अर्थविद् डा. थापाका निधनमा नेता एवम् बुद्धिजीवीद्वारा दुःख व्यक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थविद् डा. थापाका निधनमा नेता एवम् बुद्धिजीवीद्वारा दुःख व्यक्त


१८ जेष्ठ २०७८, मंगलबार


पोखरा । अर्थविद् एवं नेकपा (एमाले) अर्थ विभागका सचिव डा. गोविन्दबहादुर थापाको निधनप्रति नेता एवं बुद्धिजीवीले दुख व्यक्त गरेका छन् ।

थापाको निमोनिया र फोक्सोको इन्फेक्सनका कारण आज बिहान गंगालाल हृदयरोग केन्द्र, काठमाडौँमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार कोरोना संक्रमण देखिएपछि एक महिनाअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । तीन साताअघि कोरोनामुक्त भएका थापालाई निमोनिया र फोक्सोको इन्फेसन भएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

थापाको निधनप्रति गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ । ‘यो घटनाले अवाक्, स्तब्ध र मर्माहत छु, नेपालको एउटा बौद्धिक व्यक्तित्वको अवसानले अपूरणीय क्षति पुगेको छ । तपाईँको अभाव सदैव खड्किरहनेछ । स्व गोविन्द थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् शोकाकुल समस्त परिवाजनमा गहिरो समवेदना ।’, फेसबुकमा भनिएको छ ।

त्यसैगरी थापाको निधनप्रति पूर्वस्वास्थ तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले सामाजिक सञ्जालमार्फत देशले विद्वान् अर्थशास्त्री र आफूले असल मित्र गुमाएको जनाएका छन्।

बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणमा सँगसँगै काम गरेका मित्र गुमाउनुपर्दा दुःख लागेको बताए । ‘अर्थशास्त्रमा विशेषज्ञता हासिल गरेका र समाजवादी व्यवस्थाका पक्षधर बौद्धिक व्यत्तित्वको निधनले देशलाई नै अपूरणीय क्षति पु¥याएको छ’, रेग्मीले भने ।

परिवर्तनका लागि निकै अग्रसर सरकारी वित्त र योजनाविज्ञ थापाको विज्ञतालाई सरकारले राम्रोसँग प्रयोग गर्न नसकेको गुनासो उनले गरे । रेग्मीका अनुसार उनी पछिल्लो समय पार्टी एकताका पक्षमा थिए । पोखरा –८ नयाँबजारका स्थायी बासिन्दा र हाल काठमाडौंँको बसुन्धरामा बस्दै आभएका थापाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनी विसं २०५१ मा एमालेको नौमहिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार थिए । पछि एमाले अर्थ तथा योजना विभाग सचिव भएर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहिसक्नुभएका डा थापाले अर्थ मन्त्रालयमा पटकपटक गरी छ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस