तोरीसहितको अन्नबाली बढाउँदै सर्लाहीका किसान « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

तोरीसहितको अन्नबाली बढाउँदै सर्लाहीका किसान


२४ मंसिर २०७९, शनिबार


सर्लाही । सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् ।

तीन/चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् । उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताए ।

‘उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्’, निरौलाले बताए ।

दुई दशकअघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो । तर वर्षभरि लगानी गरेर उत्पादन भएको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसान अन्य खेतीतर्फ मोडिएका हुन् ।

सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिएपनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरु उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका-२ का किसान रामपुकार महतोले बताए ।

उनका अनुसार जिल्लामा रहेका तीनवटा चिनी मिल मध्ये इन्द शङ्कर चिनी उद्योगबाहेक अरु उद्योगले किसानको रकम भुक्तानी गरेका छैनन् । महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा बन्दजस्तै अवस्थामा छन् । जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा र धान ४६ हजार पाँच सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए । करिब २० वर्षपछि यहाँका किसान पुनः उखु खेती मासेर पुरानै खेतीमा फर्किएका स्थानीय जानकार राजकुमार उप्रेतीले बताए । “किसानले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो, अहिले तोरी झार्ने बित्तिकै क्विन्टलको करिब रु १५ हजारका दरले बिक्री हुन्छ । जग्गा जमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन् । थोरै जमिन हुनेले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन् । उखु लगाउँदा वर्षमा एक पटक उत्पादन निस्कने भए पनि तोरी खेतीमा वर्षमा तीन/चार बाली लगाउन पाइने र लगानी धेरै नलाग्ने हुँदा उखुको विकल्पमा लागेका छन्”, उप्रेतीले बताए ।

थोरै लगानी गर्दा मनग्ये आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानले तोरी खेती बढाउन थालेका छन् । सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ । “जसका कारण पनि किसानको मनफेरि पुरानै खेतीतर्फ मोडिएको हो’”’, गोडैता नगरपालिका–४ का कपिल महतो भन्छन् । जिल्लाका किसानले धान, हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन् । तोरीभित्र चना, मुसुरोजस्ता दलहन बाली पनि उत्पादन हुन्छ । तोरी र चना भित्र्याएपछि खेत बर्खे मकै खेतीका लागि तयार हुन्छ । ‘तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्’, स्थानीय छोटेलाल साहले बताए ।

यता, जिल्लाका उखु उत्पादक किसानलाई आफूहरुले नयाँ प्रजातिको उखुखेती गर्न बीउ वितरण गरेकाले जिल्लामा उखु उत्पादन बढ्ने इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजकले बताए । उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातिको उखु जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिएका कारण उखु उत्पादनमा क्षेत्रफल घटे पनि उत्पादनमा कमी नआउने उद्योगको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस