भियतनामको समृद्धि मोडल : नेपालका लागि अमृत बन्न सक्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भियतनामको समृद्धि मोडल : नेपालका लागि अमृत बन्न सक्छ


२४ पुस २०७९, आइतबार


वैश्विक मञ्चमा शासन, शासकीय व्यवस्थाका आफ्नै खालका गुण र दोषहरू छन् । अभ्यास र देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थालाई हेर्ने हो भने कुनै पनि देशका कुनै पनि शासकीय व्यवस्थाको आलोचना गर्न सकिन्छ । हरेक देशका शासन र विकासका आफ्नै विशेषतामा आर्थिक समृद्धि हासिल गरिरहेका छन् । यही शासन व्यवस्था उत्कृष्ट हो भनेर आ-आफ्नै डम्फु बजाएता पनि व्यवहारमा यी विषय गौण नै छन् । विभिन्न संसदीय प्रणाली अवलम्बन गरेका देशहरूले आर्थिक समृद्धिका आ-आफ्नै मोडलहरू लागू गरेका छन् । वास्तवमा लोकतान्त्रिक संस्कार सहितको नागरिक अधिकार, सम्मान र सहभागिता सहितको उन्नत सोच नै एक्काईसौ शताब्दीको वास्तविक शासकीय आवश्यकता हो । 

पछिल्लो समयमा विश्व रङ्गमञ्चमा आर्थिक शक्तिको रूपमा उदाएको भियतनामको विकास मोडल प्रेरणादायक छ । बिसौँ शताब्दीको अधिकांश समय आन्तरिक युद्धले ग्रसित भियतनाममा सन् १९७५ अघि युद्धको समयमा करिब १० लाख ४० हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका र त्यहाँका नागरिकले कष्टकर जीवन समेत बिताए । दैनिक उपभोग्य अनाज नभएर कन्दमूल, रूखका बोक्रा वा सर्भाइभको लागि जङ्गलमा जे पाइन्छ खाएर पनि जीवन बचाएको इतिहास साछी पनि छ । सन् १९७६ सम्म आन्तरिक वा बाह्य कारणले युद्धबाट ग्रसित उत्तरी र दक्षिणी भियतनाम एकीकृत भएपछि समाजवादी देश अर्थात् सोसलिष्ट रिपब्लिक अफ भियतनाम बनेको हो। 

सन् १९८६ मा भियतनाम कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनबाट पुरानालाई विस्थापित गर्दै सुधारवादी कम्युनिस्ट नेता न्यूगेन भान लिन्हको उदयपछि उनको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक रणनीति र कुटिल वैश्विक सम्बन्धका कारण अहिलेको आर्थिक उदयीमान भियतनामको ढोका खुलेको देखिन्छ । न्यूगेन भियतनाम कम्युनिस्ट पार्टीको महासचिव भएपछि पहिले आफ्नै पार्टीको विचार, रणनीति र संरचना सुधार गरे । परम्परागत र अन्धविश्वासभक्त पार्टीलाई राज्यको आर्थिक सुधार बाहकको रूपमा निर्माण गरे र सरकारको नीतिमा सहयोग पुग्ने मानव पुँजीमा रूपान्तरण गरे । दोस्रो सुधार भियतनामको विकासको आर्थिक रणनीति अन्तर्गत स्वतन्त्र बजार सहितको समाजवाद उन्मुख बजार अर्थतन्त्र पुनर्निर्माण (इकोनोमिक रिनोभेसन) को मार्गचित्र अघि सारे । जसलाई दोई मोइ आर्थिक योजना भनिन्छ । उक्त योजनामा आर्थिक सुधारको पहिलो अभियान कृषि क्रान्ति र मानव पुँजीको विकास सहितको उद्यमशीलता प्रवर्द्धन र  कलकारखानाहरू स्थापना थियो ।

कृषि उत्पादन अभियानको क्रान्तिमा समुदायमा आधारित कृषि खेती प्रणाली (कम्यूनल फार्मिङ) को अभियान प्रमुख थियो। सामूहिक कृषि खेती प्रणाली दुई भागमा विभाजित थियो । १) कृषि सहकारीकरण (एग्रिकल्चर कोअपरेटिभ्स) २) राज्य खेती प्रणाली (स्टेट फार्मिमङ्ग) जसलाई केन्द्रिय सरकारबाट सञ्चालन हुन्थ्यो । त्यस्तै, दोस्रो सुधार सन् १९९० मा कर्पोरेट कानुन र निजी संस्थान सम्बन्धी कानुन (कर्पोरेट ल एण्ड प्राइभेट इन्टरप्राइजेज ल) मार्फत निजी क्षेत्रलाई लगानीको वातावरण बनाए र प्रत्यक्ष वैदेशिक लगानी मार्फत उद्योग तथा कलकारखाना स्थापना गर्ने आर्थिक संरचना सुधार (इकोनोमिक स्टक्चरल रिफर्म) का योजनाहरू ल्याए। यसले औद्योगिक उत्पादन वृद्धि गरी आर्थिक वृद्धिमा प्रत्यक्ष सहयोग गर्‍यो । अमेरिका र चीनसँग धेरै बिग्रेको सम्बन्धमा पनि सुधार गरे र सन्तुलित सम्बन्ध बनाए । चीन भ्रमण गर्ने पहिलो भियतनामी प्रधानमन्त्री नै न्यूगेन हुन। दोङ मोर्इ आर्थिक सुधार योजनालाई अर्का सुधारवादी नेता भान किट (भान किट १९९२–१९९७) को नेतृत्वमा रहेको सरकारले निरन्तरता सहित थप परिमार्जन सुधार गर्दै राष्ट्रको समृद्धिमा योगदान दियो। 

विशेषतः सन् २००० देखि भियतनामले आर्थिक एकीकरण (इकोनोमिक इन्टिग्रेसन) र कूटनीतिक सम्बन्ध सुधार (डिप्लोम्याटिक रिफर्म) को नीतिलाई थप प्रभावकारी रूपमा अख्तियार गरी विश्व बजारमा आफ्नो व्यापार पहुँच बनायो। त्यस्तै, एक्पोर्ट लिड पोलिसिजमार्फत उत्पादित बस्तु तथा सेवालाई विश्व बजारमा सञ्जालीकृत गर्न सफल भयो । व्यापारिक सञ्जालीकरणको सम्बन्ध प्रमुख एसिया, दोस्रो अफ्रिका र तेस्रो युरोप अमेरिकालाई बजार रणनीति बनायो। हाल निर्यात व्यापार मध्ये एसिएन र एपेकसँग बढी छ भने अधिकांश देशसँग बीटीए अर्थात बायल्याटरल ट्रेड एग्रिमेन्ट गरिसकेको छ। 

सन् २००७ देखि हालसम्म भियतनामले चरम औद्योगीकरणको विकास गरेको हो। अन्तर्राष्ट्रिय आर्थिक सञ्जालीकरण गर्न निर्यातयोग्य बस्तु तथा सेवा उत्पादनका लागि भियतनामले देशलाई बिभिन्न कलस्टरहरुमा विभाजन गरेको छ । भियतनामको पूर्वी हनोई क्षेत्रलाई विद्युतीय औद्योगिक कलस्टर, उत्तरी क्षेत्रलाई अटोमोवाइल र मोटरपार्ट्स उत्पादन कलस्टर, रेड रिभर डेल्टा क्षेत्रलाई गारमेन्ट र टेक्सटायल कलस्टर, होची मिन्ह शहर र छिमेकी प्रान्तलाई लक्षित गरी विद्युतीय सामग्री उत्पादन र सूचना प्रविधि उत्पादन कलष्टर, मेकोङ डेल्टा क्षेत्रलाई कृषि बस्तु तथा सामग्री उत्पादन कलस्टर र सेन्ट्रल हाईल्यान्डलाई कफी प्रोसेसिङ कलस्टर आदीमा बर्गिकृत गरेको छ भने औद्योगिक विकासलाई सञ्जालीकृत गर्न सन् २०२० सम्ममा देशभर ३ हजार औद्योगिक ग्राम स्थापना गरिएको छ । जसमा, ८० प्रतिशत घरपरिवारका २० लाखले रोजगारी पाइरहेका छन्। 

यस बाहेक आर्थिक औद्योगीकरण र आधुनिक उत्पादन विकासका लागि लागि भियतनामले सन् २०२० को अन्तसम्म ईकोनोमिक प्रोसेसिङ्ग जोन- ३ वटा (EPZi- 30 कम्पनी, EPZii- 40 कम्पनी, EPZiii- 52 कम्पनी), र औद्योगिक पार्क-३२६ वटा, उच्च प्रविधि क्षेत्र- ३ वटा (होवा लक, दानाङ, होची मिन्ह), घरेलु तथा प्रत्यक्ष वैदेशिक लगानी परियोजना- १५ हजार रहेका छन् भने सन् २०२५ सम्म १७०४ वटा पुर्‍याउने लक्ष्य सहित ९६८ वटा औद्योगिक क्षेत्र (निजी क्षेत्रमार्फत ४५० वटा)  स्थापना गरी उद्यमशीलताको विकास मार्फत रोजगारी प्रवर्द्धन र निर्यातयोग्य वस्तु सेवा उत्पादनलाई अभियानका रूपमा प्रोत्साहित गरिएको छ।

सन् १९८६ सम्म करिब ८० प्रतिशत भन्दा माथि गरिबीको रेखामुनि रहेको र अधिकांश नागरिक भोकमरी र अशिक्षामा रहेको भियतनाम हाल (२०२३) मा विश्वको २६ औ ठुलो अर्थतन्त्र आकार (पीपीपी) भएको मुलुकमा पर्छ। कुल ५८ वटा प्रान्त र ५ नगरपालिकामा प्रशासनिक विभाजन गरिएको छ र कूल जनसङ्ख्या १० करोड ३८ लाख (२०२२ अनुमानित) रहेको छ। 

हाल भियतनामको अर्थतन्त्र आकार १.४२९ ट्रिलियन यूएसडी(पीपीपी) मा रहेको छ भने प्रति व्यक्ति आय १४,२४९ यूएसडी (पीपीपी) र कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको ३५.५ प्रतिशत योगदान रहेको छ। यद्यपि, हाल भियतनाममा खुल्ला बजार पुँजीबाद अर्थतन्त्रले राष्ट्रको अर्थतन्त्र सीमित व्यक्ति तथा कर्पोरेट सेक्टरको पकडमा रहेको क्रोनी पुँजीवादमा बिस्तार हुदै गएको तथा धनी गरिब बिचको खाडल बिस्तारै भयावह हुँदै गइरहेको (बीबीसी २०१३) देखिन्छ । तापनि, आर्थिक विकास, समृद्धि र विश्व आर्थिक मञ्चमा भियतनामले जबरजस्त बनाएको पकडलाई भने नकार्न मिल्दैन । सन् १९७६ पश्चात् समाजवादी भियतनाम निर्माण भएसँगै हालसम्म (३७ वर्ष) कम्युनिस्ट शासन रहेको भियतनामले पूर्ण रूपमा खुला बजार अर्थनीतिमा आधारित बजार अर्थतन्त्र र  चरम पुँजीकरण अँगालेको छ।  

हामीले पनि हाम्रो देशलाई योजनाबद्ध विकासमा अँगालेको ६५ वर्ष पार गरिसकेको छ । सधैँ नै के नपुगेजस्तो र अभावको महसुस भइरहने हाम्रा विकास र समृद्धिका योजनालाई दीगो समाधानको अचुक औषधीको रूपमा लैजान सकिएको छैन । हरेक दलका नीति र मूल्यहरू फरक फरक भए पनि राष्ट्रिय विकासमा एउटै दुरदृष्टी (भिजन) र लक्ष्यको निरन्तरता दिन नसक्ने प्रवृत्तिका कारण विकासमा सधैँ शून्यदेखि शुरु गर्नुपर्ने अवस्था आउने गरेको छ ।

करिब ४८० मिलियन अर्थतन्त्रको आकार भएको हामीले हाम्रा बिकासका नीति योजनाहरू नराम्रो भने पक्कै बनाएकै होइन । हामी सबैले साझा दायित्वको रुपमा विकासलाई अपनत्व कायम गर्न नसकेको भने सत्य नै हो। सन् २०२६ सम्म अति कम विकसित देशबाट विकासोन्मुख देशमा ग्र्याजुएसन हुने, सन् २०४३ सम्म उच्च मध्यमय आय स्तर भएको मुलुक र बि.स. २१०० सम्म उच्च आय स्तर भएको विकसित मुलुक बनाउने भिजन अर्थात् प्रति व्यक्ति आम्दानी १२,१०० अमेरिकी डलर गराउने भिजन अगाडी पनि सारेका छौँ ।

बिश्व मञ्चका आर्थिक समृद्धि प्रणालीका राम्रा नराम्रा पक्षलाई केलाउँदै उद्यमशीलता विकास, मानव पुँजी निर्माण, निर्यात प्रवर्द्धन हुने मूल्य श्रृखंलामा आधारित औधोगिक प्रवर्दवन, नवप्रवर्तन उद्यम (इन्नोभेसन स्टार्टअप), बृहत् उत्पादन (मास पोडक्सन) मा आधारित प्रणाली, प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्र पहिचान, प्रवर्द्धन र आकर्षण, राष्ट्रिय औद्योगिक विकास सञ्जालीकरण तथा आर्थिक एकीकरण, अन्तराष्ट्रिय आर्थिक सञ्जालीकरण (कनेक्टिभिटी), सन्तुलित कूटनीति बिस्तार, नेपालमै उत्पादित बस्तु मात्र नेपालीले उपयोग गर्ने अभियान (मेकइन नेपाल) अभियान र यसै अनुरूपको नीति निर्माण तथा परिमार्जन, शासकीय प्रणाली र संरचनाको सामयिक सुधार मार्फत समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समृद्ध मुलुक बनाउने अवसर किञ्चित गुमाउनु हुदैंन। अब पनि हामी परम्परागत शासकीय अभ्यासमा रमाई रह्यौ भने विश्व मञ्चमा यो भन्दा भद्दा मजाक केही हुने छैन र नेपाल र हामी नेपाली सधैँ पछि परिरहने छौँ । 

आफू नजान्ने, अरूले भनेको नसुन्ने,अध्ययन अनुसन्धान नगर्ने, भावनामा बहकिने, योजना नगर्ने, प्रचारात्मक उन्मुख अर्थात् मूर्ख माखे शैलीको विकास मार्गबाट लक्ष्यमा पुगिएला त ? हाम्रो अर्थतन्त्रको शैली र विशेषता आफ्नै प्रकृतिको छ। तर पनि,वैश्विक विकासको अनुभवलाई पनि सिक्नुपर्ने हुन्छ,यी विषयहरू हाम्रा नीति र विकास योजना निर्माणमा अमृत हुन्छन्। हामीले समस्या देख्न थालेको र भन्न थालेको दशकौँ भइसकेको। अब राजनीतिक र प्रशासनिक नेतृत्वले समाधान देख्नुपर्छ, देश समाज राजनीतिमा मात्र विभक्त विभाजन हुनुहुन्न, विकासको अभियानमा सञ्जालीकृत हुनुपर्छ।

समाज यसरी राजनीतिक विभाजनले गाँजिएको छ की, हरेक कोणमा राजनीतिक चस्माको प्रयोग प्रचलन बढ्दै गइरहेको छ। राजनीति नराम्रो होइन तर हरेक क्षेत्रमा राजनीतिकरण राम्रो पनि होइन। अब राजनीतिका लागि विकास होइन, समस्याका पोका पनि होइन, समाधानको अचुक सूत्र देख्ने नैतिकवान् राजनीति र प्रशासन सहितको शासकीय प्रणाली निर्माण गरौँ।

स्रोत:
1-Reconsidering the Vietnamese development vision of “industrialisation and modernisation by 2020”- ECON STOR
2- Vietnam Pulls Off Asia’s Fastest Growth as Economy-Bloomberg
3-wikipedia.org/wiki/Vietnam

Tags :
प्रतिक्रिया दिनुहोस