जनप्रतिनिधीज्यूहरुलाई अनुरोध « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

जनप्रतिनिधीज्यूहरुलाई अनुरोध


११ जेष्ठ २०७९, बुधबार


श्रीमान् स्थानीय तह निर्वाचन, २०७९ बाट निर्वाचित हुनु भएका जनप्रतिनिधि ज्यूहरू, नमस्कार तथा सफल, सक्षम, जनप्रिय र निष्पक्ष कार्यकालको शुभकामना !

२०७९ ज्येष्ठ ०५ गते पहिलो कार्यकाल समाप्त भई दोस्रो कार्यकालको लागि पदभार ग्रहण गर्नु भई जनताको नजिकको सरकारको प्रतिनिधि हुनु भएको छ । उम्मेदवारी पाउन टिकटको लागि लडाई, उम्मेदवारी भई सकेपछि चुनाव जित्ने लडाइँले थकित तपाईँहरू पक्कै पनि जित पछि खुसी हुनुहुन्छ होला । तपाईँहरू भन्दा बढी खुसी तपाईँका मतदाता छन् र निराश पार्नु हुने छैन भन्नेमा विश्वस्त पनि छन् । अहिलेको चुनावमा टिकट पाउन, टिकट पाए पछि चुनाव जित्न, कम्ता दुख थिएन । यही अवस्था विद्यमान रही रहने हो भने सर्वसाधारण र विशुद्ध राजनीति मात्र गर्नेले चुनावमा उम्मेदवार बन्ने र जित्ने सपना पनि नदेखे हुने अवस्थामा पनि तपाई चुनिनु भएकोमा धन्यवाद छ ।

चुनाव जित्न के गर्नु पर्ने रहेछ ? अर्कोले किन चुनाव जितेन? आदी कुराहरूको ज्ञाता भइसक्नु भएको छ । संविधानमा भएको व्यवस्था अनुसार यो दोस्रोका कार्यकाल हो । पहिलो कार्यकालले जनप्रतिनिधि विहीनको रिक्तता पूर्ण गर्दै सिक्दै र सिकाउँदैमा बित्नै लाग्दा करिब २ अढाई वर्ष कोरोना महामारीले खासै केही गर्न नदिई पहिलो जनप्रतिनिधीहरुलाई केही हदसम्म सफल चाही बनायो । त्यही अवसरलाई पनि छोड्न नसकी केही जनप्रतिनिधि भ्रष्ट्राचार, कमिसन, घुस, अनियमितता, ठेक्का पट्टा, डोजर, व्यापार, परामर्श, नाता तथा आफन्त भर्ना जस्ता विविध कार्य गरी विवाद र चर्चित हुन चाही छोड्नु भएन । ती र त्यस्ता केही जनप्रतिनिधीहरुलाई जनताले ठेगान लगाए भने केही राम्रो काम गरेकाहरू निर्वाचित भए ।

समय परिवर्तित छ, जनता केही हदसम्म शिक्षित भई सकेको कुरा चुनावी परिणामले नै देखाएको छ । जनतालाई आफ्नो पोल्टामा पार्न राजनीतिक दल र उम्मेदवारहरूले के के सम्म गरेनन् त्यो कुरा तपाई हाम्रा सामु नै छन् ।

तपाई, तपाईँको दलले टिकट दिएर र जनताले काम गर्न सक्छ, यो राम्रो मान्छे छ भनेर विश्वास गरेर भोट दिएर निर्वाचित गराएका छन् । यसमा तपाईँले चमत्कार, भाग्यको खेल, भगवानको आशीर्वाद, दल र नेताको कृपा जे भने पनि चुनाव जनताले जिताएका हुन् । किनकि यहाँ हाम्रो दलको बहुमत छ, यहाँ त हाम्रै नातापाता, आफन्त, हाम्रा मान्छे जो उठाए पनि चुनाव जित्छौ भन्दै ब्याज खान पल्लेकाहरु पराजित भई तपाईँहरू निर्वाचित भएको प्रमाण तपाई आफै नै हो । चुनाव जित्नु मात्रै ठुलो कुरा होइन र रहेन पनि, त्यो तपाईँसँगै उठेका कैयन पूर्व जनप्रतिनिधीहरुलाई नै पराजित गर्नु भएबाट नै थाहा भई सक्यो ।

जनताको नजिकको सरकारको प्रतिनिधित्व गर्नेले २१औँ शताब्दीको युगका जनतालाई कसरी खुसी, सुखी र सन्तुष्ट बनाउने भन्ने जिम्मेवारी नै तपाईँको जीत हो । चुनाव जितियो, अब खर्च पर्च उठाउन लाग्नु पर्छ, नाता गोता, दलका कार्यकर्ताको भर्ती केन्द्र बनाउनु पर्छ, आफ्नै व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने मात्र सोच्नु भएको छ भने कृपया सोच बदल्नुहोला । तपाईँको कार्यले तपाई त जानुहुन्छ जानुहुन्छ नै बिचरा तपाईँको दल र कार्यकर्ताको सम्म बेइज्जत भई अर्को पटक जनताले सोच्न बाध्य पार्ने अवस्था सिर्जना नगर्नुहोला ।

निर्वाचित भएको अभिमानले कहिल्यै नमातिनु, तपाईँले तपाईँको दलका जनताले मात्र भोट दिएर जितेको नहुन सक्छ र होइन पनि, त्यसमा अन्य दलका पनि केही मतहरू तपाईँमा पक्कै पनि छन् । म नै सरकार हुँ भन्ने भ्रमबाट टाढा रहनु, संविधान, कानुन, नीति नियमको ख्याल गर्दै कर्मचारीको साथ र सहयोग लिएर काम गर्नुहोला भन्दै केही जनपक्षीय कार्य तपाईँबाट हुने छन् भन्दै केही अनुरोध गर्न चाहन्छु ।

१. जनताको मन जित्नु– तपाईँलाई जिताउने जनताबाहेक कोही होइनन्, जनताले तपाईँबाट केही आशा गरेर चुनाव जिताएका हुन । बिना भेदभाव जनतालाई तपाईँले चुनाव जसरी मान मर्यादा राखेर जसरी नमस्कार गर्दै मिठो बोल्दै आशा दिलाउनु भयो त्यसै गरी म जनताको सेवक हुँ भन्ने भावनाले जनतासमक्ष पुगेर, जनताको पीर मर्का बुझेर, जनताको समिप्यतामा काम गर्दै कुनै पनि मतदाता तपाईँलाई भेट्न घण्टौँ कुर्नु पर्ने अवस्था नआउने गरी काम गर्नु हुनेछ भन्ने आशा छ । जनताले सुख र दुख तपाईँसँग बाढुन ।

. दलभन्दा माथि उठेर सेवा गर्नु- तपाईँलाई हराउन नसकेर मात्रै हो तपाईँले जितेको । तर तपाईँको जित पछि तपाईँहरूलाई खादा र अबिर लगाउन पहिल्यै तिनैहरु स्वागत गर्न आए होलान् जो तपाईँलाई हराउन चाहन्थे । मलिनो अनुहार लिएर प्रतिपक्षले पनि बधाई तथा शुभकामना दिए होलान्, तिनीहरूले पनि भन्दै होलान् पख्लास् काम अब कसरी गर्ने रहेछस् । कसैले अब सबै काम पार्टीको निर्देशन अनुसार गर्नु पर्छ, फलना फलानासँग सहकार्य गरेर मात्रै काम गर्नु होला भनेर पनि तपाईँलाई प्रशिक्षित गरेका होलान्, राम्रो कामको लागि दलको सल्लाह सुझाव ग्रहण गर्नु पर्छ तर तपाईँलाई अर्को दलको वार्डमा, टोलमा विकास नगर, उसकोबाट व्यापार नगर, उसलाई नजिक नबना, आदी इत्यादि भन्दै तपाईँलाई निःशुल्क सल्लाह दिनेको कमी हुने छैन, त्यसलाई राम्ररी मनन गरेर अब तपाईँको पद साझा हो, तपाई उम्मेदवार मात्रै पार्टीको हो भन्ने सम्झेर दलगत भावना भन्दा माथि उठेर काम गर्न अनुरोध छ ।

३. घोषणा/प्रतिबद्धता पत्रको कार्यान्वयन- तपाईँले चुनाव जित्न जनतासँग प्रतिबद्धता तपाईँको घोषणा पत्रमार्फत व्यक्त गर्नु भएको छ । तिनको अध्ययन गरी, अन्यसँगको सहयोग र सहकार्यबाट अक्षरशः कार्यान्वयन गर्न अनुरोध छ ।

४. कर्मचारीहरूसँगको सहकार्य- हाम्रा सरकार जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्यमा जनतालाई सेवा प्रदान गर्ने गरिन्छ । कोही कर्मचारीहरू ईमान्दार, कर्तव्य बोध, अनुशासित छन् भने कोही अवसरवादी, खुराफाती र भ्रष्ट्रचारीहरु छन् । तपाई उम्मेदवार हुँदै गर्दा होओस् वा तपाईँले जित्ने निश्चित भई सके पछि केही अवसरवादी कर्मचारीहरू तपाईकोमा पक्कै पनि पुगेका होलान् । तिनीहरूले तपाईँले पहिलाका जनप्रतिनिधि, कमाई हुने बाटा, काम गर्ने तरिका, तपाईँले काम र प्रगतिको बारेमा चिन्ता लिनु नपर्ने, तिनीहरू भन्दा ज्येष्ठ, जानेको बुझेको सोझो, नीति र नियमभन्दा बाहिर नजाने कर्मचारीहरूलाई सरुवा गर्ने, ठेगाना लगाउने, जिम्मेवारी दिने लगायतका ठुलै सूची बोकेर तपाईँहरूलाई बधाई तथा शुभकामना दिन आईसके होला नभए पक्कै पनि आउनेछन् ।

यथार्थता बुझेर नियम र कानुन अनुसार मात्रै गर्नु भयो भने मात्र सफल हुन सकिन्छ । जति पनि जनप्रतिनिधि सफल भएका छन् तिनीहरू पनि कर्मचारीकै कारणले र असफल भएका पनि कर्मचारीकै कारणले भएका छन् त्यो बुझ्न जरुरी छ । कर्मचारीहरूसँग सुमधुर सम्बन्ध र नियमसंगत र समतामूलक व्यवहार नै तपाईँको पहिलो सफलता हुने छ । म नै सबै थोक हुँ, मैले नै सबै गर्नु पर्छ, कर्मचारी केही होइनन् भन्न थाल्नु भयो भने मात्रै पनि तपाईँको असफलता सुरु हुने छ । कार्य सञ्चालनको लागि कर्मचारीहरूसँगको सहकार्यबाट नै उत्कृष्ट कार्य सम्पादन गर्नुहुन अनुरोध छ ।

५. शिक्षा र स्वास्थ्यलाई प्राथमिकता- हाम्रो विकास भनेकै भौतिक पूर्वाधार निर्माणलाई लिने गरिएको छ । कृपया तपाईँहरूको कार्यकालमा तपाईँको स्थानीय टोलमा सबैले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरणको लागि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्न अनुरोध गर्दछु । विद्यालयमा भवन बनाउने, ड्रेस बाँड्ने, कापी कलम बाँड्ने, मात्र नभएर शिक्षक दरबन्दी, पठन पाठनको व्यवस्था, परीक्षा सञ्चालन र व्यवस्था लगायतका विषयमा गम्भीर हुँदै, हरेक हप्ता नभए महिनाको एक पटक अभिभावक, शिक्षक र विद्यार्थीहरूसँग छलफल गर्न समेत अनुरोध छ । साथै हाम्रा स्थानीय तहले स्वास्थ्यमा औषधी र सामग्री खरिद गर्न भन्दा अर्को ठोस काम गरेको नदेखिँदा स्वास्थ्य सम्बन्धी प्रवर्द्धनात्मक, सचेतनात्मक कार्यक्रमहरू र जनमुखी सेवा प्रवाह गर्दै विपन्न, ज्येष्ठ र असहाय नागरिकलाई स्वास्थ्य सेवामा प्राथमिकतामा राख्न अनुरोध छ ।

६. कानुनको पालना- संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका सबै खाले कानुनको पालना र कार्यान्वयन गर्नु तपाईँहरूको कर्तव्य भएकोले कानुनको अक्षरशः पालना गर्न अनुरोध छ ।

७. समतामूलक विकास निर्माण- चुनावी नारामा तपाईँहरूको पनि पहिलो प्राथमिकता पूर्वाधार निर्माण, बाटो, घाटो, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइ आदी नै थिए होला । तिनीहरूको विकास सबै स्थानलाई हुने गरी व्यवस्थापन गर्न सक्नु पर्छ, आफ्ना घर जाने बाटो पिच गर्ने, आफन्तकोलागि, दलका कार्यकर्ताको मागको आधारमा नभई आवश्यकताको आधारमा विकास निर्माण अगाडि बढाउन अनुरोध गर्दै । पहाडी जिल्लामा बाटाहरू हरेक वर्ष खोस्रने, पुर्ने र वर्षाको पानी बगाउने नबनाउनुहुन, साथै कसैका डोजर, कसैलाई ठेक्का दिलाउन, कसैको व्यवसाय र अमुक व्यक्ति र संस्थाको फाइदाको लागि भन्दा पनि समतामूलक सबैठाँउमा सबै खाले गुणस्तरीय र टिकाउ विकास निर्माण तर्फ ध्यान दिन अनुरोध छ ।

तपाईँहरूसामु सफलता सँगै चुनौतीहरू पनि चाङ् लागेका छन् कृपया संविधान, कानुन, नैतिकता, सदाचार, सहिष्णुता, सद्भावलगायतका विषय वस्तुमा बाँधिँदै जनतासँग नजिक भएर कार्य गर्न सके तपाईँको कार्यकाल स्वर्णिम अक्षरले लेखिने छ । यी लगायत सुशासन कायम गर्दै भ्रष्ट्राचार, अनियमितता, नातावाद, कृपावाद, दलगत स्वार्थबाट माथि उठी जनताको वास्तविक सरकार र सेवक बन्नुहुन विनम्र अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस