स्थानीय तह निर्वाचन : निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तह निर्वाचन : निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन आचारसंहितामा प्रतिबद्धतास्वरुप हस्ताक्षर गरेको छैन ।

आज (मंगलबार) आयोगले स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका ७९ दलहरूलाई निर्वाचन आचारसंहितामा प्रतिबद्धताका लागि बोलाएको थियो ।

बैठकको वातावरण स्वस्थ नभएको भन्दै एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरिएका हुन् ।

एमालेका तर्फबाट आयोगले बोलाएको बैठकमा एमाले कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य सहभागी थिए ।

निर्वाचन विभाग उपप्रमुख आचार्यले बैठकमा साना दल र निर्वाचन आयोगका पदाधिकारीबीच अस्वस्थ बहस भएकाले आफूहरू बाहिरिएको बताए । ‘बैठकमा परिस्थिति ठिक भएन । साना दलहरूको अस्वस्थ भनाभन नाराबाजी भयो । हाम्रा पनि केही कुरा थिए ती कुरा राखेर पछि गरौँला भनेर हिँडेका हौँ, उनले भने, आचारसंहिताजस्तो विषयमा आफ्ना कुरा पनि राख्ने भन्ने हाम्रो कुरा थियो ।’

निर्वाचन आचारसंहितामा एमाले प्रतिबद्ध भएको तर केही कुरा राख्नुपर्ने पनि रहेकाले होहल्लाबिच हस्ताक्षर नगरिएको आचार्यको भनाइ थियो ।

बैठक हलमा त्यस्तो वातावरण बनेपछि आफ्ना कुरा राख्ने उचित प्रबन्ध नभएको भन्दै आफूहरू बाहिरिएको आचार्यले बताए । आजको परिस्थिति त्यस्तो भएको हुनाले सहज वातावरणमा जाउँला भनेर बाहिरिएका हौँ, उनले भने ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय निर्वाचन आयोगको आलोचना गर्दै आएका छन् ।

सम्बन्धित समाचार : निर्वाचन आयोग बैठक : छलफल नै नगरी प्रतिबद्धता मात्रै खोजेपछि प्रतिनिधिले जनाए आपत्ति

सम्बन्धित समाचार : स्थानीय तह निर्वाचन :आचारसंहिता कार्यान्वयनका लागि आयोगले लियो दलहरूको प्रतिबद्धता

Tags :
प्रतिक्रिया दिनुहोस