समकालीन कूटनीति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समकालीन कूटनीति


११ आश्विन २०७७, आइतबार


काठमाडौँ । बेलायती ज्ञान कोषका अनुसार “राज्य सञ्चालन गर्ने, राज्यहरुबीच सम्बन्धहरू कायम गर्ने कला कूटनीति हो ।” कलाविहीन कूटनीति छलकपट हो । त्यस्तै, अक्सफोर्ड अंग्रेजी शब्दकोशले समेत ‘वार्ताको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापन गर्नु कूटनीति हो’ भनेको छ । यो वास्तवमा मध्यस्थता कायम गर्ने, तदर्थ तथा पूर्ववृत्तबाट गति पैदा गराउने न्यायाधिकरणको कार्यभार हो ।

सार्वभौम तथा स्वतन्त्र राज्यहरूको अन्तर आवद्धता/सञ्जाल र अवसरहरूको आदान–प्रदान नै समग्रमा कूटनीतिक मामला हुन् । प्राज्ञिक ढङ्गले भन्नुपर्दा कूटनीति भनेको “क्षमता–प्रदर्शन” को असल अभ्यास हो । कूटनीतिमा मर्यादा र आचरण भन्ने विषय शृङ्खला बारम्बार जेलिएर आउने व्यक्तित्व–कृति हो । उत्तम मार्गमा हिँडाउन समय, परिस्थिति–विशेष र सामाजिक समूहहरूको सह–अस्तित्वलाई तालमेलपूर्ण व्यवहारमा एकीभूत गर्दै राजकीय कौशलता अन्तर्राष्ट्रिय जगतमा फैलाउनु निकै चुनौतीपूर्ण अवसरहरू हुन् । राष्ट्रका प्रतिनिधित्व गर्ने कूटनीतिज्ञ वा राजदूतहरूमा नतिजामुखी गतिशीलता अनिवार्य सर्त हो ।

अमेरिकी कूटनीति :


विश्व विख्यात अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले सोभियत कम्युनिजम भत्काउन विश्वसनीय (ब्याक) माध्यम मार्फत भगीरथ प्रयत्न गरेँ । उनी सफल कूटनीतिज्ञ मानिन्छन् । कूटनीतिमा कुटिलता र जटिलता पार गर्ने दृढताको अर्जुनदृष्टि हुनुपर्छ । अमेरिकाले विगत भुलेको देखिन्छ । अमेरिकी गोलार्द्धमा कोभिड–१९ को महाविपत्ति/महामारीसँगै गहिरो कूटनीतिक विश्व सङ्कटले फनक्कै पासा पल्टिएको छ । द्वितीय विश्वयुद्धपछि एकछत्र विश्वको प्रजातान्त्रिक ध्रुवको नेतृत्व गरिरहेको प्रथम अमेरिकामा आजभोलि सूर्य ग्रहण नै लागेको छ । विश्वमा कोभिड–१९ को महामारी बीचमा २ अरब जनता चरम गरिबीको उत्कर्षमा धकेलिएका छन् । आधा जनसङ्ख्याको हिस्सा बराबरको अफ्रिकी नागरिकहरू बेरोजगार भएका छन् । अमेरिकामा मात्र ३८ लाख भन्दा बढी प्रत्यक्ष बेरोजगार भएको राष्ट्रसंघीय नियोगको सन् २०२० का प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।

भनिन्छ, क्यानडा, मेक्सिकोदेखि इन्डिया र युरोपभर अमेरिकी लगानीमा गम्भीर धक्का भएको छ । आईएमएफले सन् २००८ को महामन्दी भन्दा खतरनाक ढङ्गले अर्थतन्त्र ओरालो लागेको प्रक्षेपण गरेको छ र सन् २०२१ सम्ममा विश्वव्यापी रूपमा ३% आर्थिक स्तर गिरावट आउने अनुमान गरिएको छ । जर्मनी र जापानको समग्र अर्थतन्त्र बराबरको अर्थात् ९ ट्रिलियन डलर सञ्चित नोक्सानी भइसकेको महामारी कै अवधिमा अनुमान गरिएको छ । इयु ७.४% आर्थिक मन्दीमा परेको तथ्याङ्कले देखाएको छ । महाशक्ति अमेरिकामा शीतयुद्ध पछाडिकै सामरिक, सैन्य एवं आर्थिक कूटनीतिमा ठूलो क्षति पुगेको छ ।

अमेरिकी नेतृत्वमा क्रान्तिकारी सङ्कट उत्पन्न भएको छ । डोनाल्ड ट्रम्पको रिसाहा, उक्साहटपूर्ण/उन्मादीपूर्ण कूटनीतिले अमेरिकाको स्वर्णिम इतिहास मजाकमा बदलिएको छ । यसको पुष्टि राष्ट्रसंघको भूमिकामा गरिएको शङ्का, उत्तर कोरिया माथिको निरन्तरको कडा नाकाबन्दी र अघोषित चीन घेर्ने रणनीति/चीनमाथि दोषारोपण गरिएको प्रविधिले सिर्जित विकास र उन्नति माथि अमेरिकी धावा र सेबोटेज दुवै दसी प्रमाण हुन् । त्यस्तै मुस्लिम संसारमाथि दन्किरहेको विद्रोहको मुस्लोलाई अमेरिकाले अझ हिंस्रक र युद्धकारी बनाउँदै लगेको छ । अमेरिकी मिलिटरी शक्ति र आर्थिक समृद्धिलाई नजर अन्दाज गर्दै लम्किरहेको उर्लँदो/चम्किलो चीन, आक्रोशित र प्रतिस्पर्धी भव्य रुस, न्यूक्लीयरको राजा उत्तर कोरिया, महत्त्वाकाङ्क्षी इरान, अमेरिकी कूटनीति इतिहासमा पल्लाभारी साबित भइसकेको छ । अमेरिकी ताज खोसिने अवस्थामा पुगेको छ । ट्रम्पलाई चौतर्फीरूपमा आलोचना गर्न थालिएको छ । ट्रम्प अगाडी बढ्नासाथ विश्वभर अशान्ति फैलिने खतरा उत्पन्न भएको छ ।

चीन लगायत अन्य कूटनीति शक्तिहरू


चीन सकारात्मक कूटनीतिक सम्बन्ध निर्माण गर्न हरपल आदर्शचरित छ । चीन विश्व सामु शान्त देखिन्छ । चीनले अर्थतन्त्र र प्रविधि क्रान्तिमा अभूतपूर्व विकास गरेको छ । महान् दार्शनिक तथा चीनका आधुनिक पिता माओ पछिका सबैभन्दा अब्बल राजनेता सीलाई समकालीन विश्वको साझा मञ्चमा उभिएका दुर्लभ नेतृत्व मानिन्छ । हजारौँ थिंक ट्यांकबाट हजारौँ मेघा प्राजेक्ट निर्माण गरी चीनले विश्वको गुरुत्वाकर्षणलाई बेइजिङतर्फ घुमाई दिएको छ । सोभियती समाजवाद कै हाराहारीमा चिनियाँ जनवादलाई अन्तिम निर्विकल्प शक्तिको रूपमा उभ्याएर विश्व–विजयको अन्तिम ढोका खोल्न चीन उत्सुक देखिन्छ । त्रिकोणात्मक शक्ति संघर्ष र धु्रवहरुलाई मित्रवत् ढंगले सञ्चालन गराउन सक्नु चीनको लागि लामो दुरीको एन्टी मिसाईल निर्माण गर्नुभन्दा पनि कठिन साबित हुन सक्छ । त्यसैले चीन सतर्क र सचेत दुवै छ । समाजवादी मुलुकहरूसँग गर्ने रणनीतिक तथा दूरगामी सम्बन्ध, प्रजातान्त्रिक तथा युरोपियन लगायतका शक्तिशालीहरूसँग गरिने कूटनैतिक सम्बन्धका सवालमा आगामी चीनियाँ नेतृत्व कसरी प्रस्तुत हुनेछ ? भन्ने सर्वत्र जिज्ञासा छ । कूटनीतिक सङ्केतहरू बुझ्न वृहत् मस्तिष्कको प्रयोग अनिवार्य बनेको छ । यो एक्काइसौँ शताब्दीको सार्वजनिक कूटनीति चुनौतीहरू भित्रको विषय हो । कूटनीतिमा राष्ट्रको वैचारिक, सैद्धान्तिक पृष्ठभूमि, सामाजिक अर्थतन्त्र, सामाजिक परिवेश, परसंस्कृतिकरण, स्वसंस्कृतिकरण, दार्शनिक मान्यताले राष्ट्र अनुसार फरकपना भए पनि समतावादी कोणबाट कूटनीतिक निष्पक्षता, तटस्थता र स्वच्छता हेरिन्छ ।

वास्तवमा कूटनीति सौदाबाजी वा जालझेल होइन । राष्ट्रहरूको आर्थिक मान्यता/पृष्ठभूमि, राष्ट्रहरूको गौरवपूर्ण गाथा/इतिहास, भूगोल, मानवीय सम्बन्धका बहुआयामहरु, द्विपक्षीय, त्रिपक्षीय सन्धि/सम्झौता, युगीन दस्ताबेजहरू, राष्ट्रसंघका घोषित प्रतिबद्धता वा हस्ताक्षर, दूतावासको विस्तार, कामदार तहको र अन्तरराज्य सरकारबीचको प्रगाढ सम्बन्ध जस्ता समसामयिक तर ग्रहणीय विधाहरूले कूटनीति निर्माणको उत्तोलकको काम गर्छन् । यी विषयहरूमा जोड गरिरहँदा तुलनात्मक रूपमा विकासशील राष्ट्रहरू मध्ये चीनियाँ कूटनीति विश्वभर फैलँदो क्रममा छ ।

ट्रम्प डक्ट्रिन एकपछि अर्को गर्दै फेल भएपछि अर्थात् कोरोना महामारी बढ्दै जाँदा होस् वा प्रशंसा र आलोचना दुवै खेपेको ७० वर्षे विश्व स्वास्थ्य सङ्गठनले पहिलो आर्थिक सहयोगी मुलुक अमेरिकालाई गुमाउँदै छ । यो असाधारण विषय हो । साथसाथै, बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसन, बेलायत, गाभी, जर्मनी, जापान, रोटरी इन्टरनेशनल, विश्व बैङ्क, इयु लगायतको सहयोग निरन्तर हुने हो या होइन, कूटनीतिवृत्तमा द्विविधा पैदा भएको छ । सन् २००९ को स्वाइनफ्लु, २०१४ को पोलियो उन्मुलन तथा इबोला, सन् २०१६ को जिका भाइरस हुँदै कङ्गोमा २०१९ मा उत्पन्न स्वास्थ्य सङ्कटसँग लडेको अमेरिका हिजोका दिनसम्म संसारको “मुक्तिदाता” थियो तर आज छैन ।

तथ्यले भन्छ की, चीनले निर्माण गरेको संसारको उद्योग र विज्ञान प्रविधि अनुकरणीय बन्दै गएको छ । जुन संसारले उपभोग गरिरहेको छ । चीन वास्तवमा उत्तर कोरिया जस्तो आइसोलेसनपूर्ण अवस्थामा छैन । चीनले अमेरिका, युरोपियन यूनियन, राष्ट्रसंघ र सबै विकास साझेदारहरूसँग आर्थिक कूटनीतिको जग बलियो बनाइसकेको छ । अमेरिका चीनको प्रविधि क्रान्तिबाट तर्सिएको आभास संसारभर छ । इगोबाट हिंसा भड्काउने मनस्थितिमै अमेरिका पुगेको कूटनीतिक क्षेत्रका विद्वानहरूको तर्क छ । यो कूटनीतिक असफलताको सङ्केत नै हो ।

निष्कर्षः
कूटनीतिज्ञले भारी मात्रामा व्यक्तिगत तहको द्वन्द्वदेखि तनाव व्यवस्थापनसम्मलाई समायोजन गर्ने व्यावसायिक निष्ठा/ल्याकत राखेको हुन्छ । आजको कूटनीतिले प्राविधिक तथा भूराजनीतिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी सिर्जित अवरोधहरूलाई वार्ता र सम्झौताको कूटनीति माध्यमबाट अभूतपूर्व उपलब्धि हासिल गर्न राजदूतहरूलाई जिम्मेवार बनाएको हुन्छ । नयाँ पुस्तान्तरणलाई कूटनीतिक ज्ञान हस्तान्तरण गर्ने, विशाल कूटनीतिक विमर्श गर्दै राष्ट्रिय सार्वभौम नीति निर्माण गर्ने, राष्ट्रलाई “बोल्ड” दिशाबोध गर्ने, वैदेशिक नीति विज्ञहरू निर्माण गर्ने, अन्तर्राष्ट्रिय समुदायको नजरमा कूटनीतिक शीर उच्च बनाई राख्ने, नयाँ मार्गचित्रको कूटनीतिक (फ्रेमवर्क) भित्र सार्वभौम, स्वतन्त्र, स्वाभिमानी नागरिकहरूलाई एकजुट गराउने जस्ता होमवर्क गरेको हुन्छ । अन्तर्राष्ट्रिय खुल्ला समाजमा फ्रेस तरिकाले सोच्ने, स्पष्ट भिजन दिने, राष्ट्रलाई सुरक्षा र समृद्धिको मार्गमा हिँडाउने परराष्ट्र नीति आजको अपरिहार्य आवश्यकता हो । ग्लोबल लिडर सिपहरूले संवृद्ध राष्ट्रको सजीव चित्रहरूलाई व्यवहार–विज्ञानमा निपूर्णता पूर्वक रूपान्तरित गर्न सक्नुपर्छ, राष्ट्रिय नेतृत्वहरुले उच्चस्तरको राजनीतिक सफलता हासिल गर्दै जानुपर्छ । अहिलेको चुनौतीलाई सरसर्ती हेर्दा कोरोनाले विश्वजगतलाई नराम्रोसँग धक्का दिएको मात्र छैन, यसको प्रभावका सम्बन्धमा भविष्यवाणी गर्ने भौतिक दुनियाँलाई समेत अचम्मित पारेको छ । हालै, आईएलओको अनुसन्धानले बताए अनुसार विश्वका ४० देखि ७० प्रतिशत जनसङ्ख्या कोरोना सङ्क्रमणको जोखिममा पर्न सक्ने जनाएको छ । बहुराष्ट्रिय संस्थाहरूमा समेत खैलाबैला मच्चिएको छ । यो कोरोना कूटनीतिले विश्वलाई गतिहीन बनाई दिएको छ । सहज ढंगले पार पाउन मुस्किल प्रायः छ ।

अन्ततः जसरी इजिप्टको नाइल नदी धारा प्रवाह छ, त्यसै गरी समकालीन राज्यहरूका तनाव/ खराब स्थितिको अन्त्य भई स्पष्ट प्रवाहमा राज्यका सार्वभौमिकताहरू एकताबद्ध, संयमित भई संसारको छानो र साइनोसँग मितेरी लगाउन आतुर हुनैपर्छ । यसमा के एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, सबैले प्रविधिको विकाससँगै रूपान्तरित कूटनीतिको खोज गर्नै पर्ने समयको अग्नि परीक्षामा हामी छौँ । अझ हामी सगरमाथा र बुद्धको देश नेपालबाट स्वाधीन, स्वतन्त्रता र शान्तिको सन्देश नयाँ ढंगले प्रवाह गर्ने दिशामा विश्वसामु उभिएका छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस