स्थानीय निर्वाचनमा राप्रपा नेपालको ठुलो अपेक्षा छैन, प्रतिकात्मक उपस्थिति मात्र : कमल थापा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्थानीय निर्वाचनमा राप्रपा नेपालको ठुलो अपेक्षा छैन, प्रतिकात्मक उपस्थिति मात्र : कमल थापा


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर बनेको राप्रपा नेपालका अध्यक्ष आसन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक रूपमा सहभागिता जनाउन आम मतदाताहरूलाई आह्वान गरेका छन् ।

राप्रपा नेपालले भने चुनावमा ठुलो महत्त्वाकाङ्क्षा वा अपेक्षा नराखेको उनको भनाइ छ । स्थानीय चुनावको पूर्व सन्ध्यामा आज (बुधबार) जारी गरेको एक वक्तव्यमा थापाले यस्तो बताएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘तयारीका निम्ति समयको अभाव भएको हुँदा स्थानीय चुनावमा राप्रपा नेपालको ठुलो अपेक्षा छैन । हामीले संविधानप्रति सहकार्य गर्ने नीति अनुरूप चुनावमा प्रतिकात्मक उपस्थिति जनाएका हौँ ।’

स्थानीय निर्वाचनमा राप्रपा नेपालले नेकपा एमालेसँग केही पालिकाहरूमा सामान्य तालमेल गरेको थापाले स्मरण गराएका छन् । अन्य केही पालिकाहरूमा स्वतः स्फूर्त रूपमा राप्रपा नेपालका उम्मेदवारहरू रहेको वक्तव्यमा उल्लेख छ ।

‘यो चुनावमा सामान्य भए पनि हाम्रो सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणालीप्रतिको राप्रपा नेपालको प्रतिबद्धताको द्योतक हो,’ थापाले भनेका छन् ।

स्थानीय चुनाव सकिए लगत्तै राप्रपा नेपाल देशव्यापी सङ्गठन निर्माण र जनजागरणमा महाअभियानमा अगाडि बढ्ने थापाको भनाइ छ ।

वक्तव्यमा उनले भनेका छन्, ‘२०७९ सालभित्रै संसद्का लागि हुने आम चुनावबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्नेछौँ । यो हाम्रो दृढ सङ्कल्प हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस