गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ : महन्थ ठाकुर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ : महन्थ ठाकुर


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले जानकारी दिए । उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले  स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”

उनले कोभिड-१९ महामारी लगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि जानकारी दिए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आजै सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहल कदमी अघि बढाउने बुझिएको छ ।

लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरूको बैठकले निर्णय गरिसकेको बताए । 

सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको छिट्टै कार्यकारिणी समितिको बैठक बोलाइएको पनि नेता भण्डारीले जानकारी दिए । लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस