नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयोग गर्ने यूएसएआईडीको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयोग गर्ने यूएसएआईडीको घोषणा


२५ माघ २०७९, बुधबार


काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले करिब साढे ७ अर्ब रुपैयाँ सहयोग घोषणा गर्दै नेपालको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण, नागरिक समाज र सञ्चारमाध्यमको समर्थन तथा स्थानीय निर्वाचन एवं कानुनी शासनलाई मजबुत बनाउन र मानव बेचबिखनविरुद्ध लड्न ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोग घोषणा गरेकी हुन् ।

नेपालको दुई दिने भ्रमणमा मङ्गलवार आएकी पावरले पहिलो दिन मङ्गलवार ललितपुरको पाटनमा आयोजित कार्यक्रममा सहयोग रकम घोषणा गरेकी हुन् । घोषित ६ करोड ८५ लाख डलरमध्ये एक करोड ८३ लाख नयाँ हो । बाँकी रकम सन् २०२२ मा सम्झौता गरिएको ६५ करोड ९० लाख डलरमध्येबाट हो । घोषित रकममा अझ बढी पारदर्शी र जबाफदेही तवरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोग गरी समावेशी लोकतन्त्र र समृद्धि सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको जनाइएको छ । स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समावेश गरिएको छ ।

यूएसएआईडीले नेपाललाई ६ दशकदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै पावरले अमेरिका नेपालमा आर्थिक सहयोग गर्ने पहिलो विदेशी मुलुक भएको पनि बताइन् । यूएसएआईडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि भित्र्याउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरेकी छन् ।

पाटनमै आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री विमला राई पौड्यालले मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालित परियोजना कार्यान्वयनमा जोड दिइन् । उनले नेपालको संसद्ले गत वर्ष एमसीसी सम्झौता अनुमोदन गरेपछि सडक र ऊर्जा विस्तारसम्बन्धी परियोजनामा काम अघि बढेको छ । मन्त्री पौड्यालले तोकिएकै समयमा परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । नेपाल लगातार दोस्रो पटक संयुक्त राष्ट्र सङ्घको मानवअधिकार समितिको सदस्य बन्न सहयोग गरेकामा उनले अमेरिकालाई धन्यवाद दिइन् ।

मन्त्री पौड्यालले नेपालको सामाजिक, आर्थिक क्षेत्रमा गरिरहेको सहयोगलाई लिएर यूएसएआईडीकी प्रमुख पावरलाई धन्यवाद ज्ञापन गरिन् । ‘हामीले (यूएसएआईडीमार्फत) स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि, वातावरणलगायत क्षेत्रमा सहयोग पाएका छौँ,’ उनले भनिन्, ‘नेपाल र अमेरिकाले गत वर्ष आगामी ५ वर्षका लागि ठुलो रकमको सम्झौता गरेका छन् । नेपाल सन् २०२६ पछि अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने भनिएको छ । यो स्तरोन्नति हाम्रा लागि महत्त्वपूर्ण पक्ष हो । संक्रमणकालीन रणनीतिमा अमेरिकाले नेपाललाई आवश्यक स्रोत सहयोग गर्छ भन्ने विश्वास ।’

परराष्ट्र मन्त्री पौड्याल र प्रमुख सामन्था पावरबीच मङ्गलवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पनि भेटवार्ता भएको थियो । भेटमा एमसीसी परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट विकसित मुलुकका रूपमा स्तरोन्नति भएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको मन्त्री पौड्यालको सचिवालयले बताएको छ ।

मन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिइन् । पावरले भने अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जनाइन् ।

पावरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ । उनी बुधबार बेलुका नै फर्कने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस