गोरखा पालुङटारका काँग्रेसका ५२ उमेदवारद्धारा सामूहिक राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोरखा पालुङटारका काँग्रेसका ५२ उमेदवारद्धारा सामूहिक राजीनामा


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ। गोरखा पालुङटारमा नगरपालिकामा काँग्रेसका तर्फबाट उम्मेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।

नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

केन्द्रले गोरखामा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उम्मेदवारी फिर्ता गराएपछि सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् ।

सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उम्मेदवार फिर्ता गराइएको उनीहरूको भनाई छ ।

मेयरको उम्मेदवार रहेका दीपकबाबु कँडेलले केन्द्रको निर्देशन मान्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि उक्त नगरमा काँग्रेसका उम्मेदवार रहेका सबैले उम्मेदवारी फिर्ता गरेका हुन् ।

“निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारीसमेत गराउन चाहन्छौँ,” सामूहिक राजीनामामा भनिएको छ,“विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबकै कारण नेपाली काँग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गरी अन्य कुनै पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपरेमा नेपाली काँग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रूपमा राजीनामा दिने निर्णय गर्दछौँ।”

Tags :
प्रतिक्रिया दिनुहोस