मैले रेनुलाई टिकट दिनुस् भनेको हुँ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मैले रेनुलाई टिकट दिनुस् भनेको हुँ : प्रधानमन्त्री देउवा


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले आज (शुक्रबार) काठमाडौँमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले भरतपुरको मेयरमा रेनुलाई उम्मेदवार बनाउन आफूले भनेको बताएका हुन् ।

काठमाडौँ महानगरपालिकामा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई र भरतपुर महानगरपालिकामा दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको देउवाको भनाइ थियो ।

सत्तारुढ गठबन्धन लामो समयसम्म लानका लागि आफू तयार भएको र संविधानको वर्तमान निर्वाचन प्रणालीअनुसार कसैले बहुमत नल्याउने भएकाले सँगै अगाडि बढ्नुपर्ने उनले बताए ।

‘भोलि पनि गठबन्धन हुन्छ । अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी त धेरै लचिलो हुनुहुन्छ । झगडा भयो भने भइहाल्यो भन्नुहुन्छ । हामी सबैले तपाईँको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो, देउवाले भने, मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो, मैले भनेको हो । मैले भने, हेर्नुस् राम्रो काम गरेको महिलालाई उम्मेदवारी दिनुस् भनेको हो ।’

काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन प्रकाशमान डराएको पनि देउवाको भनाइ थियो । ‘यहाँ पनि प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो,’ देउवाले भने । पुष्पकमल दाहालको छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको देउवाको भनाइ थियो ।

चितवनमा विकासका राम्रा काम भएकाले फेरि रेनुलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । त्यस्तै, काठमाडौँमा यातायात, फोहोरको समस्या समाधन गर्न सिर्जना सिंहले प्रतिबद्धता गरेकाले गठबन्धनले जिताउनुपर्ने उनले बताए ।

‘नेपालमा मेयर महिला नै हुनुपर्छ भन्ने दिन आउन बेर छैन,’ देउवाले भने । स्थानीय तहको विकास गर्ने महिलालाई पुरस्कार दिनुपर्ने र फेरि जिताउनुपर्नेमा हराउने काम हुन्छ ? भनेर उनले प्रश्न गरेका थिए ।

त्यस्तै राजधानी रहेको काठमाडौँ महानगरपालिकामा महिला उम्मेदवारलाई हरायो भने दुनियाँले के भन्ला ? भन्ने प्रश्न पनि उनले गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस