सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोज्यो : केपी ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोज्यो : केपी ओली


२० फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको भनाई थियो।

स्थानीय तह कर्मचारी सङ्घ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी समेत गरे। अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए।

उनले भारतलाई खुसी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए। नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुसी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो।

उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस