निजामती सेवामा प्रविधिको उपयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवामा प्रविधिको उपयोग


१५ असार २०७९, बुधबार


निजामती सेवाले राणाकालीन समयदेखि हालको प्रविधिको युगसम्म सेवाग्राहीमा विविध तरिकाले सेवा दिँदै आएको छ । विगतमा यस्ता सेवा प्रवाह म्यानुअल रूपमा दिइन्थ्यो । प्रविधिको सहयोग सँगसँगै यस सेवाले पनि आफूलाई चुस्त दुरुस्त बनाउने जमर्को गर्दै आएको छ । नेपालको निजामती सेवाको स्थापना सन् १९५६ को निजामती ऐनको माध्यम बाट भएको हो । राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी २ बृहद वर्गमा निजामती कर्मचारीको वर्गीकरण भएको छ । 

सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित यस सेवाको पदपूर्ति र वृत्ति विकासमा लोक सेवा आयोगको अग्रणी भूमिका रहेको छ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको नेपाल स्टाफ कलेजले कर्मचारीहरूमा सेवाकालीन तालिम प्रदान गर्दछ । यस सेवामा नेपालमा हाल करिब ८५ हजारको सङ्ख्यामा कर्मचारी कार्यरत रहेका छन् ।

प्रविधिको उपयोगबाट वर्तमान विश्वमा लाभान्वित नहुने कुनै वर्ग, क्षेत्र, व्यक्ति वा समुदाय छैन । पढे लेखेका जमात बाट बनेको निजामती सेवाले प्रविधिलाई अत्यधिक सदुपयोग गरेर सेवा प्रवाहलाई छिटो, छरितो, मितव्ययी र सेवाग्राही मैत्री बनाउन सकेको विश्व उदाहरण रहेको छ । नेपालको निजामती सेवामा पनि प्रविधिको उपयोग दिनानुदिन बढ्दै गईरहको छ । केही समय पहिलेको कुरा हो, टाइप राइटर मेसिनबाट टाइपको काम गर्न पाउँदा काम मा आएको सहजतालाई चमत्कारकै रूपमा हेरिएको थियो । स्मरणीय कुरा के छ भने यस मेशिनमा एक पटक टाइप गरिएको कुरा सच्याउनु पर्दा सेतो मसी लगाएर अक्षरलाई छोपेर फेरि त्यसैमाथि अर्को अक्षर टाइप गर्नु पर्दथ्यो, जुन ठाउँ भद्दा र फोहर देखिन्थ्यो । अझ विद्युतीय टाइप राइटर मेशिनमा काम गर्दै गरेको एक लाइन संशोधन गर्न मिल्ने प्रावधान आएपछि कर्मचारीमा खुसीको सीमा रहेन । थप केही वर्ष यस मेशिनलाई सहजता पूर्वक प्रयोग गरियो ।

टेलिफोनको आगमनले आकाशवाणीबाट समाचार सम्प्रेषण गर्ने प्रथालाई विस्थापन गरयो । आकाशवाणी जसलाई छोटकरीमा आबा भनिन्थ्यो, यसको उपलब्धता जिल्ला सदरमुकाममा सीमित थियो । केन्द्र वा अन्य जिल्लाबाट पठाइएका खबरहरू संक्षेपमा लेखिएका हुनाले कहिले काहीँ त्यसको ठिक अर्थ नलाग्ने अवस्था सृजना हुन जान्थ्यो । यदाकदा प्रसारण स्पष्ट नसुनिने कारणले र प्राय जसो लेख्ने व्यक्तिको खराब अक्षरको कारणले सन्देश प्रस्ट नहुने र अनुमान गर्नु पर्दथ्यो । यसरी सदरमुकाममा सङ्कलित आबालाई सम्बन्धित व्यक्ति वा संस्थासम्म पुर्‍याउने काम समय तथा दुरीको दृष्टिले सहज थिएन । सुरुमा प्रहरी कार्यालयमा आबा सुविधा राखिएको थियो । नेपाली सेना रहेको स्थानमा उपलब्ध आबा सामान्यतः सुरक्षा प्रयोजनको लागि उपलब्ध हुने हुँदा सर्वसाधारण लाई यो उपलब्ध थिएन । टेलिफोनको आगमन, द्रुत प्रगति र व्यापक उपयोगले विश्वभर ल्याएको सञ्चार तथा दूर सञ्चारको सहजताबाट निजामती सेवाको प्रभावकारिता झन् बढ्दै गयो । छापाखाना उद्योगमा आएको क्रमिक सुधारले निजामती सेवामा प्रकाशन र अभिलेख राख्ने काममा उल्लेख्य सहजता र प्रगति हुन सक्यो ।

सुरुवाती दिनहरूमा हिसाब गर्नको लागि कुनै मेसिन उपलब्ध थिएन । हातले हिसाब गनु पर्ने र त्रुटि भएमा सच्याउनको लागी ठुलो समय खर्चन पर्ने बाध्यता थियो । गुणन र भाग प्रक्रियालाई सहजीकरण गर्न लग टेबुल र स्लाईड रुल जस्ता माध्यम प्रयोग गरिन्थ्यो । त्यस बखत विद्यार्थीलाई १ देखि १५ सम्मको गुणा टेबुल र कहीँ कहीँ अढैया टेबुलसम्म मुखस्थ गराइन्थ्यो । क्यालकुलेटरको निर्माण र उपयोगसँगै हिसाब गर्नमा एउटा चमत्कारिक सहजता उपलब्ध भयो । यसबाट हिसाब किताब राख्ने जिम्मेवारी भएका निजामती कर्मचारीले ठुलो राहत महसुस गरे भने कामको गति र विश्वसनीयतामा पनि यसबाट गुणात्मक फड्को मार्न सम्भव भयो । त्यसपछि क्यालकुलेटरमा थप सुधार हुँदै गए र यसमा सानातिना प्रोग्राम समेत राख्न सकिने भयो ।

सन् १९८० को दशकमा कम्प्युटरको विकास भयो । जसले विश्वको प्रविधिगत रूपरेखामा अकल्पनीय र अत्यन्त सकारात्मक परिवर्तन गरिदियो । यसले निजामती सेवालाई नयाँ ढङ्गले परिभाषित गर्न सफल भयो । कम्प्युटरको विकास तीव्र गतिमा हुन थाल्यो र यसको उपयोग निजामती सेवाको हरेक काममा गर्न थालियो । यसबाट यस सेवालाई चुस्त दुरुस्त र सेवाग्राही मैत्री बनाउने प्रयासमा कोशेढुंगाको रूप लियो । समय र अनुभवका साथ प्राय सबै काम कम्प्युटरबाट गर्न थालियो र यसले पुरानो फाइल सिस्टमको भरपर्दो र प्रभावकारी ब्याक अप का साथसाथै विकल्प समेत उपलब्ध गराउन सक्यो । यसैको शक्ति र सहयोगमा कागज बिनाको निजामती सेवाका(पेपरलेस ब्युरोक्रेसी) परिकल्पना गर्न थालियो । आजको निजामती सेवाको गति र दिशालाई यस विकासले सफलता तर्फ डोर्‍याएको मान्न सकिन्छ ।

इन्टरनेटको विकासको सुरुवात सन् १९५० को दशकमा भएता पनि १९९० को दशकबाट मात्र यो प्रविधि सर्वसाधारणको समेत पहुँच र प्रयोगमा आउन सक्यो । यसको तीव्र विकासको फल समग्र विश्वले लिई रहेको अवस्थामा पढे लेखेको निजामती समुदाय यसबाट विशेष लाभान्वित भएको सुखद अवस्था विद्यमान रहेको छ । इन्टरनेटको विकासको प्रत्यक्ष लाभ सेवा प्रदायमा रहेको छ । अनलाइन सेवाबाट संसार नै एक भएको छ भने भौतिक दुरीको असरलाई यसले शून्य प्रायः मा झारिदिएको छ । विगत अढाई वर्षको कोभिड व्याधिग्रस्त समयमा पनि निजामती र गैर निजामती व्यक्तिले घरबाट काम गर्न सम्भव भयो जसले गर्दा धेरै हदसम्म विश्व चलायमान रहन सक्यो । आज सामान्य अवस्थामा धेरै किसिमका सेबाघरमा बसेर प्राप्त गर्न सकिने अवस्था सृजना भएको छ । अन्य क्षेत्रको तुलनामा निजामती क्षेत्र यस क्षेत्रमा केही पछि नै छ, तसर्थ यस दिशामा उचित नीति निर्माण र आवश्यक सबलीकरणका साथ अघि बढ्न आवश्यक देखिएको छ ।

प्रविधिको उच्चतम उपयोग गरी  रोबोट निर्माण र सञ्चालनमा आएको छ। अब जटिल र जोखिमपूर्ण काममा मानवीय उपस्थिति अनिवार्य छैन । यसबाट निजामती सेवाका जोखिमपूर्ण काममा संलग्न निजामती कर्मीहरू लाई ठुलो राहत मिलेको छ ।रोबोटको मूल्य दिनदिनै घटिरहेकोले अब यो यन्त्र केही समयमै सर्वसाधारणको पहुँच भित्र आउनेमा विश्वास गर्न सकिन्छ । यसले जोखिम कम गर्नाका साथै सञ्चालन खर्चमा समेत उल्लेख्य कमी ल्याउने निश्चित छ ।

कम्प्युटरको विकाससँगै धमाकादार विकास सफ्टवेयरको क्षेत्रमा भएको छ । यसको व्यापक उपयोग गरी निजामती र अन्य क्षेत्र अत्यन्त लाभान्वित भएका छन् । आजको हाजिरी राख्ने काम होस् वा लेखा राख्ने काम, डिजाइन गर्ने काम वा मनिटरिंङ गर्ने काम सबैमा सफ्टवेयरको मूर्धन्य उपस्थिति र सहयोग रहेको छ । यसबाट काममा सहजताका साथसाथै चुस्त दुरुस्तता र समय र श्रमको अतुलनीय बचत भएको छ । निर्णय प्रक्रियामा यसबाट प्राप्त भएको सहयोग प्रशंसनीय छ । हुन त कम्प्युटरले गारवेज इन गारवेज  गर्दछ, तर पनि प्रशस्त अनुभव र परीक्षणका कारण आज बजारमा भरपर्दो सफ्टवेयर उपलब्ध रहेको अवस्था छ ।

भर्चुअल मिटिङ र इमेलले निजामती सेवा लगायत समग्र जन जीवनमा राम्रो प्रभाव र पकड देखाएको छ । सञ्चारको व्यापक सहजता तथा समय र श्रोतको अकल्पनीय बचत गर्नमा यी दुई तत्त्व अब्बल देखिएका छन् । हिजो सम्भव नभएका धेरै काम आज क्षणभरमा र न्यून लागतमा सम्पन्न गर्न सकिने भएका छन् । यसतर्फ सजग हुनुपर्ने एउटा कुरा के छ भने सन १९४९ मा महान् वैज्ञानिक आईन्स्टाईनले भने जस्तै सूचना र प्रविधिमा केही धनिमानी व्यक्तिको पकड र कब्जामा रहने सङ्केत देखिन थालेका छन् ।

आर्टिफिसियल इन्टेलीजेन्सले जन जीवनमा उल्लेख्य सहजता थप्दै गएता पनि भोलिका दिनमा मानव मस्तिष्क कब्जा गर्ने सम्मका हरकत यसका माध्यम बाट सम्भव रहने भएकाले विश्व त्यसतर्फ भने अवश्य चनाखो रहनु पर्ने देखिएको छ । यस विषयमा प्रसिद्ध लेखक युभल हरारीले आफ्नो पुस्तक ट्वान्टीवान लेसन फर ट्वान्टी फस्ट सेन्चुरीमा सविस्तार व्याख्या गर्दै सचेत समेत गराएका छन् । असल दिमागहरू बेजोड सफ्टवेयर निर्माणमा तल्लीन रहेको बेला केही व्यक्तिहरू ह्याकिङ र भाइरस निर्माणमा लागेका छन् । कम्प्युटर र यसमा रहेका सफ्टवेयर हरूलाई सुरक्षित राख्नु हरेक प्रयोगकर्ताको दायित्व हो । यसो गर्न सकिएन भने सफ्टवेयरमा क्षति पुग्न गई कम्प्युटर नचल्ने हुन सक्दछ ।

अबको गन्तव्य

प्रविधिको उच्चतम विकास बिसौँ सताब्दिको उत्तरार्ध र चालु एक्काइसौँ शताब्दीमा जसरी भई रहेको छ, यसले मानव जीवनलाई साँच्चै मालिक बनाएको छ । लजिक र बुद्धिमत्ताको अनुपम सङ्गमले गर्दा हाम्रा काम सजिलो सस्तो र प्रभावकारी भएका छन्। गुगल र बिंग जस्ता सर्च इन्जिनले गर्दा वर्ल्ड वाइड वेब बाट क्षणभरमा हामीले चाहेका हजारौँ सूचना प्राप्त गर्न सकिन्छ । क्लाउड स्टोरेजको माध्यमबाट ठुलो मात्रामा आफ्ना सूचना सञ्चय र उपयोग गर्न सकिन्छ । यस दिशामा दिनानुदिन नयाँ प्रविधि र स्पिड थपिँदै छन् ।

निजामती कर्मचारीले आफूलाई प्रविधि मैत्री बनाउँदै प्रविधिको बढी भन्दा बढी उपयोग गरेर सेवा प्रवाह लाई छिटो छरितो, प्रभावकारी र सेवाग्राही मैत्री बनाउनु पर्दछ । निजी क्षेत्र यस दिशामा राम्रोसँग अघि बढी रहेको सन्दर्भमा प्रतिस्पर्धा र अनुगमन दुवै कामका लागि निजामती सेवालाई प्रविधिको ज्ञान हासिल गर्ने र त्यसको, उपयोग गर्ने अवसर निर्बाध उपलब्ध गराउनु पर्दछ  । प्रविधिले जीवनलाई धेरै सजिलो बनाएको छ र आगामी दिनमा यसबाट थप मद्दत मिल्ने निश्चित छ । हामीले प्रविधिको दास हैन, मालिक बन्न जान्नु पर्दछ र यसमै हामी सबैको प्रगति र कल्याण निर्भर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस