बालेनको कुहिने र नकुहिने फोहोर छुट्याउने योजना अलपत्र, यस्तो छ विभागको प्रतिक्रिया ! « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बालेनको कुहिने र नकुहिने फोहोर छुट्याउने योजना अलपत्र, यस्तो छ विभागको प्रतिक्रिया !


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोहोर वर्गीकरण गर्ने योजना अलपत्र परेको छ । फोहोरबाट ‘मोहोर’ बनाउने योजना बनाएका बालेनले सबै जिम्मा नागरिकलाई नै दिएर पन्छिएपछि फोहोर वर्गीकरणको सबै काम अलपत्र परेको हो ।

गत साउन १ गतेदेखि महानगरले तामझामका साथ कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरका घर-घरमा पर्चा वितरण गरेको थियो । फोहोर वर्गीकरण नगर्नेलाई एकपटकमा ५०० रुपैयाँ जरिवानासमेत तोकिएको थियो ।

त्यसबेला महानगरका कर्मचारीले समेत नछुट्याइएको फोहोर उठाएनन् । तर, पछिल्लो समय फोहोर वर्गीकरण गर्ने नियम महानगरवासीले बिर्सिसकेका छन् । हाल दैनिक फोहोर उठे पनि कुहिने र नकुहिने फोहोर नछुट्याइएको कृषि तथा वातावरण विभागले जनाएको छ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना तिराउने भनिएको थियो ।

पहिले जस्तै अहिले पनि कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फ्याँक्ने काम भइरहेको विभागकी प्रमुख सरिता राईले बताइन् । उनका अनुसार अहिले दैनिक २०० मेट्रिक टनभन्दा बढी फोहोर उठिरहेको छ । महानगरलाई फोहोरको भार कम हुँदै गएकाले अहिले सहज रूपमा काम भइरहेको राईले दाबी गरिन् ।

महानगरको फोहोर वर्गीकरण गर्ने योजना पुनः कार्यान्वयन गर्ने चरणमा रहेको उनले बताइन् ।

जग्गा उपलब्ध नहुँदा महानगरले टेन्डर आह्वान गर्न सकेको छैन । त्यसको विकल्पको रूपमा महानगरलाई आठ वटा कलस्टरमा विभाजन गरेर आ–आफ्नो क्षेत्रको फोहोर आफै व्यवस्थापन गर्नेबारे पनि छलफल भइरहेको प्रमुख राईले बताइन् ।

महानगर कृषि तथा वातावरण विभागले सङ्कलित फोहोर उठाउन क्षेत्र बाँडेर दुईवटा रुट बनाएको थियो । जसअन्तर्गत पहिलो रुटमा आइतबार र बुधबार तथा दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फोहोर उठाइने तालिका थियो । बाँकी दुई दिन नकुहिने फोहोर उठाइने तालिका थियो ।

पहिलेदेखि नै फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले गर्दै आएकाले असहज भएको महानगरले दाबी गर्दै आएको छ । महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन केही पूर्वाधारहरू तयार गरिरहेको पनि विभागले जनाएको छ । ल्यान्डफिल साइटमा अव्यवस्थित तरिकाले फोहोर फाल्दा पटक-पटक धुनीबेँसी नगरपालिकाका स्थानीयले अवरोध गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै बालेन फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा रहेको भन्दै सिसडोल र बञ्चरेडाँडा पुगेका थिए । उनले सार्वजनिक कार्यक्रममा समेत ६०० मेट्रिक टन फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्न सकिने गरी योजना बनाइरहेको बताउँदै आएका छन् । महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन तथा आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपैयाँ छुट्याएको पनि छ ।

विभागीय प्रमुख राईका अनुसार अहिले काठमाडौँ महानगरभित्र मात्रै ३६ वटा कम्पनीले फोहोर सङ्कलनको काम गर्छन् । महानगर क्षेत्रमा मात्रै उपत्यकाको ५० प्रतिशत फोहोर उत्पादन भइरहेको छ । उपत्यकाका अन्य पालिकामा कति वटा कम्पनीले फोहोर उठाउँछन् भन्ने विवरण भने महानगरमा छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस