सेवाग्राहीलाई अनावश्यक दुःख दिएको गुनासोपछि तानिए अध्यागमन अधिकृत « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सेवाग्राहीलाई अनावश्यक दुःख दिएको गुनासोपछि तानिए अध्यागमन अधिकृत


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अध्यागमन अधिकृत विभाग तानिएका छन् । कुवेत जान लागेकी एक महिलालाई कारण बिना नै अफलोड गरेको भेटिएसँगै अध्यागमन अधिकृत हरिकृष्ण बुढाथोकीलाई अध्यागमन विभागमा फिर्ता बोलाइएको हो । 

भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको भन्दै ती महिलाले गृह मन्त्रालयमा निवेदन दिएकी थिइन् । 

महिलाको उजुरी पछि कागजात साथमा हुँदाहुँदै किन अफलोड गरेको भनेर मन्त्रालयबाट बुझ्दा उल्टै  ‘गरेँ त गरेँ’ भन्ने जवाफ दिएसँगै उनलाई शुक्रवार विमानस्थलबाट विभाग फिर्ता गरिएको अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । 

बिहीवार विभागले अधिकृत बुढाथोकीलाई विभागमा फिर्ता गर्न कार्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रपछि कार्यालयले विभागमा कामकाज गर्ने गरी हाजिर हुन पठाएको थियो । 

व्यवहारगत पक्ष सुधार्न आवश्यक तालिम दिन पर्ने देखिएकोले विभाग बोलाइएको विभाग स्रोतले बतायो ।  

गृह मन्त्रालयले अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारका लागि विभिन्न योजनाहरू अघि सारेको छ । लामो समयसम्म बसेर सेटिङ मिलाउने कर्मचारीलाई हटाउनेदेखि सेवाग्राहीबाट गुनासो आएका कर्मचारी तथा बिचौलियामाथि निगरानी बढाउँदै आएको छ । 

विशेष गरी श्रमिकहरूबाट अनेकन बहानामा पैसा धुत्ने सरकारी अधिकारीहरूको आचरणमा सुधार नआए कडा कारबाही गर्ने चेतावनी गृह मन्त्री तथा गृह सचिवले दिँदै आएका छन् । 

सोही अनुसार केही दिन अघि मात्रै ४० जना नयाँ फ्रेस अधिकृतहरूलाई विशेष अभिमुखीकरण तालिमसहित अध्यागमन अधिकृतमा खटाइएको थियो । सो क्रममा मन्त्री रवि लामिछानेले नागरिकलाई दुःख दिने कार्य कुनै पनि हिसाबले सह्य नहुने र त्यस्ता कर्मचारीलाई निर्मम कारबाही गरिने बताएका थिए । साथै सुधारका लागि एक जना नै काफी हुने भन्दै त्यसको नेतृत्व जो हरेक व्यक्तिले गर्न सक्नेसमेत बताएका थिए । 

अध्यागमनमा हुने हरेक प्रकारका लेनदेन बन्द गर्ने र सुशासन कायम गर्ने सवालमा कुनै सम्झौता नहुँदै जनाउँदै आएको मन्त्रालयले उक्त निर्देशन कार्यान्वयनकै क्रममा विमानस्थलमा आएका गुनासोहरूलाई सूक्ष्म ढङ्गले विभाग मार्फत नियाली रहेको र गल्ती भेटाए कसुर अनुसार कडा भन्दा कडा कारबाही गरिने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस