बाढीमा छटपटाई रहेको बाजुरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीमा छटपटाई रहेको बाजुरा


१३ भाद्र २०७७, शनिबार


कोरोना सङ्क्रमणको प्रताडनाबाट सङ्क्रमित र मृत्युवरण गर्नेहरूको सङ्ख्या दिनहुँ बढी रहेको छ । भविष्यको अनिश्चितता र महामारीको त्रासले अभिसप्त नागरिक जीवनमा समाधानका विकल्पहरू पनि साँघुरिँदै गएका छन् । असारदेखि सुरु भएको मुसलधारे वर्षाले भदौको मध्यसम्मपनि विश्राम लिएको छैन । लगातार भइरहेको अतिवृष्टिले मेचीदेखि महाकारीसम्मको पुरै पहाडी भाग पहिरोबाट नराम्रोसँग प्रभावित भएको छ ।

पहाडै खसेर बस्तीहरू पुरिएका छन् । नदी-खोलाको कटानले गाउँ नै बगाएको छ । ठाउँ ठाउँमा पहिरोले जमिनको धाँजा फाटेर बस्ती छोड्न विवश बनाएको छ । अत्यधिक वर्षाको कारणबाट हिमतालहरू फुट्ने सम्भावना बढ्दै गएकोले नियन्त्रणका लागि भूगर्भविद्हरूले सुझाई रहेका छन् । पहाडबाट बगेर गएको पानीले तराइका कतिपय भूभागहरू जलमग्न मात्र छैनन्, नेपाल-भारत सिमाना अवस्थित कोसी र गण्डक बाँधमानसमेत पानीको बहाव खतराको सङ्केतभन्दा माथि पुगेर नेपाली भूमिमा डुबानको त्रास बढेको छ ।

सबै किसिमका सडकहरू भत्किएका छन् । पक्की, झोलुङ्गे र काठे पुहरु बगाएर ठाउँ ठाउँमा यातायात अवरुद्ध भएको छ । खानेपानी, आधारभूत स्वास्थ्य सेवा र दैनिक उपभोग्य वस्तुहरूको उपलब्धता प्रभावित भएको छ । जनधनको क्षतिको अनुपातमा उद्धार र पुनस्थापनाका क्षेत्रमा सरकारबाट भएका प्रयासहरू नगण्य मात्रामा देखिन्छ । भरखरैको बाढी पहिरोमा परी मृत्यु हुने र बेपत्ता हुने व्यक्तिहरूको संखया तीन सय भन्दा माथि पुगी सकेको छ । आफन्तजन गुमाएका परिवाहरु शोक सन्तप्त छन् । भिरालो लेक, खोला किनारका बासिन्दाहरू कतिखेर बगाउने हो भन्दै त्रस्त छन् । यस्तै असङ्ख्य पीडाहरूको भुमरीमा बाँच्न विवश सुदूर पश्चिम प्रदेशको बाजुराका जिल्लावासीहरूको बाध्यताको कथा यस आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

वास्तवमा यही जिल्ला नै मुलुकको मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि रहेको छ । भौगोलिक दृष्टिले विकट छ र गरिबिको चपेटामा थिचिएको छ । साउन २५ र २६ गते आएको भीषण बाढीले बाजुरा जिल्लाको अधिकांश भूभाग क्षत विक्षत भएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको जिल्ला सदरमुकाम मार्तडी, बुढीगंगाको बेल ब्रिज र ताप्रेसेराको पक्की पुल बगाएपछि साफे-मार्तडी सडक खण्ड नै अवरुद्ध भई सडक सम्पर्क विच्छेद भएको अवस्था छ ।

सडकको दुई किलोमिटर भाग नै बुढीगंगामा भासिएकोले सानो प्रयासबाट सो सडक मर्मत सम्भार हुन नसक्ने देखिन्छ । वर्षौँदेखिको राष्ट्रिय सडक सञ्जालसँग जिल्ला सदरमुकामलाई जोड्ने सपना बुढीगंगामा बेलिब्रिज बनेपछि पुरा भएकोमा बाढीले पुल चुँडाएर लगेपछि बाजुरावासीको सपना सँगसँगै चुँडेर गएको छ । मार्तडी-कोल्टी सडक पनि कच्ची अवस्थामा रहेको र ठाउँ ठाउँमा पहिरोले गर्दा यातायात सुचारु हुन नसक्ने अवस्थामा नरहेको देखिन्छ । जिल्लाको पूर्व उत्तरको कर्णाली राजमार्ग मर्मत हुन नसक्दा उस्तै बेहाल अवस्थामा रहेको छ । गौमूल गाउँपालिका, अजय टोड्किमा झोलुङ्गे पुल बगाउँदा २० घरधुरीका ९७ व्यक्तिहरू अलपत्र र हारगुहार मागिरहेका छन् । उद्धारको नाममा एक पटक हेलिकोप्टरले केही खाद्यान्न छाडेर गए पनि फेरी फर्केर कोही नआएको गुनासो उनीहरूको छ । बेलिब्रिज बगाएको त्रिवेणी नगरपालिका कालापानी मै ३५ घर बगाएको केहीले ज्यान गुमाएको दर्दनाक घटनाले पीडामाथि पीडा थपिएको छ ।

सडक सम्पर्कबाट विच्छेद् भएपछि बाजुरामा विकराल खाद्यान्न सङ्कट बढेको छ । स्थानीय कृषि उत्पादनले अरू समयमा वर्षभरिको जीविका चल्न नसक्ने हुँदा कामको लागि भारत जानुपर्ने बाजुरावासीको बाध्यता हो । अहिले, अरू ठाउँमा भन्दा तुलनात्मकता पूर्वोत्तर क्षेत्रका बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका करिब ६० हजार जनताहरू खाद्य सङ्कटको चपेटामा परिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । यातायातका साधन चल्न नसक्दा जिल्लास्थित खाद्य व्यापार कम्पनीका गोदाहरु रित्तै छन् भने बाजुरालाई छुट्याएको २० हजार क्विन्टल चामलका बोराहरू धनगढीको गोदाममा थन्किएका छन् । संकटको यो घडीमा बाढीले आहत भएको पिछडिएको जिल्लामा हवाई ढुवानी गरेर भए पनि जनतालाई बचाउनु पर्ने सरकारी प्रयासमा उदासीनता देखिनु सुशासनको उपहास हो ।

एकातिर विद्यमान भाइरसको सङ्क्रमणबाट स्वास्थ्यकर्मीहरू आफै संक्रिमित हुन पुगेका छन् । अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा भएका सीमित स्वस्थ्यकर्मीहरुबाट पनि आवश्यक उपकरण, औषधिको अभावमा स्वास्थ्यको आधारभूत सेवासम्म पनि पुर्‍याउन कठिन भएको छ । खोप, भिटामिन ए चक्की समयमा पाउन नसक्दा बालबालिका र गर्भवती महिलाहरू अझै पीडित हुन पुगेका छन् ।

यातायातका साधन नपुग्दा, पुलहरू बगाउँदा दीर्घ रोगी, ज्येष्ठ नगरिकहरु दैनिक खाने औषधि नपाएर छटपटिएका छन् । पानीका मुहानहरू बगेका छन् । दूषित पानी पिउनुपर्ने बाध्यताले जिल्लाका गाउँ गाउँमा झाडापखालाले सताउने सम्भावना बढेको छ । हात मुख जोर्न नै नपाएको कठिन परिस्थितिमा पौष्टिक आहारको कुरा बाजुरावासीलाई सपनाको कुरा जस्तो मात्रै भएको छ । भोको पेट, दिनहुँ भइरहने घनघोर वर्षा र आँखा अगाडीको पहिरोले हरेक दिन र रातहरू भय र त्रासमा बिताउनु पर्ने बाध्यता नै बाजुराको नियति बनेको छ । सदरमुकाम, स्थानीय बजार, पसलहरूमा दैनिक उपभोगका सामानहरू रित्तिएका छन् । पिच सडक मात्र नभएर सबै कच्ची सडक, गोरेटो बाटोहरू भत्किँदा खच्चर हिँडाउन, मानिस ओहोर दोहोर गर्न बढिरहेका खोला तर्न नसक्दा असम्भव भएको छ । स्थानीय स्तरमा सञ्चालित साना विद्युत् आयोजनाहरू बाढीले भत्काउँदा बस्तीहरू अन्धकारमय भएका छन् । यसरी बाढीको पीडामा बाजुरा अहोरात्र छटपटाई रहेको छ, छटपटाई रहेको छ ।

मुलुक सङ्घीय गणतन्त्र र लोकतन्त्रको उज्यालो बिहानीमा अघि बढी रहेको छ तर सत्तासीनहरूको दृष्टि राजधानी वरिपरि मात्र सीमित छ । बाजुरासम्म पुग्न सक्दैन । कतिपय राष्ट्रिय गौरवका आयोजनाहरूमा दक्ष र उच्च व्यावसायिकता क्षमता भएको नेपाली सेना परिचालित भएको छ । भूकम्प र हुण्डरी प्रभावित जिल्लाहरूमा भूकम्प निरोधका घरहरू निर्माण गरी स्थानीय जनताहरूलाई सेनाले ठुलो गुन लगाएको छ । साफे-मार्तडी सडक मर्मत हुन सके पनि बुढीगंगामा बेलिब्रिजको पुनर्स्थापना वा निर्माण दुवै चुनौतीपूर्ण छ ।

जिल्ला सदरमुकाम नै सडक सञ्जालसँग टुटेपछि आफ्ना दैनिक कामकारबाहीमा बाजुराका आम नागरिकलाई सदरमुकाम पुग्न भोग्नुपरेको कठिनाइ कहालीलाग्दो र जोखिमपूर्ण भएको स्वतः अनुमान गर्न सकिन्छ । बिकट र पिछडिएका जिल्लाहरूको पीडामा राज्यसत्ता यस कठिन परिस्थितिमा गम्भीर र संवेदनशील हुन आवश्यक देखिन्छ । तसर्थ, द्रुत गतिमा क्षतविक्षत सडकहरूको पुनर्निर्माण र बाढीले बगाएका पुलहरूको निर्माणमा सरकारको निर्णयमा नेपाली सेना परिचालन हुन सके बाढी पहिरोले छटपटाई रहेका बाजुरावासीलाई ठुलो त्राण मिल्ने थियो । आगे सरकारको मर्जी !

Tags :
प्रतिक्रिया दिनुहोस