जीवनलाई सुन्दर र सक्रिय राख्ने कला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जीवनलाई सुन्दर र सक्रिय राख्ने कला


२९ चैत्र २०७८, मंगलबार


सुख, शान्ति र समृद्धि प्राप्तिका लागि समर्पित जीवन विज्ञान नामक संस्थाका मुख्य प्रशिक्षक रमेश नेपालका अनुसार हाम्रो जीवन तीन खुट्टे ओदान जस्तै हो । उक्त ओदानका तीन खुट्टा भनेका स्वास्थ्य, सम्बन्ध र सम्पत्ति हुन् । जसरी शारीरिक, मानसिक, भावनात्मक र आत्मिक गरी चार वटै खालको स्वास्थ्य राम्रो हुनु जरुरी छ त्यसैगरी सम्बन्धलाई अर्थपूर्ण र जीवन्त राख्न सक्नुपर्दछ । सम्बन्धमा बाँधिएकाहरु उपर दायित्व निर्वाह गर्ने तथा आपसी मनोभावना अनुसार व्यवहार गर्न सक्नुपर्दछ । कुनै सङ्गठन, संस्था वा समुदायमा हुने समूह कार्यका बखत समूहभित्र विश्वासयुक्त सम्बन्धले मात्र नतिजामा पुग्न सहयोग गर्दछ । त्यस्तै सम्पत्ति आर्जन गर्ने विषय आधारभूत आवश्यकतासँग जोडिने हुँदा यसलाई महत्त्व दिनै पर्दछ । उत्पादनमा बढोत्तरी ल्याउने खालको भए झनै राम्रो । मात्र गैर कानुनी तवरले र अस्वभाविक तवरले वा पाप कर्मबाट भने सम्पत्ति जोड्नु हुनुहुँदैन । अर्थात् आर्जनसँगै भयले प्रवेश पाउने गरी पैसाको पछि लाग्नु हुँदैन ।

एक पटक आफ्नो जीवनको विगतलाई फर्केर हेरौँ त हामी साना केटाकेटी हुँदा कति रमाउँथ्यौँ, अनि किशोर किशोरी हुँदा सम्म पनि हामी प्रकृतिसँग कति समय बिताउँथ्यौँ । गाउँघरकै खाने चिज, वन जङ्गलका फलफूलहरू कति प्यारा र मिठा लाग्दथे । तत्पश्चात् हामी डेरामा बसेर कलेज पढ्ने बखत वा काममा लागेका बखत हामी कति सरल थियौँ । बिदाको दिन साथी भेटिदा वा कुनै दिन समय निकालेर फिल्म हेर्न जाँदा कति खुसी लाग्थ्यो । तर अहिलेको आधुनिकताले यति जटिलता थप गरेको छ कि व्यक्ति व्यक्तिका लागि फरक फरक चिजको अपेक्षा बढेको छ । खुसी भन्दा पनि सुविधा र शक्तिको पछाडि मान्छे कुँदिरहेको आभास हुन्छ । सारा संसारलाई बदल्नुपर्दछ भन्नेहरू आफूलाई सुधार्न असमर्थ देखिन्छन् । भनिएको छ कि समाधान नभएको कुनै समस्या नै हुँदैन वा छैन । तर वास्तविक उपाय कुन हो चिन्न सक्नुपर्दछ ।

नराम्रो व्यवहार वा कामको कारण निदान गर्न जरुरी छ । हाम्रो शरीर नै कतिपय खराबीको केन्द्र हो । हाम्रो शरीर आफैमा दुई प्रकारको हुन्छ । भौतिक र सूक्ष्म शरीर । शरीरको देखिने रूप भनेको भौतिक हो भने मन, विचार, बुद्धि, भावना र आदत चाहिँ सूक्ष्म शरीरका विषय हुन् । त्यस्तै मन आफैमा पनि चेतन र अवचेतन गरी दुई किसिमको हुन्छ । भनिएको छ कि हामीले गर्ने कामहरूमध्ये ९० प्रतिशत अवचेतन र १० प्रतिशत चेतन मनको सक्रियतामा काम हुने गर्दछ । शरीर र मनलाई उपयुक्त भरण पोषण तथा अभ्यास गर्नु मानव मात्रको कर्तव्य हो ।

मानवीय शरीर समग्रमा शक्ति केन्द्रहरूको समग्र रूप हो । सिङ्गो शरीरमा ७ ठाउँमा ऊर्जा वा शक्ति उत्पन्न हुने र गोलाकारमा दौडने चक्रहरू छन् । हाम्रो शरीरमा रहेका ती सूक्ष्म ऊर्जाका विन्दुहरूको जानकारी राख्दै उपयुक्त अभ्यास समेत गर्नु जरुरी छ । ती विन्दुहरूलाई शक्ति केन्द्र पनि भनिन्छ । ७ वटा शक्ति केन्द्रहरूको संक्षिप्त चिनारी यहाँ प्रस्तुत गरिएको छ :

१. मूलाधार चक्र : यो चक्र मेरुदण्डको पुछारमा रहन्छ । खास गरी खाना गलत भएमा यो चक्र बिग्रन्छ । मोटो वा दुब्लो जे भए पनि यो चक्र दुरुस्त नभएका व्यक्तिहरू काममा अल्छी हुन्छन् ।

२. स्वाधिष्ठान चक्र : नाभिभन्दा ४/५ अमल तल रहने ऊर्जा केन्द्र हो यो । यसको सम्बन्ध सिधै मनसँग हुन्छ । यो चक्र बिग्रेको व्यक्ति भोगलाई रमाइलो रूपमा लिँदैन । आत्महत्याको प्रयास पनि गर्न सक्दछन् ।

३. मणिपुर चक्र : नाभिको आसपास रहने यो चक्रलाई सक्रिय राख्न सकियो भने मान्छे साहसी र उच्च आत्मविश्वाससहितको हुन्छ जसले सफल रूपमा नेतृत्व पनि लिन सक्छ ।

४. अनाहार चक्र : यो ऊर्जा केन्द्र छातीमा रहन्छ । यदि यो चक्रको कार्य प्रक्रियामा गडबड भयो भने मानिस किचकिचे बन्दछ । उसले जे जसमा पनि खोट देख्दछ । कुरौटे व्यवहार गर्दछ । अरूको सहयोग लिने र सहकार्य गर्ने विषय यो चक्रको सुधारपछि मात्र सम्भव हुन्छ ।

५. विसुती चक्र : यो शक्ति चक्र घाँटीको बिच भागमा पर्दछ । यो चक्रको केन्द्र नै विचार भएकोले धेरै कुरा चल्ने सम्भावना हुन्छ । यो चक्रमा गडबडी हुँदा पढ्न मन नलाग्ने हुन्छ । थाइराइड जस्ता समस्या पनि यो चक्र बिग्रेर हुन जान्छ ।

६. आज्ञा चक्र : यो चक्र दुइ आँखिभौँको बिचमा निधारमा हुन्छ । यसलाई विज्ञानले पिटुटरी ग्लाण्ड भन्दछ । भनिन्छ कि यो चक्र खराब भयो भने भनेको काम हुँदैन, व्यक्तिले धेरै काममा हात हाल्दछ तर सफलता कमै मिल्दछ ।

७. सहस्रार चक्र : ईश्वरीय क्षेत्र पनि भनिने यो चक्रलाई विज्ञानले पिनियल ग्लाण्ड नाम दिएको छ । हजारौँ स्नायुहरू यसमा भेट हुने हुँदा यसको नाम पनि सहस्रार भएको हुनुपर्दछ । यो चक्र सक्रिय हुँदा अन्य चक्रहरू पनि कुनै न कुनै स्केलमा सक्रिय रहन्छन् । खुसीको हर्मोन उत्पन्न गर्ने भनेर पनि चिनिने यो चक्रकै माध्यमबाट आनन्ददायक सोमरस उत्पन्न हुन्छ ।

उल्लेखित सात वटा चक्रहरूलाई सक्रिय बनाउने विधिका सम्बन्धमा ऋषिमुनीहरुले अनुभवसिद्ध ज्ञान बताएका छन् । तथापि सही प्रयोग नगरेसम्म चक्रहरू सक्रिय हुन तथा ऊर्जाको पूर्ण प्रयोग गर्न सम्भव छैन । जीवन विज्ञान केन्द्रबाट सञ्चालन हुने ७ दिने चक्र विज्ञान कार्यक्रमले यही विषयलाई केन्द्रित गरेको छ । भनिएको छ कि आफ्नो जीवनलाई बुझ्नु नै जीवन विज्ञानको सार हो । जीवन सार्थक हुनका लागि खानपान र मनोरञ्जन पर्याप्त छैन । आत्मा र परमात्मा तत्त्वको बोध पनि आवश्यक छ । बहिर्मुखीभन्दा अन्तरमुखी भएर आफूदेखि आफूसम्मको यात्रा गर्न सक्ने स्वसंवाद गर्न सक्ने व्यक्तिले मात्र सुख, खुसी, शान्ति र समृद्धिप्राप्त गरी आनन्दको बाटोमा पुग्दछ । भौतिक प्राप्ति र सुख सयलले क्षणिक खुसी देला तर दिगो रहन सक्दैन । पैसाले सुविधा दिन्छ तर आनन्द दिन्छ भन्ने छैन । खासमा प्रेमपूर्ण सम्बन्धले आनन्द दिन्छ ।

सबैका आआफ्ना बुझाई हुन्छन् अनि मार्ग पनि। मन्दिर र भट्टी जाने दुवैको उद्देश्य त खुसी हुनु हो माध्यम मात्र फरक छ । ती माध्यममध्ये कुन खुसी वा आनन्द दिगो हुन्छ भन्ने प्रयोग कर्ताले विवेक पुर्‍याउने विषय हो । कोही व्यक्ति मन्दिर पनि जान्छ अनि दुःखमा परेको व्यक्तिलाई मानवीय सहयोग गर्न तम्तयार हुन्छ भने सो कार्यबाट प्राप्त हुने खुसी दिगो र आनन्ददायक हुन्छ । अठार पुराणको रचना पश्चात रचनाकारले दुई वचनमा शास्त्रहरूको सार भनेका छन् परोपकार गर्नु पुण्य हो अरूलाई पीडा हुने काम गर्नु पाप हो । हामीले कमसेकम यो कुरा चाहिँ मनन गर्नै पर्दछ ।

हामीले काम गरिरहँदा वा समाजमा व्यवहार गरिरहँदा हामी मरणशील छौँ अनित्य छैनौ भन्ने राम्रोसँग बुझ्नु जरुरी छ । लास जलाउँदै गरेको घाटमा मान्छे जति गंभिर हुन्छ अरुबेला हुँदैन ।जलाएको लासको सङ्ख्याको आधारमा पारिश्रमिक पाउने व्यक्तिले लास आएन भने चिन्तित हुनुपर्ने र भोकै बस्नुपर्ने पनि छ ।जुन स्थान वा देशका भए पनि हामी मर्ने विषयसँग भयभीत हुन्छौँ नै । तर यो विषयलाई मरेर जाने चोलामा अरूको अहित नगरौँ पाप कर्म नगरौँ र बाचुन्जेल आफ्नो शरीर, मन र आत्मालाई सक्रिय राखौँ भन्ने नै जीवन विज्ञान मार्गको सार हो ।

समय बितिरहेको छ कहिले त्यही दिनमा प्राप्ति भएको र कुनै दिन गुमेको वा खाली अर्थात् उपलब्धिविहीन रहेको महसुस हुन्छ । युटुवमा जीवन विज्ञानकै एउटा गीत सुन्न मिल्ने गरी उपलब्ध छ“ समयको प्रवाहमा केही पायो केही छुट्यो, जीवनको एउटा दिन आज पनि बित्यो” । भनिएको छ कि शरीरलाई अलि बढी र मनलाई अलि कम चलाउनुपर्दछ । मनलाई स्थिर वा शान्त बनाउनका लागि पनि शारीरिक व्यायाम, प्राणायामको अभ्यास आवश्यक छ । सूर्य नमस्कारका विभिन्न मुद्राको अभ्यास गर्दा सौर्य ऊर्जा प्राप्त हुने विश्वास रहेको छ ।

मन वा विचारलाई शान्त गराउँदा प्राप्त हुने ऊर्जा अथाह हुन्छ । जस्तो कि सागर वा समुद्रले सबै विकार लिन्छ तथापि सागरबाटै वाष्पीकरण भएर बनेको बादल बर्सिँदा वातावरण कति कञ्चन हुन पुग्छ । त्यस्तै आकाश देख्दा शून्य छ तर केही चिज पूर्ण छ भने त्यो पनि आकाश नै हो भनिन्छ । श्वासप्रश्वासको अभ्यासमा पनि हामीहरू आकाशसँग जोडिन्छौँ । प्राणायामको अभ्यासले फोक्सो र मुटु लगायतका भित्री अङ्ग बलियो हुन्छन् । त्यस्तै हामीहरूले दुई हात जोडेर नमस्कार गर्दा पनि पञ्चतत्वरुपी औँलाहरूका टुप्पाहरू (कान्छी औँला : जल, साइँली औँला : पृथ्वी, माइली औँला: आकाश, चोर औँला : वायु र बुढी औँला : अग्नि )आपसमा जोडिन्छन् ऊर्जाको योग हुन्छ । गरेर हेरौँ साइँली, चोर र बुढी औँला मात्र जोड्दा पनि ताप बढेर जान्छ । दुवै हात जोडेर गरिएको नमस्कारको पोजमा रहेका दुवै हातको भाग छातीको नजिक पुग्दा ऊर्जा प्रवाह हुन्छ र चक्रहरू सक्रिय हुन पुग्दछन् ।

टुङ्गो कुरा

जीवनलाई अर्थपूर्ण बनाउने जिम्मेवारी हामी आफ्नै हो । शरीर, मन, आत्मालाई सक्रिय तुल्याउनका लागि दैनिक जीवनका क्रियाकलाप, भोजन, आराम, ध्यान, असल सम्बन्ध र सत्सङ्ग आवश्यक छ । आफूलाई चिन्नु र सन्तुलनमा राख्नु आवश्यक छ ताकि गरिएका कामहरू होसपूर्वक र सन्तुलनपूर्वक सम्पादन हुन सकुन् । मुख्य कुरा त सम्पत्ति, सम्बन्ध र स्वास्थ्यलाई उपयुक्त स्थानमा राख्दै अगाडि बढ्नुपर्दछ । हाम्रो शरीरमा रहेका ऊर्जाकेन्द्रहरुलाई सक्रिय राख्ने कलाको विकास गर्नुपर्दछ ।

समय मिलेमा जीवन विज्ञान केन्द्रमा सशरिर पुगेर वा जुम सेसनमा जोडिएर पनि सिकाई अभ्यास सम्भव हुन्छ । सारमा भन्नुपर्दा जीवन सुन्दर छ मात्र यसलाई हेर्ने दृष्टिकोण तथा हाम्रो दैनन्दिनको व्यवहार सकारात्मक हुन जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस