३ दिने एनआरएन विश्व विज्ञ सम्मेलन आजबाट सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३ दिने एनआरएन विश्व विज्ञ सम्मेलन आजबाट सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


प्रशासन संवाददाता

२३ आश्विन २०७७, शुक्रबार


काठमाडौँ। गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा ३ दिने दोस्रो विश्व विज्ञ सम्मेलन आज शुक्रबारबाट शुरु भएको छ।

भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनका संयोजक तथा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहितले सम्वोधन गर्ने भएका छन् ।

सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् । सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् ।

यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानका विषयमा कार्यपत्र प्रस्तुत हुने छन् । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाले प्राथमिकता दिएका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस