प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्रीलाई पुनः शपथ गराउन माग गरिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासमा सुनुवाइ गर्ने भएका हुन् ।

वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट हालेका थिए ।

प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए ।

संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन रिटमा माग गरिएको छ। प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरेको रिटमा भनिएको छ ।

निवेदकहरुले दोस्रो पटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशङ्कर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ति पनि बदर गर्न माग गरेका छन् ।

रिटमा भनिएको छ, ‘मन्त्रीहरूको नियुक्ति संवैधानिक सर्वोच्चताको मूल्य विपरीत भएको धारा–१३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न आग्रह गरिएको छ, सङ्घीय संसद्को सदस्य नभएको व्यक्ति एक पटक मात्र मन्त्री हुन पाउने र ६ महिनाभित्र संसद् सदस्यता लिनुपर्ने संवैधानिक व्यवस्था छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस