निर्मला पन्त प्रकरणमा ७ सय जनासँग बयान तथा सोधपुछ, जटिल बन्दै अनुसन्धान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्मला पन्त प्रकरणमा ७ सय जनासँग बयान तथा सोधपुछ, जटिल बन्दै अनुसन्धान


२७ मंसिर २०७९, मंगलबार


Nirmala Pant

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ सय जनासँग बयान तथा सोधपुछ गरेको छ ।

जसमध्ये १५० बढी महिला छन् । अनुसन्धानमा सेना, प्रहरी, शिक्षक, सरकारी कर्मचारीसँग पनि सोधपुछ गरिएको छ । यसबाहेक निर्मलाका नजिकका आफन्तलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो ।

हालसम्म १३५ जनाको डिएनए परीक्षण गरेको उच्च प्रहरी अधिकारीहरू बताउँछन् । हालसम्म कसैको पनि डिएनए निर्मलाको शरीरबाट निकालिएको स्वावसँग मेल खाएको छैन ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

प्रहरीले अहिलेसम्म डिएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ । 

घटनाबारे प्रहरी अधिकारीहरूकै मत अनुसन्धानका क्रममा बाझिँदै आएका छन् । घटनाको जिल्ला प्रहरी, सीआईबी र प्रदेश प्रहरीको टोलीले अनुसन्धान गर्दै आएको छ ।

प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलीपसिंह विष्टलाई अभियुक्तको रूपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डिएनए नमिलेपछि उनी छुटेका थिए ।

हालसम्म एक दर्जन बढी प्रहरी अधिकारीहरूले निर्मला प्रकरणको अनुसन्धान गरेका छन् । 

तर कसैले पनि नयाँ ‘क्लु’ फेला पार्न सकेका छैनन् । आशङ्काका भरमा विभिन्न व्यक्तिहरू पक्राउ परेपनि पर्याप्त प्रमाणको अभावमा उनीहरू छुट्दै आएका छन् ।

अनुसन्धानमा संलग्न सबैजसो प्रहरी अधिकारीहरू स्थानीय, परिवारका सदस्यको सहयोग नपाएको गुनासो गर्दै आएका छन् ।

यसबाहेक सूचना सङ्कलनमा पनि पर्याप्त मात्रामा स्रोत साधनको अभाव भएको अधिकारीहरूको बुझाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस