नक्कली शिक्षक र इन्जिनियरविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नक्कली शिक्षक र इन्जिनियरविरुद्ध मुद्दा दायर


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

कैलालीको खैलाडस्थित राष्ट्रिय उमाविमा माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त मथुरा चौधरी र पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा करारमा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादवविरुद्ध मुद्दा दायर गरिएको हो। 

उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा नक्कली पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चौधरीले स्नातक तहको नक्कली प्रमाणपत्रहरू पेस गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

त्यसैगरी, यादवले डिप्लोमा इन सिभिल इन्जिनियरिङको नक्कली प्रमाणपत्र पेस गरी पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा सबइन्जिनियर पदमा डोरहाजिरी तथा राजपत्र अनङ्कित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरक-फरक मितिमा दुई वर्षभन्दा बढी कार्यरत रहेको पाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस