शान्ति प्रक्रियाको बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ : श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शान्ति प्रक्रियाको बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ : श्रेष्ठ


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिन विभिन्न प्रयत्नहरू भइरहेको जिकिर गरे ।

‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं’ उनले भने, ‘र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रूपमा विभिन्न प्रयत्नहरू भइराखेका छन् । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’

प्रधानमन्त्रीले मन्त्रीहरूलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गर्दै उनले सोही अनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । सुशासन र जनमुखी कार्य योजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्नेमा श्रेष्ठको जोड थियो ।

मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी सङ्कटमा नफसेको भन्दै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस