मनसुनमा विपद् र उपाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनसुनमा विपद् र उपाय


३० जेष्ठ २०७८, आइतबार


यस वर्षको मनसुन गत शुक्रवारदेखि सुरु भएको छ । अघिल्लो वर्षको मनसुन सुरुवाती दिनमा पर्वत जिल्लाको कुश्मामा पहिरो ले ९ जनाको ज्यान तथा करोडौँको क्षति गरे लगत्तै सुरु भई, सो वर्षको अवधिभर कूल ३०१ जनाको ज्यान गएको थियो । यो सँगसँगै जलवायुजन्य प्रकोप र जोखिम पनि बढेको छ ।

हुन त सारा संसार कोभिड-१९ नामक महामारीबाट प्रताडित छ । विश्व समुदाय केबल यही महामारीसँग जुध्ने क्रममा सामाजिक, आर्थिक तथा सम्पूर्ण क्षेत्र ठप्प प्रायः छ । महामारीको सङ्क्रमण दिनदिनै बढ्दै गएको अवस्थामा हामीकहाँ आउने नियमित मनसुन पनि अर्को विपत्ति को कारक बन्न सक्ने देखिएको छ ।

२०७८ सालको मनसुनमा औसतभन्दा धेरै वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ । औसत अवस्थामा आउने मौसम पनि व्यवस्थापनको उचित प्रबन्ध नगरेको अवस्थामा विविध प्रकारका जलवायुजन्य विपद्को कारण जन र धनको क्षति हुने गरेको छ । झन् औसतभन्दा धेरै वर्षासहित आउने मनसुनको क्षति पक्कै पनि अधिक हुने गर्दछ ।

सामान्यतया मनसुन १० जुनबाट सुरु भई अक्टोबर १० सम्म अर्थात् १२० दिन नेपालमा रहने गर्दछ । बङ्गालको खाडीबाट आउने मनसुनी वर्षाले यो १२० दिन याने कि चार महिना अवधिमा बाढी, पहिरो, उच्च वर्षाका थुप्रै घटनाहरू घटाउँछ । औसतमा मनसुनको अवधि मा ५००० भन्दा बढी घरहरूमा २ अरब भन्दा बढी भौतिक क्षति हुने तथ्याङ्क छ ।

बङ्गालको खाडीबाट पानी बोकेको बादल नेपाल पसेर वर्षा पर्ने समय वा प्रक्रिया मनसुन हो । मनसुनको कारण चाहिँ समुन्द्र माथिको ताप सञ्चय गर्ने क्षमता र जमिनमाथिको वायुमण्डलमा ताप सञ्चय गर्ने क्षमतामा हुने फरकको हो ।

जमिन माथिको वायुमण्डलमा छोटो समयमा नै तापक्रम बढ्छ । तथापि यो क्रम समुन्द्र माथिको वायुमण्डलमा चाहिँ बिस्तारै हुने गर्दछ । समुन्द्र सतहसँग जोडिएको जमिनको वायुमण्डलको ताप र सामुन्द्रिक वायुमण्डलीय तापक्रममा आएको फरक पनले सिर्जना हुने प्रणालीले तेज गतिको हावाको विकास गर्दछ । एसियन मनसुनको जटिल प्रणालीलाई क्षेत्र अनुसार अरेबीयन सामुन्द्रिक प्रणाली तथा बङ्गालको खाडी मनसुन प्रणाली गरी दुई प्रकारमा विभक्त गरिन्छ । नेपालको मनसुन प्रणाली चाहिँ बङ्गालको खाडी प्रणाली अन्तर्गत सिर्जना भई फैलिने गर्दछ ।

मनसुन हावापानीजन्य पृथ्वी प्रणालीको नियमित प्रक्रिया हो । हरेक ऋतु र वर्षमा मनसुनको प्रक्रिया रहन्छ । विगतको तथ्याङ्क, हालको वायुमण्डलीय स्थिति र तिनीहरूको सैद्धान्तिक आधारको बृहत्तर विश्लेषणले भविष्यको हावापानी जन्य प्रक्रियालाई जनाउन सकिन्छ ।

पछिल्लो समयमा जलवायु परिवर्तनको कारण मौसम र जलवायुजन्य प्रक्रिया भविष्यवाणी झनै कठिन र जटिल बन्दै गएको छ । नियमित र औसत जलवायुजन्य प्रक्रियाहरूको भविष्यवाणी कठिन र अविश्वासी भएको कारण पनि जलवायुजन्य जोखिम र विपद्को बारम्बारतामा वृद्धि हुँदै गएका छ ।

जलवायुजन्य विपद्
नियमितरुपमा प्रकृतिमा हुने गरेका जलवायुजन्य क्रियाकलापहरूले मानवीय सहजतालाई बिगार्ने दैनिक तथा मानवीय क्रियाकलापहरू त्यही असर पु¥याउने वा मानवीय क्षति गर्ने प्रक्रिया जलवायुजन्य विपद् हुन् । जलवायुजन्य प्रणाली नियमित भए पनि अरू सँगसँगैका अवयवहरूको कारण जलवायुजन्य जोखिम र त्यसबाट सृजित विपद् बढ्दै गएको छ ।

नेपालको सन्दर्भमा पनि जलवायु प्रक्रिया आफैमा जटिल छ । पृथ्वीको सम्पूर्ण जलवायुजन्य प्रक्रियामा बङ्गालको खाडीबाट सिर्जना हुने मनसुन तथा नियन्त्रण हुने जलवायु प्रणाली जटिल प्रकृतिको हुन्छ । नेपालको जलवायु पनि बङ्गालको खाडीद्वारा नियन्त्रित मौसमी प्रणालीभित्र रहन्छ । यो जटिल जलवायु जन्य प्रणाली नेपालमा हुने जलवायुजन्य विपद्को प्रमुख कारक हो ।

नेपालको भूगर्भ तथा भूगोललाई हिमालयको उत्पत्ति विकासक्रम र स्थितिसँग हेर्नुपर्दछ । नेपाल हिमालय क्षेत्र भित्र पर्ने जटिल भू—गोल तथा भूगर्भ भएको स्थान हो । यहाँको भू—गर्भलाई कलिलो जोखिमयुक्त संवेदनशील र विकासक्रममा रहेको छ भन्ने गरिन्छ । भू—गर्भ र भू—गभोलसँग सम्बन्धित आफ्नै विकासक्रममा जब जलवायुजन्य क्रियाकलापले असर गर्न थाल्छ त्यसले विपद्लाई बढाउँछ । यो प्रक्रिया पनि पृथ्वीको भू—गर्भीक प्रक्रियाको नियमित क्रियाकलाप हो । यो प्रक्रिया नितान्त प्राकृतिक प्रक्रिया हो तर मानवजन्य क्रियाकलापहरूले यसलाई बढाउने र घटाउने चाहिँ अवश्य गर्दछ ।

जलवायुजन्य विपद्को अर्को महत्त्वपूर्ण कारक चाहिँ बिना योजना विकास भएको बस्ती, पूर्वाधार विकास र मानवीय क्रियाकलापहरू हुन् । प्राकृतिक र भौगोलिकरुपमा जोखिमयुक्त स्थानहरूमा मानवीय क्रियाकलापहरूको विकास गर्दा आउन सक्ने, पर्न सक्ने जोखिमहरूको राम्रो विश्लेषण गर्नुपर्छ । नेपालको भू—गोल भित्र ६,००० भन्दा बढी खोला, नदीहरू छन् । हिमालय क्षेत्रबाट उत्पत्ति भएका महाभारत क्षेत्रबाट उत्पत्ति हुने र मनसुन र वर्षाको समयमा आउने भलयुक्त खोला गरी तीन प्रकारका नदी तथा खोला भनी विभाजन गरिएको छ । मानिसको आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने गरी नदी किनारामा बसाइएका बस्ती उच्चतम भिरालो क्षेत्रमा बसाइएका बस्ती र भौगोलिकरुपमा उच्च जोखिम क्षेत्रमा बसेको बस्ती नै मनसुन र वर्षाको समयमा उच्च जोखिममा पर्दछन् । मूलरुपमा जलवायुजन्य विपद्को कारण यी र यस्तो हुन तथापि यो र यस्ता जोखिमलाई व्यस्थीत गर्न, घटाउन मानवीय विकासमा जोखिम विपद्लाई व्यवस्थापन गर्न विशेष विपद् व्यवस्थापन संयन्त्र, र प्रणालीलाई अवलम्बन गर्नुपर्दछ ।

जलवायुजन्य जोखिम के के हुन् ?
नेपालमा मनसुनको समय भन्नाले हरेक वर्षको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनालाई बुझाउँछ । यो चार महिनामा औषतरुपमा वार्षिक वर्षाको ८० प्रतिशत वा सो भन्दा बढी हुने गर्दछ । जलवायुजन्य जोखिम भन्नाले मूलतः यही समयमा हुन सक्ने र जलवायु प्रक्रियाले गर्दा प्रत्यक्ष वा परोक्षरुपमा प्रभावित गर्न सक्ने विपद् वा जोखिम नै हुन् । मानवीय तथा अन्य क्षति र क्षतिको बारम्बारतालाई मूल्याङ्कन गर्दा जलवायुजन्य जोखिमहरू पहिरो, बाढी, अत्यधिक वर्षा, अति कम वर्षा, चट्याङ्ग, भू—क्षय इत्यादि हुन् ।

भू—क्षय तथा पहिरो
भौगालिकरुपमा भिरालोपना भएको क्षेत्रमा अत्यधिक वर्षा भएको खण्डमा माटोमा पर्ने चाप र तौलको कारण माटो ढुङ्गाको भाग छुट्टिएर जाने प्रक्रिया पहिरो हो । सामान्यतया मनसुन र वर्षाको समयमा भू—क्षय र पहिरो भौगोलिक क्रियाकलापको रूपमा नियमित प्रक्रियाहरू हुन् । तर जब पहिरोले मानवीय क्रियाकलापहरू भएको स्थानमा असर पू¥याउँछ यो विपद् हो । नेपालको मनसुन तथा वर्षाको समयमा भू—क्षय र पहिरोको कारण हुने मानवीय क्षति र अन्य क्षति सर्वाधिक हुने गरेको छ । गृह मन्त्रालय श्रोतको अनुसार वार्षिकरुपमा १०० भन्दा बढीको मृत्यु हुने गरेको छ । यो मानवीय क्षति बाहेक अन्य क्षतिको तथ्याङ्क चाही अत्यधिक छ ।

बाढी
पहाडी क्षेत्र पहिरो र भू—क्षयको चपेटामा परे जस्तै तराईको समथर भू—भाग प्रायः बाढीको चपेटामा पर्दछ । बाढी र बाढीजन्य मानवीय क्षति पनि एक सय वा त्यो भन्दा बढी वार्षीकरुपमा देखिन्छ । समथर भू—भाग वर्षेनी बाढीबाट ग्रस्त हुने गरेको छन् । अन्याधिक वर्षा तथा अव्यवस्थित बसोबास तथा ढल र पानीको उचित निकास नभएको अवस्थामा यस्तो बाढी र बाढीजन्य क्षति अत्यधिक रहन्छ । नेपालको १५% भू—भाग, तराईको समथर भू—भाग र ६८% भू—भाग पहाडी क्षेत्र भएको हुनाले वार्षिकरुपमा हुने मानवीय तथा अन्य क्षति पहाडी क्षेत्रमा हुने पहिरो र भूक्षयबाट बढी हुने गरेको छ ।

जलवायुजन्य पहिरो बाढी र भू—क्षयको प्रमुख कारक अत्यधिक वर्षाको कारण हुने गर्दछ । २४ घण्टामा पर्ने पानीको मापन गरी यसको पूर्वानुमान गरिन्छ । यस बाहेक बाढीको कारण हिमताल तथा तालहरु फुट्नाले आउने बाढीहरू पनि मानवीय तथा अन्य क्षति हुने गरेका छन् । हिमताल तथा तालजन्य अन्य विष्फोट बढ्दो बारम्बारतामा छ । यसको मूल कारण चाही जलवायु परिवर्तन र त्यसबाट सृजित अन्य असरहरू हुन् ।

यसबाहेक जलवायुजन्य अर्को विपद् चाही अनावृष्टि हो । अनावृष्टिको कारण मानवीय कम कृषिजन्य तथा अन्य क्षति चाही थोरै हुने गर्दछ । पूर्ववत् इतिहासले चाहिँ अनावृष्टिको कारण मनसुनमा भर पर्ने गरेको खेती प्रणाली र कृषि उत्पादनलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । मनसुनजन्य विपद्को प्रत्यक्ष वा परोक्षरुपमा अन्य विपदहरु पर्दछन् ।
सन् २०१९ मा नेपालमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका मध्ये ८९ जनाको मृत्यु चट्याङको कारण भएको थियो ।

चट्याङबाट नियमितरुपमा औसत हरेक वर्ष १०० जनाको मृत्यु भएको पाइन्छ । चट्याङ नेपालको प्राकृतिक विपत्तिकोरुपमा महत्त्वपूर्ण क्षतिको कारक बनेको छ । वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । वायुमण्डलमा नियमितरुपमा हुने यस्तो विद्युतीय प्रवाह तब मात्र क्षतिको कारण बन्छ जब यो जमिनसम्म आइपुग्छ । वायुमण्डलमा उत्सर्जित भएको विद्युतीय प्रवाह जमिन वा बस्तीसम्म आएपछि त्यसको कारणले नै क्षति पु¥याउँछ ।

मनसुनजन्य विपदबाट बच्ने उपाय 
करिब ४ महिना चल्ने मनसुनमा ८० प्रतिशत भन्दा बढी पानी पर्ने र भौगोलिक भौगर्भीकरुपमा कच्चा र जलवायु परिवर्तनको जोखिमको हिसाबमा विश्वकै चौथो खतरापूर्ण छ । विपद्लाई न्यूनीकरण गर्नको लागि पहिलो प्राथमिकता चाहिँ व्यवस्थित र सुरक्षित बसोबास हो । बस्ती विकासलाई योजनाबद्ध गरी खतराजन्यक्षेत्र पहिचान गर्नु पर्दछ ।

पहिचान गरिएको खतराजन्य क्षेत्रमा कानूनीरुपमा नै बस्ती र मानवीय क्रियाकलापहरूलाई पूर्णरुपमा बन्देज गर्नुपर्छ । सुरक्षित र व्यवस्थित बस्ती विकास योजनाले प्राविधिक भौगोलिक भौगर्भिक वातावरणीयरुपमा योग्य स्थानको खोजी गर्नु पर्दछ । पहिचान गरिएको स्थानलाई वैज्ञानीकरुपमा विकास गर्ने योजना ल्याउनु पर्दछ । भनेको, सुनेको वा राम्रो हुन्छ भन्ने जस्ता प्रक्रियाले सुरक्षित बस्ती विकास हुन सक्दैनन् । कानूनीरुपमा बलियो प्रणालीको विकास गर्नु पर्दछ ।

जसले सरकारी संयन्त्रले परिभाषित गरेको क्षेत्रमा मात्रै बस्ती र मानवीय क्रियाकलापहरूलाई विकास गर्न सकोस् । त्यस कारण मात्र बस्तीलाई व्यवस्थित बनाउन सम्भव रहन्छ । अन्यथा वा सामान्य तरिका वा सुझावले बस्तीलाई व्यवस्थित र सुरक्षित विकास गर्न सकिँदैन ।

यो बस्ती विकासमा सुरक्षित र व्यवस्थितको अवधारण सहजरुपमा पहिचान गर्न सकिन्छ । विपद्को लागि सम्भावित क्षेत्र पहिचान गरी खतराजन्य क्षेत्रको नक्साङ्कन गर्ने र सो नक्सालाई सर्वसाधारणसम्म सहज तरिकाले उपलब्ध गराउने व्यवस्था गरी सुरक्षित बस्ती विकासको लागि प्राथमिकीकरण गर्ने व्यवस्थापन गराउन सक्नुपर्दछ ।

हरेक व्यक्ति जलवायुजन्य विपद् र यसबाट हुने क्षतिबाट बच्ने उपायहरूबाट सुसूचित हुनुपर्दछ । आफ्नो वासस्थान र कार्य गर्ने थलो कस्तो स्थानमा छ र त्यसको विपद् जोखिम कति छ भनी पहिचान गरी विपद्को पूर्व तयारी गर्नुपर्ने हुन्छ । जलवायुजन्य विपद्लाई घटाउने तथा हटाउने उपाय चाहिँ पूर्व सूचना प्रणालीको विकास हो । मौसमी प्यारामिटरहरुको उचित नाप गरी तथ्याङ्क सङ्कलन गर्ने तथा त्यसको पूर्व अनुमान गरी सुसूचित भएर त्यसबाट जोगिने पद्धति नै हुनुपर्दछ । नेपालको परिप्रेक्षमा बाढी, पहिरो तथा उच्च वर्षाको कारण जनधनको क्षति नै धेरै छ त्यस कारण पनि नदी किनाराका तथा अन्य जोखिमपूर्ण स्थानका बासिन्दाहरू नै यो जोखिमबाट धेरै प्रभावित हुने गरेको पाइन्छ ।

नदीको नियमितरुपमा मापन गरी त्यसको जानकारी गराइ उपल्लो तटीय क्षेत्रमा मापन गरी तल्लो तटीय क्षेत्रमा पूर्व सूचना पुर्‍याएर धेरै जनधनको क्षतिलाई रोक्न सकिन्छ । यसै गरी मौसम पूर्वानुमानलाई चुस्त र दुरुस्त बनाइ भारी मात्रामा हुनसक्ने वर्षा तथा त्यसबाट सम्भावित पहिरो तथा बाढीबाट हुने क्षतिलाई पनि कम गर्न सकिन्छ । चट्याङलाई पनि नियमित अनुगमन गरी धेरै चट्याङ पर्न सक्ने स्थानमा सुरक्षित रहन सक्ने उपायहरू अवलम्बन गर्नु पर्दछ ।

त्यसको साथसाथै सामुदायिक तथा सबै क्षेत्रमा विपद् सम्बन्धी जानकारी र बच्ने तरिकाहरूलाई यथासम्भव सचेतना जानकारी हुनुपर्दछ । यस कारण पनि जलवायुजन्य विपद्को अवस्था दिनानुदिन बढ्दो क्रममा छ । यसलाई घटाउने र हटाउने कार्यलाई महत्त्वका साथ राज्य तथा हरेक नागरिक सचेत हुनु जरुरी छ । मनसुनको समय चल्दै छ त्यस कारण पनि यी र यस्ता विपद् व्यवस्थापनका कार्यहरू अत्यावश्यक छन् ।

(पोखरेल वातावरणविद् हुन् । )

Tags :
प्रतिक्रिया दिनुहोस