चीन र भारत जोड्ने सडक निर्माणमा ढिलाइ नगर्न राष्ट्रपतिको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीन र भारत जोड्ने सडक निर्माणमा ढिलाइ नगर्न राष्ट्रपतिको निर्देशन


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी हुन् । 

ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नको सुखद अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपतिले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताइन् । 

दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुकताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारीले आग्रह गरिन् । 

पवित्र धार्मिक स्थल भीमेश्वर महादेवको दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन् । जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो । 

गरिबीको रेखामुनी रहेका कृषकलाई व्यावसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गरिएको छ । स्थापनाकालदेखि हालसम्म प्रतिबद्ध टुकीको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी सङ्घका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले राष्ट्रपतिलाई जानकारी गराए । 

जिल्लाभर करिब छ सय टुकीहरू सक्रिय भएको १४ वर्षपछि विसं २०४८ मा जिल्लामा सङ्घको विधिवत् गठन गरिएको थियो । टुकी सङ्घमार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शिता अपनाउँदै आइएको टुकी सङ्घका कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस