नेपालमा महिला हिंसा न्यूनीकरणको सवाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा महिला हिंसा न्यूनीकरणको सवाल


१५ मंसिर २०७७, सोमबार


विषय प्रवेश
हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ। नेपालमा पनि हामीले “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका छौँ। दिवस मनाइरहँदा महिला हिंसाको घटनाहरूमा कमी आएको देखिँदैन।

नेपाल प्रहरीको तथ्याङ्क हेर्दा यो कोरोना महामारीको कारण भएको लकडाउनले घरेलु हिंसाको घटनाहरू दोब्बर वृद्धि भएको देखिन्छ। चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ। यही वर्ष बझाङमा सम्झना कामी र गत वर्ष कञ्चनपुरमा निर्मला पन्त माथि भएको घटना सम्झँदा नै कहाली लागेर आउँछ। यी र यस्तै घटनाहरूले महिला विरुद्ध हुने हिंसा बढिरहेको सन्दर्भमा हामीले दिवस मनाउने भन्दा पनि न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने प्रश्नमा ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ।

के हो महिला हिंसा ?
निजी र सार्वजनिक जीवनमा महिला माथि लक्षित गरी गरिने क्रियाकलाप वा कार्य जसले महिलालाई शारीरिक, मानसिक, यौनिक र मनोवैज्ञानिक रूपमा हानी गर्दछ, त्यसलाई नै महिला हिंसा भनेर बुझिन्छ।

महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ। जस अन्तर्गत बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह, जवरजस्तीकरणी, र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना पर्दछन्।

महिला हिंसा जुनसुकै जातजाति, समुदाय र वर्गहरू, गाउँ र शहर, तल्लो निकायदेखि माथिल्लो निकाय, सर्वहारादेखि सामन्ती र पुँजीपति वर्गसम्म जता ततै भएको पाइन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिला विरुद्धको हिंसा भन्नाले शारीरिक, मनोवैज्ञानिक, यौनजन्य र मानसिक हिंसा बुझिन्छ ।

त्यसै गरी महिला हिंसा के हो भन्ने सम्बन्धमा संयुक्त राष्ट्रसंघीय महासभाले महिला विरुद्धको हिंसा सम्बन्धी कुनै पनि कार्यको परिणाम अथवा यस्तै किसिमका परिणामहरू जुन शारीरिक, यौनिक अथवा मानसिकरूपमा महिलाहरूलाई शोषण गरिनुका साथै व्यक्तिगत तथा सार्वजनिकरूपमा महिलाहरू माथि चुनौतीपूर्ण अर्थात् स्वतन्त्रताबाट वञ्चित हुने किसिमका अनियमित तथा दबाबमूलक कार्य गरिन्छ भने त्यसलाई महिला हिंसाको रूपमा लिइन्छ भनी उल्लेख गरेको देखिन्छ।

नेपालको सन्दर्भमा महिला हिंसा भर्खरै मात्र प्रादुर्भाव भएको विकृति होइन । यो त पुस्तौँ पुस्तादेखि नेपाली समाजमा हस्तान्तरित हुँदै आएको नकारात्मक जड हो। फरक यति मात्रै देख्न सक्छौँ हामी । ताकि यसले विभिन्न समय कालखण्डमा आफ्नो रूप भने पक्कै परिवर्तन गर्दै आएको छ।

महिला हिंसालाई अझ स्पष्टीकरण दिने सन्दर्भमा सन् १९९३ को यूएन घोषणापत्रले लैङ्गिक हिंसा महिला र पुरुषबीचमा ऐतिहासिकरूपमै घोषणा गरिएको असमान शक्तिसम्बन्ध हो । जसले महिलालाई शशक्तीकृत हुनमा रोकावट पैदा गर्नुका साथै पुरुषद्वारा महिलामाथि गरिने भेदभावमा थप बल प्रदान गर्छ भने यसले एक सङ्कटयुक्त सामाजिक संयन्त्रको रूपमा तुलनात्मक तवरले महिलाहरूलाई बलजफ्ती पुरुष सहयोगीको स्थान दिइन्छ भनी महिला हिंसाको वृहत् परिभाषा दिएको छ।

तसर्थ महिला हिंसा अर्थात् लैङ्गिक हिंसा नेपाली समाजको एक निकृष्ट रूप हो । जसले २१ औँ शताब्दीको अत्याधुनिक प्रविधिगत र समतामूलक समाजमाथि नै प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ।

नेपालमा महिला हिंसाको वर्तमान स्थिति
समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्त्वले भूमिका निर्वाह गरिरहेका हुन्छन्। नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भइरहेका छन्। परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन।

देशमा धेरै ठुला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्‍याउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन। समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणकारूपमा देखिएका छन्।

पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ। महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भइरहेको छ। महिलामाथि हत्या, बलात्कार, यौन दुर्व्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने–गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भइरहेका छन्।

२०६८ सालको जनगणना अनुसार नेपालको ५१.५ प्रतिशत जनसङ्ख्याको हिस्सा महिलाहरूले ओगटेको पाइन्छ । आधाभन्दा बढी महिलाहरूको जनसङ्ख्या रहे पनि पितृसत्तात्मक सोचका कारण महिला हिंसा दिनानुदिन बढ्दै गएको छ । जसको प्रमाणकोरूपमा महान्यायाधिवक्ताको कार्यालय र प्रहरीको तथ्याङ्कलाई लिन सकिन्छ।

महान्यायाधिवक्ता र प्रहरीको तथ्यांकअनुसार दिनमा ६ महिला बलात्कृत हुन्छन्। जसमा बलात्कृत बालिकाको सङ्ख्या डरलाग्दो गरी बढिरहेको छ। आर्थिक वर्ष ०७०/७१ मा ५५९ बालिका बलात्कारको सिकार भएका थिए । गत वर्ष यो सङ्ख्या १,३९३ पुगेको छ। चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ ।

बालविवाह, बहुविवाह, घरेलु हिंसा र बोक्सीको आरोपमा यातना दिने क्रम घटेको देखिएन। नेपाल प्रहरीका अनुसार घरेलु हिंसाको विगत पाँच वर्षको विश्लेषण गर्दा आ. व. २०७१/७२ मा ८,२८६ रहेकोमा आ.व. २०७४/७५ मा आइपुग्दा १२,२२५ घटनाहरू घटेको देखियो । ग्लोबल लैङ्गिक ग्याप सूचकाङ्क २०१६ अनुसार लैङ्गिक समानतामा नेपाल १४४ राष्ट्र मध्ये ०.६६१ अङ्क सहित ११० नम्बरमा पर्दछ ।

नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मूलन गर्ने सम्बन्धी महासन्धी अनुमोदन गरेको छ। यद्यपि व्यवहार र प्रवृत्तिमा महिलाप्रति सकारात्मक दृष्टिकोण अझै विकास हुन सकेको छैन। महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई प्रोत्साहन गर्ने सुखद कानुनी व्यवस्था हुँदाहुँदै पनि सामाजिक संस्कार र संरचना एवं सङ्कीर्ण सोचाइका कारण गुणात्मक सुधारले फड्को मार्न सकेको छैन।

महिला हिंसा न्यूनीकरणका उपायहरू
नेपालको संविधानको प्रस्तावनामा नै लैङ्गिकताको विषय उठाएको, मौलिक हकहरू (समानताको हक, महिलाको हक, बालबालिकाको हक) को व्यवस्था गरिएको, घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६, मुलुकी अपराध संहितामा बलात्कारलाई गम्भीर अपराधको रूपमा परिभाषित गरिएको, नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मूलन गर्ने सम्बन्धी महासन्धि अनुमोदन गरेको, नेपाल संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का घोषणाहरू १३२५ र १८२० को कार्यान्वयनका लागि कार्य योजना बनाउने दक्षिण एसियाकै पहिलो राष्ट्र भएता पनि कार्यान्वयन पक्ष भने फितलो नै देखिन्छ। महिला ओसारपसार तथा मानव बेचबिखनका घटनाहरू नियन्त्रणमा आउन सकेका छैनन्।

बढ्दो बेरोजगारी र श्रमको उचित कदर नहुँदा मानिसहरू देश बाहिर रोजगारको खोजीमा जाने क्रम बढ्दो छ। जसमा महिला कामदारहरूको स्थिति त झन् हाम्रो आँकलन भन्दा सयौँ गुना भयाभह छ। जसको कारण महिला कामदारहरूको अवस्थिति अत्यन्त दयनीय प्रकृतिको देखिन्छ।यस सन्दर्भमा महिला हिंसा न्यूनीकरणका लागि निम्नानुसारका उपायहरू अवलम्बन गर्न उचित देखिन्छ ।
क) दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसा बलात्कारका घटनाले असुरक्षा, अशान्ति र दण्डहीनतालाई बढावा दिएकोमा यसको अन्त्यका लागि राज्य जिम्मेवार बनी मानव अधिकारको रक्षा गर्न अग्रसर हुन जरुरी छ ।
ख) पछिल्लो समय दैनिक औसत ६ जना महिलामाथि बलात्कार हुने गरेको तथ्याङ्कले देखाएको छ। तर दोषीलाई कारबाही भएको छैन। त्यसैले अपराधीलाई कानुनको दायरामा ल्याई मुलुकी अपराध संहिता २०७४ ले गरेको व्यवस्था अनुरूप सजाय दिलाएर पीडितलाई क्षतिपूर्तिको सुनिश्चितता गरिनुपर्छ ।
ग) तीन तहको सरकारले समाजमा यस्ता आपराधिक घटना हुन नदिन र जनताको जीवन रक्षाको जिम्मा लिनुपर्छ। तर यहाँ कतिपय जिल्लाका स्थानीय जनप्रतिनिधिको रोहबरमा बलात्कार घटना मिलापत्र गरेको देखिन्छ।
घ) बलात्कारपछि महिलाको हत्या गर्ने र प्रमाण नष्ट गर्ने प्रवृत्ति बढ्दो छ। पीडितको न्यायमा पहुँच छैन भने न्याय प्रणाली पनि छिटो छरितो छैन। भएका नीति नियमको कार्यान्वयन पक्ष कमजोर, अनुसन्धान पद्धति फितलो छ। समाजले पनि पीडितलाई हेयको दृष्टिकोणले हेर्ने, पीडक पक्ष चाहिँ अराजक रूपमा बारम्बार अपराध गर्दै छुटकारा पाउने प्रवृत्ति हाबी छ। त्यसैले आजको आवश्यकता द्रुत न्यायिक प्रणाली हो।
ङ) अहिलेसम्म रेप केसमा पीडितको प्रमाण नष्ट गर्ने, यथेष्ट प्रमाण जुटाउन नसकिएको देखिएको छ। जसले गर्दा दोषीलाई सजाय दिलाउन अप्ठ्यारो परेको देखिन्छ। त्यसैले अनुसन्धान प्रक्रियामा सुधार गरिनु जरुरी छ।
च) महिला आफूमा नै कसरी सुरक्षित रहने भन्ने चेतना जागृत भएन भने हत्या हिंसाको घटना भइरहन्छन्। त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ।
छ) महिला हिंसा न्यूनीकरण गर्न परिवार र समाजको उत्तिकै दायित्व हुन्छ। जबसम्म सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित हुँदैनन् तबसम्म यस्ता घटना न्यूनीकरण गर्न सम्भव छैन।
ज) महिला र पुरुष यहीँ समाजका उपज हुन्। यहीँ समाजबाट नै महिलामाथि हिंसा भइरहेको छ। यौन जघन्य अपराध हत्या, हिंसाका विरुद्ध पुरुषकै नेतृत्वमा जनचेतना अभियान सञ्चालन गर्न सकियो भने महिला हिंसालाई केही रूपमा न्यूनीकरण गर्न सकिन्छ ।

उपसंहार
कानुनी तथा नीतिगतरूपमा महिला अधिकारको प्रवर्द्धन सकारात्मक तवरले अगाडि बढेको देखिएता पनि व्यवहारिक रूपमा समाजमा अझै लैङ्गिक विभेद, महिला हिंसा लगायतका विभेदका स्वरूपहरू प्रज्वलनशील नै छन्। आर्थिकरूपमा महिलाहरूको पुरुष प्रतिको निर्भरता आज पनि व्यापक मात्रामा सुधार हुन सकेको छैन।

घरायसी कामलाई अनुत्पादनमूलक कामको रूपमा लिइनु, असामाजिक मूल्य मान्यता एवम् व्यवहारतः विभेद, दमन, शोषण, अन्याय, अत्याचार र बहिष्करण आदि जस्ता पक्षहरूको सिकार आज पनि नेपाली महिलाहरू हुँदै आएको देखिन्छ।

तसर्थ हामीले महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको सन्दर्भमा यसको न्यूनीकरणका लागि महिला प्रतिको हाम्रो व्यक्तिगतदेखि घरायसी दृष्टिकोण परिवर्तन गर्न तथा कानुन कार्यान्वयन गर्ने सन्दर्भमा सबैले हातेमालो गर्न आवश्यकता देखिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस