार प्रमुख भण्डारीसहित रसुवागढी भन्सारमै कार्यरत अधिकृत बलराम भण्डारी र नायब सुब्बा बिन्दु शर्मामाथि अनुसन्धान शुरु भएको विभाग उच्च स्रोतले प्रशासनलाई जानकारी दियो । 

जाँच पास भएको वस्तुको तुलनामा न्यून राजश्व सङ्कलन र आयातित वस्तुको मात्रा नै न्यून भएसँगै विभागले सूक्ष्म निगरानी बढाएको थियो । त्यससँगै गोप्यरुपमा स्थलगत अनुगमनमा पुगेका कर्मचारीले कार्यालयको गतिविधिहरू र सीसीटीभी फुटेज हेर्दा कैफियत फेला पारेको थियो । 

कर्मचारीबाट बदमासी भइरहेको मौखिक जानकारी अर्थ मन्त्रालयलाई गराइए पनि मन्त्रालयले खासै चाँसो नराखेपछि विभागले चिठ्ठी नै लेखेर काठमाडौँ झिकाउन पत्राचार गरेसँगै अर्थले कारबाही प्रक्रिया अघि बढाएर मन्त्रालय झिकाएको हो । 

भन्सारमा हुने छली पुरानै रोग हो । निश्चित कर्मचारी, व्यापारी तथा तस्करहरूको मिलेमतोमा अरबौँ रुपैयाँ सिष्टमबाट चुहावट हुँदै आएको छ । जसमा माथिदेखि तलसम्मै सेट रहेको र तिनै इन्टे«ष्ट ग्रुपहरूले नै कर्मचारी खटनपटन गराउँदै आएको अर्थ मन्त्रालय स्रोत बताउँछ । मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहँदा पनि चुहावट रोकिन सकेको छैन भने राजश्व चुहावट नियन्त्रणसँग सम्बन्धित निकायका प्रमुख तथा सीमित कर्मचारीहरूको सेटिङका कारण केही निश्चित समूहले रजगज चलाउँदै आइरहेका छन्, उच्च राजनीतिक संरक्षणमै यो धन्दा चलिरहेको स्रोतको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस