बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालमा


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आएका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिन नेपाल आएका हुन् ।

साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा र नेपाल पर्यटन बोर्डका अधिकारीहरूले स्वागत गरेका छन् ।

यसअघि बीबीसी मास्टर सेफ २०२० मा उपविजेता बनेका साहसहितको टोली बिहीबार दिउँसो २ बजे काठमाडौं अवतरण गरेको हो । पाटाको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा साहसहितको टोलीलाई नेपाल बोलाइएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए ।

दुई साता नेपाल रहँदा आफूहरूले नेपालका विभिन्न पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम रहेको साहले जानकारी दिए ।

सेफको टोली चैत २७ गते जनकपुरधाममा हुन लागेको ‘मिथिला कुजिन एन्ड रेसिपिज’ अन्तर्गत हुने पाककला प्रतियोगिताको निर्णायक बस्ने कार्यतालिका छ ।

उनीहरू शुक्रबार काठमाडौँबाट पोखरा जानेछन् भने १८ अप्रिलमा बेलायत फर्किने कार्यतालिका छ । उनले मास्टर सेफ द प्रोफेसनल्स रिम्याच २०२१ का अन्य प्रतिस्पर्धीलाई नेपालका विभिन्न क्षेत्रमा पाइने रैथाने खानाको स्वाद दिलाउन नेपाल ल्याउन लागिएको बताए ।

नेपालमा रहँदा उनीसहितको टोलीले बन्जी जम्प, प्याराग्लाइडिङ, स्थानीय थारु भान्सेसँग भेट्ने, डल्ला होमस्टे जस्ता कार्यतालिका राखेका छन् । सेफहरूले डल्ला होमस्टेमा थारु कुकहरूसँग मिलेर थारु खाना पनि बनाउने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस