निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउँछौँ : प्रधानमन्त्री देउवा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउँछौँ : प्रधानमन्त्री देउवा 


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् ।

आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी कार्यलयहरुमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए। 

उनले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहेको औँल्याए ।

प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै उहाँले निजामती कर्मचारीहरूले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे ।

उनले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन पनि निजामती कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक सङ्घीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक सङ्घीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरू गर्नुपर्ने स्थिति रहेको बताए ।

प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस