कृषि र पर्यटनले जोडेको सम्बन्ध  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कृषि र पर्यटनले जोडेको सम्बन्ध 


२२ बैशाख २०८१, शनिबार


७१ प्रतिशत नेपालीहरू कृषिमै निर्भर छन भन्ने राज्यको तथ्याङ्क छ तर पनि नेपालीहरू दिन प्रतिदिन गरिब बन्दै गएका छन । नेपालले कृषि र पर्यटनलाई नेपालको आर्थिक वृद्धिको कोषे ढुङ्गा साबित हुन्छ भन्ने नीतिगत निर्णयहरू गरी रहन्छ तर अवस्था उस्तै । त्यसैले पनि क्यानडाको हामीले प्रिन्स एडवर्ड आइल्याण्ड घुम्ने सोच राख्यौ । हामीलाई मुख्यतः कन्फिडेरेसन पुल , कन्फिडेरेसन हल , कृषि उद्योग , पर्यटनको व्यवस्थापन बारेमा जान्नु पनि थियो । कृषिको दिगोपना , किसानले उत्पादन गरेको बस्तुलाई त्यहाँको सरकारले के गर्दो रहेछ भन्ने पनि हो । कृषि क्षेत्रमा सरकारले गर्ने समर्थनका कारण नै विश्वमा खाद्य उत्पादनमा नेतृत्वदायी भूमिका क्यानडाले कायम गर्न सक्दो रहेछ भन्ने एक प्रकारको अनुभूति भयो । 

हामी जुन प्रदेशमा गएका थियौँ त्यहाँको सम्पूर्ण भूभाग मध्ये ४२.५ प्रतिशत कृषिकै लागी रहेछ अर्थात् ५४ लाख एकड मध्ये कृषि फार्मले नै बढी कभर गरेको रहेछ । त्यहाँको प्रमुख उत्पादन भनेकै आलु रहेछ । त्यहाँको उर्वर रातो माटो र समुन्द्री तटमा भएका कारण पनि अत्यन्त राम्रो रहेछ । कृषिको गुणस्तरीय उत्पादन , सङ्कलन र प्रशोधनको कार्य पनि अत्यन्त चलाखी पूर्ण तरिकाले गरिँदो रहेछ । अहिलेकै अवस्थालाई हेर्दा पनि आलु १.३ बिलियन क्यानेडियन डलर उत्पादन गरिँदो रहेछ भने त्यस पछि दोस्रो दुग्ध व्यवसायमा २०० मिलियन उत्पादन हुँदो रहेछ । बुलुबेरी तरकारी आदि १२ देखि १६ मिलियन क्यानेडियन डलर आजको मूल्यमा उत्पादन गरिँदो रहेछ । यसरी हेर्दा पनि त्यस आइल्याण्डलाई क्यानडाको आलुको राजधानी भन्दा पनि फरक पर्दो रहेनछ । त्यहाँ १६५ वटा डेरी फार्महरू पनि रहेछन् ।

वर्तमान अवस्थामा कृषिमा आधुनिकीकरण गरी नयाँ प्रविधिहरूको जडान गरेर भए पनि यसको दिगोपनालाई विशेष रूपमा हेरिएको रहेछ । हामीले पनि त्यहाँको आलु खेतीलाई आँखाले भ्याएसम्म हेर्‍यौँ । क्यानडामा जमिन उवड खावड भए पनि जुन एरियामा पानी चाहिन्छ त्यही भागमा पाइप गाडेर आलु सिँचाइ गरिने र वातावरणबाट जोगाउन टनेल,सिँचाइको लागी बिचमा पाइप गाडेर सबै बिरुवामा पर्ने गरी पाइप राख्ने , मेसिनबाट काम गर्ने, जग्गालाई चक्लाबन्दी गरेर ठुला ठुला फार्महरू निर्माण गर्ने , राज्यले त्यसको अनुगमन मूल्याङ्कन गर्ने , किसानको वास्तविक समस्यालाई पहिचान गरी त्यसको निरूपण गर्ने पनि देखियो । कागजमा जे छ फिल्डमा पनि त्यही हुन्छ जसले गएर हेर्दा पनि त्यो पारदर्शी नै देखिँदो रहेछ ।

कृषि जस्तै त्यहाँको अर्को महत्त्वपूर्ण उद्योग पर्यटन पनि रहेछ जसले प्रतिव्यक्ति आयमा महत्त्वपूर्ण योगदान दिएको रहेछ । प्राकृतिक सुन्दरता , ऐतिहासिकताको धनी र विविध सांस्कृतिक अवस्थाले पनि विश्वका धेरै स्थानबाट त्यसको रसास्वादन लिन पुग्दा रहेछन् । त्यहाँको ऐतिहासिक स्थल जस्तो कन्फेडेरेसन हल , कला , संघीय क्यानडाको रूप धारण गर्नु पर्ने अवस्था सामुन्द्रिक खाना , पर्यटनको पूर्वाधार ,त्यहाँका मानिसहरूले गर्ने सभ्य शालीनताको सत्कार आदि कुराहरूले नै पर्यटनको लागी आकर्षण गरेको रहेछ । सामुन्द्रिक तटमा रहेका आकर्षण बिच र त्यहाँ बनेका पूर्वाधारहरूले गर्दा पनि पर्यटकको आकर्षण रहेछ । त्यहाँको राजधानी रानी शार्लोटको नामबाट शार्लोट टाउन राखिएको रहेछ । खास गरी कृषि पर्यटनको विषयवस्तुको सामान्य जानकारी लिँदै हामीहरू प्रिन्स एडवर्ड आइल्याण्डबाट बाहिर निस्कियौँ । 

ज्वारभाटाले जोडेको पर्यटन
समुन्द्रमा पानीका छालहरू अत्यधिक मात्रामा आउने गर्दछन् । समुन्द्रको पानी बग्दैन स्थिर रहन्छ तर समुन्द्र पनि कुनै ठाउँ फराकिलो हुन्छ भने कुनै ठाउँ साँघुरो पनि हुन्छ । फराकिलो ठाउँबाट उरालिँदै आएको पानी साँघुरो स्थानमा आउँदा उचालिन्छ त्यसलाई ज्वार र उचालिएको पानी बिस्तारै समुन्द्रमा नै सम्मिँदै जान्छ त्यसलाई भाटा अर्थात् हाइटाइड र लो टाइड भन्दछन् । त्यही हाइटाइड र लो टाइड हेर्नकै लागी हामी अर्को स्थान मङटनको होपवेल हेर्ने अर्को मनसुवाका साथ न्युब्रन्सविकको मङटन तर्फ लाग्यौ । मङटन न्यु ब्रन्सवीकको सबैभन्दा ठुलो सहर पनि हो ।

यो सहरको कुल जनसङ्ख्या २०२२ को जनगणना अनुसार ७९४७० रहेछ भने महानगरको जनसङ्ख्या १७१६०८ रहेछ । जन घनत्वको हिसाबले पनि ५.३ प्रतिशतले जनसङ्ख्या वृद्धि भइरहेको रहेछ । यसलाई हवसिटीको नामले पनि चिन्न सकिँदो रहेछ । मङटनमा प्रिन्स एडवर्ड आइल्याण्ड जाँदा नै केही समय म्याग्नेटिक हिलमा समय बिताएका थियौ । मङटनमा हेर्नु पर्ने धेरै चिजहरू हुँदा हुँदै पनि सबैतिर हेर्न जाने अवस्था थिएन । फण्डीको नेशनल पार्क , क्याम्प साइडहरू, म्युजियम, ट्रेकिङ रुट आदि । हामीले समयलाई निकै व्यवस्थित गरेर जानु पर्ने थियो ।

मङकटन आफै फण्डीको खाडी क्षेत्रभित्र पर्ने सहर पनि हो । यसको नजिकै आन्ध्र महासागर साँगुरिएको स्थान पनि रहेछ । जुन स्थानलाई होपवेल पनि भन्दा रहेछन् । मङकटनको डाउन टाउनमा पुग्दा गाडीको जाम अलि देखियो सायद न्युब्रन्सविकमा गाडी जाम हुने भनेको त्यही हो कि ? जस्तो पनि भान पर्‍यो  । थारै जाम छिचोल्दै हामी होपवेल रक तिर गएका थियौँ बेलुका भई सकेको थियो । सहरबाट झण्डै ३४ कि.मि. टाढा थियो ।  गाडी उक्त स्थानसम्म जाँदैनथ्यो । गाडी पार्किङ गरेर पनि केही समय हिँड्नैपर्ने थियो त्यसैले हामी निकै हतारमा थियौँ । धन्न हामी होपवेलको चट्टानी भागमा प्रवेश गर्‍यौँ ।  । त्यहाँ पुग्दा केही भारतीय नागरिक पनि पुगेका रहेछन् । सायद हाम्रो चेहराहरू एसियन जस्तै भारतीय नागरिक जस्तै देखेर होला एक जनाले अभिवादन पनि गरे । नमस्ते नमस्ते भयो ।

समुन्द्रमा आउने ज्वार भाटा (हाइ टाइड र लो टाइड) पनि हर्ने हाम्रो अभिष्ट थियो । बिहानको समयमा ज्वार निस्कने र बेलुका भाटा हुने समुन्द्रको विशेषता नै हुन्छ । ज्वार भाटा सम्बन्धमा मैले १० कक्षा पढ्दा आज भन्दा ४७ ।४८ वर्ष अगाडि सुनेको थिए त्यसैले पनि मलाई त्यस्तो स्थान हेर्ने सौभाग्य मिलेको थियो । आन्ध्र महासागरको फण्डीको खाडी साँगुरिँदै गएको रहेछ त्यसैले पनि ती स्थानहरूमा ज्वार भाटा आउँदो रहेछ । त्यस्तै किसिमको अर्को भाग आल्मामा पनि हुँदो रहेछ ।  कति बेला हाइटाइड आउने र कति बेला लो टाइड हुन्छ भन्ने सम्बन्धमा हरेक दिन नै जानकारी हुँदो रहेछ । त्यसैले पनि पर्यटकहरू हाइटाइड हेर्न कै लागी मङकटनमा बिसाउँदा रहेछन् ।

हामी होपवेल रकलाई माथि बाट हेर्‍यौँ  । पानीको सतह घटी सकेको रहेछ । भरयाङ ओर्लदैं समुन्द्रको छेउसम्म पुग्यौ । समुन्द्रको किनारमा हात्ती आकारका चट्टानहरू रहेछन् । ती चट्टानहरूलाई समुन्द्रको पानीले ठोक्दा ठोक्दा त्यस्तो भएको रहेछ । चट्टानका कुनै ठाउँ गुफा जस्ता कुनै के स्वरूपमा ठिङ्ग उभिएका । कोही मुकुट जस्ता कोही मूर्ति जस्ता यसरी आकार प्रकारका चट्टानी भाग नै होपवेल रहेछ । समुन्द्रमा कहिले काहीँ हुरी केन पनि आउँदो रहेछ । समुन्द्रमा आउने ठुलो हावा जसले पानी समेत उचाल्दै हिंडछ । हुरिकेन ,सुनामी आदि सामुन्द्रिक आँधीबेहरी जब पृथ्वी तलमा भूकम्प, ज्वालामुखी आउँछ समुन्द्रको पानीलाई पनि हल्लाई दिन्छ जसको कारण हावाको गति कुनै ठाउँमा शून्य जस्तै हुन्छ कुनै ठाउँमा बढी हुन्छ । त्यस्तो शून्य ठाउँमा हावा पुग्न प्रेसर गर्दछ त्यही प्रेसरको कारण सुनामी हुरीकेनहरु आउँदो रहेछ । यसरी आएको हावा अन्ततः समुन्द्रमा गएर नै विलीन हुन्छ भन्ने सम्बन्धमा भूगोल पढ्दाको सम्झना आउँछ ।

कतिपय कुराहरू मेरो जानकारीमा नहुन पनि सक्दछ तर म त्यता तर्फ लागिन । हुरिकन आउँदा हाइटाइड पनि उच्च रहँदो रहेछ । २०१६ मा १६ मिटर माथिसम्म पनि हाइटाइड आएको भनी रेकर्ड गरिएको थियो रे । कहिले काहीँ ७० फिट सम्म आएको रेकर्ड पनि रहेछ । त्यही पानीले ठोक्दा छिया छिया भएको चट्टानी भाग नै होपवेल रक भन्दा रहेछन् । बेलुका भई सकेको थियो हामी अल्मा नेशनल पार्क सेन्टजोन हुँदै फेडेरिक्टन आउने बाटो पहिल्यौं । समुन्द्री तटमा रहेको अल्मा पनि पर्यटकहरू बस्ने सानो बस्ती रहेछ । उक्त स्थानमा बसेर चिया कफी लियौँ र नेशनल पार्कको एउटा भ्य’ प्वाइन्टमा गाडी रोकेर समुन्द्रको फोटो कैद गर्‍यौँ  ।

बिहानै ६ बजे हामी हिँडेको थकान पनि लागी सकेको थियो । ट्रेकिङ रुट गाडी रुट सबै भौतिक प’पूर्वाधार निर्माण भैसकेका रहेछन् । हामीले नेशनल पार्क क्रस गरिसकेपछि सेन्टजोन हेर्दै बेलुका झण्डै ११ बजे फेडरिकन फर्किएका थियौ । एउटा नयाँ चिजले पर्यटकको आकर्षण बढ्छ, हामीले पनि यसैगरी व्यवस्थित गरे देशलाई विकसित गर्न सकिँदैन र ! 

क्रमशः

Tags :
प्रतिक्रिया दिनुहोस