सकारात्मक सोचको विकास गर्ने की ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सकारात्मक सोचको विकास गर्ने की ?


७ भाद्र २०७७, आइतबार


मानिस एक सर्वश्रेष्ठ चेतनशील सामाजिक प्राणी हो । त्यही चेतनाका कारणले गर्दा नै ऊ अरू प्राणी भन्दा समाजमा भिन्न अस्तित्व निर्माण गरी प्रभुत्व कायम गरेको छ । वैज्ञानिकहरूका अनुसार अहिले समाजमा अस्तित्वमा रहेको मानिसको उत्पत्ति विभिन्न चरणहरू पार गर्दै आएको पाइन्छ ।

गिवन, चिम्पान्जी, गोरिला, ओरेनगुटन आदि मानिसका पूर्ववत् अवस्था वा रूप हुन भनी वैज्ञानिकहरूले आफ्नो खोज तथा अनुसन्धानमा उल्लेख गरेका छन् । मानिससँग भएको विशाल ज्ञान, सीप अनि क्षमताले गर्दा आज ऊ निकै शक्तिवान् भएको छ । त्यही सीप अनि ज्ञानका कारणले नै मानिसले आज जमिनमा गुड्ने पानीमा तैरिने र आकाशमा उड्ने साधनहरू निर्माण गरेको छ । विकासको सिलसिला निरन्तर चली नै रहेको छ ।

विकासको कारणले गर्दा नै आज सारा विश्व नै एउटा ग्लोबल भिलेजकोरूपमा रूपान्तरण भएको छ । हिजोको ढुङ्गे युगदेखि आजको आधुनिक युगसम्म आई पुग्दा निकै ठुला परिवर्तनहरू भएका छन् । सकारात्मकता नै विकासको साध्य हो भन्दा त्यति फरक सायदै नपर्ला । मानिसका लागि सिकाईको दायरा यही नै हुन्छ भन्ने छैन । उसले विभिन्न माध्यमबाट फरक फरक तरिकाले ज्ञान हासिल गर्न सक्छ । मनोविद् रुसोका अनुसार मानिसले अनुभवबाट सिक्दछ ।

यसै गरी यङका अनुसार प्रेरणाबाट, प्याभलका अनुसार गल्तीबाट, किम्बलका अनुसार अन्तर्दृष्टिबाट मानिसले केही कुरा आर्जन गरेको हुन्छ । आर्जन गरेका सबै कुरा सकारात्मक वा नकारात्मक मात्रै हुन्छन् भन्ने पनि छैन, दुवैको सम्मिश्रण पनि हुन सक्छ । सबै फूलहरू फुल्दा बास्ना चल्दैन । जाई र चमेली फुल्दा चल्ने बास्ना उन्यूँ र खर फुल्दा चल्दैन । हेर्दा एउटै देखिने सलाईको काँटी एउटाले दियो बाली सारा अन्धकार हटाउँछ भने अर्को सारा जङ्गलमा डढेलो लगाई सबै सखाप पार्छ । आखिर त्यही विष हो जुन साँपको दाँतमा, झिँगाको शिरमा भने बिच्छीको पुच्छरमा हुन्छ ।

विष्टर्न चर्चिलका अनुसार “निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।” यसबाट के प्रष्ट हुन्छ भने सकारात्मकता भित्र सफलता लुकेको हुन्छ ।

पवित्र ग्रन्थ गीतामा पनि सकारात्मक सोचलाई व्याख्या गरिएको छ । गीतामा भनिएको छ “तपाई जस्तो सोच्नु हुन्छ अन्त्यमा त्यस्तै हुनुहुन्छ” । अर्थात् राम्रो सोचाईको परिणाम राम्रै हुन्छ र नराम्रो सोचाईको परिणाम नराम्रै हुन्छ । आईस्टाईनले सकारात्मक सोचका साथ E=mc2 को आविष्कार गरे तर त्यसैको गलत प्रयोग गरी बमहरू निर्माण भई विश्व युद्धमा प्रयोग हुन गए जुन नकारात्मकताको पराकाष्ठा थियो भन्न सकिन्छ ।

सूचना प्रविधिको तीव्र तर वृद्धिसँगै आजभोलि सामाजिक सञ्जालहरूको प्रयोग निकै बढिरहेको छ । आज सामाजिक सञ्जालहरू सूचना आदान प्रदानका संवाहक भएका छन् । सामाजिक सञ्जालहरू सुसूचित तथा खबरदारी गर्ने माध्यम हुनु सकारात्मकता त छदै छ तर यसको नकारात्मकता पनि यत्रतत्र सर्वत्र देख्न सकिन्छ ।

सामाजिक सञ्जालले आज भोलि केही मानिसलाई कहीँ कतै भोलाटाईल बनाएको हो की भन्ने शङ्का गर्न सञ्जालमा व्यक्त भएका विचारहरू नै पर्याप्त छन् । पछिल्लो समयमा सामाजिक सञ्जालका माध्यमहरू जस्तै फेसबुक, ट्विटर, ईन्टाग्राम, टिकटक, फ्लीकर, जुम लगायतको प्रयोग धेरै नै भएको छ ।

हिजो एउटा समाचार थाहा पाउन रेडियो सुन्नु पर्ने बाध्यता थियो, त्यही पनि उपयुक्त समय कुरेर मात्रै । तर आज भने त्यो अवस्थाको अन्त्य सामाजिक सञ्जालले नै गरिदिएको छ जुन सकारात्मक छ । तर आज सकारात्मक भन्दा पनि नकारात्मकता भएका विषयवस्तुहरू बढी नै सेयर हुने, कमेन्ट हुने, भ्यु हुने गरेको पाइन्छ । कतिपय सवालमा कागले कान लग्यो भनेर आफ्नो कानै नछामी कागको पछाडि दौड्ने ? भन्ने प्रश्न समेत खडा हुने गरेको छ । सामाजिक सञ्जाल आज भोलि कतिपय मानिसलाई लोकप्रियता आर्जन गर्ने माध्यम समेत बनेको छ । धेरै फ्लोअर, लाईक अनि भ्युका लागि विषय वस्तु नै फरक पारिएका घटनाहरू पनि नौला भने होईनन । कतिपय घटनालाई आफू अनुकूल व्याख्या गर्ने परिपाटी पनि पछिल्लो समय अलिक बढी नै मौलाएको पाइन्छ ।

सकारात्मकताले भन्दा पनि आज भोलि नकारात्मकता मानिसको सेन्टिमेन्टमा छिट्टै कब्जा जमाउने गरेको छ । सकारात्मकताले समाजलाई अग्रगतिमा लैजान सहयोग गर्छ । तपाई त्यो काम गर्नुहुन्छ, जो सधैँ गरिरहनुभएको छ भने तपाईँले त्यही पाउनुहुनेछ, जो सधैँ पाइरहनुभएको छ । अमलेट खानका निम्ति जसरी अण्डा फोर्नु आवश्यक छ, त्यसरी नै समाज परिवर्तन गर्न सुरुवात आफैबाट गर्नु अपरिहार्य छ । तपाई आफूलाई सुख चाहनुहुन्छ भने आफूले प्राप्त गर्न भन्दा अरूलाई केही दिनका निम्ति तयार हुनुहोस् । तपाईँका दुई वटा आँखा छन् दुई पटक हेर्नुहोस्, दुई वटा कान छन् दुई पटक सुन्नुहोस्, तर एउटा मुख छ त्यसैले एक पटक मात्र बोल्नुहोस् ।

तपाईँका कामले अरुलाई अधिक सपना देख्न, अधिक सिक्न, अधिक गर्न र अधिक बन्न प्रेरित गर्छ भने मात्रै तपाई वास्तविक नेता हो । जसरी अँध्यारोलाई हटाउन उज्यालोको आवश्यकता पर्छ त्यसरी नै घृणालाई हटाउन मायाको आवश्यक पर्ने गर्छ । त्यसैले यदि तपाईसगँ कोही आगो बन्छ भने तपाई पानी बनिदिनुस्, घाम बन्छ भने छहारी बनिदिनुस् । बाटो बताउने त धेरै हुन्छन् सही बताउने कम हुन्छन्, बिदाइमा शुभ यात्रा भन्नेहरू त धेरै हुन्छन् तर सँगै जाने कम हुन्छन्, लडेका बखत कठै भन्ने त धेरै हुन्छन् तर उठाउने केबल एक दुई जना मात्रै हुन्छन् ।

सकारात्मक सोच मानवीय जीवनको ठुलो ऊर्जा तथा शक्ति हो, त्यसैले सधैँ सकारात्मक सोचको विकास गरी प्रगति पथमा लम्कनु नै मानवका लागि हितकर ठहरिन्छ । सकारात्मक सोच मानवीय स्वास्थ्यका लागि पनि फाइदाजनक छ । जीवनका हरेक क्षणलाई सकारात्मकता साथ सोचौँ, मनोबल उच्च बनाऊ कोरोना विरुद्धको महायुद्धमा विजय प्राप्ति गरी सुरक्षित रहौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस