सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेशी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका थिए। थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौँ जिल्ला अदालत स्रोतले बताएको छ ।

बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​

Tags :
प्रतिक्रिया दिनुहोस