प्रहरीले दियो पासपोर्ट विवादमा रविलाई ‘क्लिन चिट’ दिन राय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरीले दियो पासपोर्ट विवादमा रविलाई ‘क्लिन चिट’ दिन राय


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले झुटो विवरण पेस गरेर पासपोर्ट लिएको मुद्दामा उनलाई ‘क्लिन चिट’ दिन प्रहरीले राय दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ४ दिनअघि सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृतले  बताए । तर, सरकारी वकिल कार्यालयले त्यसबारे निर्णय लिएको छैन । झुटो विवरण बुझाएर अमेरिकी नागरिक हुँदाहुँदै नेपाल पासपोर्ट लिएको मुद्दामा उनीविरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्नेबारे सरकारी वकिलले आइतबार निर्णय गर्दै छ । 

संवैधानिक इजलासको फैसला अनुसार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५० सालमा लिएको नागरिकता पुनः कायम गराएका थिए । २०५० सालकै नागरिकता प्रयोग गरेर उनले नेपाली पासपोर्ट लिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले २०७० साल (सन् २०१४)मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता आफूखुसी चलाएका थिए ।

२०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट ‘विवादित’ छ । यद्यपि उनले माघ १५ मा सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस