आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा भएका आगलागी र डढेलोका घटनाहरूबाट नागरिकको जीउधनको क्षति भइरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति निकालेर विभिन्न माध्यमबाट घटनाहरूको अनुगमन गरिरहेको जनाएको छ । आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, पूर्व तयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आयोगले आग्रह गरेको छ ।

‘आगलागी र डढेलोजस्ता प्राकृतिक विपद्का कारण नागरिकको जीउधनको सुरक्षा हुन नसक्दा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ३ मा उल्लिखित प्रत्येक व्यक्तिको जीवनको सुरक्षाको अधिकार, नेपालको संविधानको धारा १६ मा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा २५ मा उल्लिखित नागरिकले आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने मौलिक हकको संरक्षण हुन सकेको देखिँदैन’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विपद्जन्य घटनामा द्रुत प्रतिकार्य टोली एवम् घटना प्रतिकार्य टोलीको समयमा नै परिचालन गरिनुका साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ समेत प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक छ ।’

पछिल्लो चौबीस घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा १ जनाको मृत्यु हुनुका साथै ४ जना नागरिक घाइते भएको आयोगले जनाएको छ । आयोगका अनुसार घटनापश्चात् तत्कालै राहत व्यवस्थापन हुन नसक्दा प्रभावितहरू थप समस्यामा परेको देखिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू अत्यन्त न्यून रूपमा भएको र भएका पनि सहर केन्द्रित भएको देखिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस