अमेरिकी राजदूतसँगको भेटबारे भिम रावललाई बालेनले दिए यस्तो जवाफ ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी राजदूतसँगको भेटबारे भिम रावललाई बालेनले दिए यस्तो जवाफ !


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्। 

बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको बताएका छन्। यस्तै अनुमति लिएपछि मात्रै भेट गरेको उनले दाबी गरेका छन्। 

‘हामीले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेर भनेका थियौँ,’ उनले लेखेका छन्, त्यसपछि मात्रै हामीले भेट्ने अनुमति दिएका हौँ।’

बिहीबार अमेरिकाका राजदूत र बालेनको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटघाट भएको थियो। 

आजै नेकपा एमालेका नेता भीम रावलले बालेनले अमेरिकी राजदूतसँग भेटवार्ता गर्नेबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिई अनुमति लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए।

‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आफूखुसी गर्ने संसारमा कहीँ नभएको अभ्यास नेपालमा किन ? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ’, भन्दै स्टाटस राखेका थिए। 

उक्त स्ट्याटसको जवाफमा बालेनले ‘हामीलाई तपाईँहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको’ बताएका थिए।

‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ,’ उनले लेखेका छन्, ‘थप एमसीसी मार्फत विद्युत् विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत् नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस