परियोजना निरीक्षण गर्न सुदूरपश्चिम पुग्यो इयूका राजदूतको टोली « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

परियोजना निरीक्षण गर्न सुदूरपश्चिम पुग्यो इयूका राजदूतको टोली


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपालस्थित युरोपियन युनियन (इयू) र उसका तीन सदस्य राष्ट्रका राजदूतको टोली विभिन्न परियोजनाको निरीक्षणका लागि सुदूरपश्चिम पुगेको छ।

युरोपियन युनियनसहित सदस्य राष्ट्रहरूको सहयोगमा सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षणका लागि चारजना राजदूतको टोली सुदूरपश्चिम भ्रमणमा गएको हो।

नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रज, जर्मनीका राजदूत थोमस प्रिन्ज, फ्रान्सका राजदूत गिलेर बुरबाओ र फिनल्यान्डका राजदूत रिना रिक्का हेइक्काको टोलीले आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालले फोहोरमैला व्यवस्थापन कसरी गरिरहेको छ भनेर निरीक्षण गरेको छ।

त्यस्तै, अस्पतालले महिला र बालबालिकालाई कसरी सेवा दिइरहेको छ भन्नेबारे पनि राजदूतहरूको टोलीले अस्पतालका अधिकारीहरूसँग छलफल गरेको छ।

सेतीमा फोहोरमैला वर्गीकरण गरेर व्यवस्थापनका लागि जर्मन सहयोगअन्तर्गत जिआइजेडले सहयोग गर्दै आएको छ। त्यस्तै, सरकारले दातृ निकायसँगको सहकार्यमा बहुक्षेत्रीय पोषण सहयोग परियोजनामार्फत महिला र बालबालिकालाई पोषणमा सहयोग गर्दै आएको छ।

राजदूतको टोलीले विपत् व्यवस्थापनमा नागरिकलाई कसरी सहयोग भइरहेको छ भनेर धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग समेत छलफल गरेको छ। इयूले इको परियोजनामार्फत यहाँको विपत् व्यवस्थापनमा सहयोग गरिरहेको छ।

भ्रमणका क्रममा राजदूतको टोलीले युरोपियन युनियन तथा युनियनका सदस्य राष्ट्रहरूको सहयोग र साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरूको अवलोकन गर्ने युरोपेली युनियनको नेपालस्थित कार्यालयका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले जानकारी दिए। ती सहयोग र परियोजनाबारे सम्बन्धित पालिकाका प्रमुखलगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको उनले बताए।

राजदूतहरूको टोलीले आज डडेल्धुरामा डडेल्धुरा अस्पतालको फोहोरमैला व्यवस्थापन, फिनल्यान्डको सहयोगमा सञ्चालन भइरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तथा मुक्त हिलियाको पुनर्स्थापना, जीविकोपार्जन कार्यक्रमको निरीक्षण र यसबारे सरोकारवालासँग छलफल गर्ने हमालले जानकारी दिए।

खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि फिनल्यान्ड सरकारको सहयोगमा यहाँका विभिन्न जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सञ्चालनमा छ।

सुदूरपश्चिममा मुक्त हिलियाको पुनर्स्थापना, उनीहरूको जीविकोपार्जन तथा सशक्तीकरणमा समेत फिनल्यान्डले सहयोग गर्दै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस