चीनलाई चियाउँदा « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

चीनलाई चियाउँदा


२५ बैशाख २०८१, मंगलबार


सेमिनारको साइत
२५ वर्षसम्मको सरकारी सेवा अन्तरगत लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा २०८० कार्तिकमा चीन भ्रमणको सुअवसर प्राप्त भयो । २ हप्ते सेमिनार फर बिजनेस लिडरको उक्त अवधिमा चीनको राजधानी बेइजिङ र सञ्चार प्रविधिको नमुना सहर सेन्झेन प्रान्तको अवलोकन गरियो । त्यहाँ गरिएका विकास निर्माण र प्रगतिको बारेमा प्रत्यक्ष रूपमा देख्न र भोग्न पाइयो । त्यहाँबाट फर्किएपश्चात् उक्त क्षेत्रहरूको बारेमा खोजवीन गर्ने क्रममा निम्न विषयहरू फेला पारियो ।

बेजोड बेइजिङ 
उत्तरी चीनमा अवस्थित चीनको राजधानी बेइजिङ दोस्रो ठूलो तथा ऐतिहासिक महत्त्वपूर्ण सहर हो । कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा सम्मिश्रण रहेको छ । केन्द्रीय राजनीतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य र मान्यतालाई बचाउँदै आधुनिकतालाई पनि आत्मसात् गरेको छ । दुई करोड २० लाखभन्दा बढी जनसङ्ख्या भएको बेइजिङ विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रिय राजधानी र साङ्घाईपछि चीनको दोस्रो ठुलो सहर हो । १६ सहरी, उप नगरीय र ग्रामीण जिल्लाहरूको साथ राज्य परिषद्को प्रत्यक्ष प्रशासन अन्तर्गत एक नगरपालिकाको रूपमा शासित छ । यो सहरले कुल राष्ट्रिय आयमा ११.६ प्रतिशत योगदान पुर्‍याएको छ । विदेशी लगानी खुला गरिएपछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत छन् ।

बेइजिङ संस्कृति कूटनीति, राजनीति, वित्त, व्यापार र अर्थशास्त्र, शिक्षा, अनुसन्धान, भाषा, पर्यटन, सञ्चार, खेल, विज्ञान र प्रविधि र यातायात र कलाको लागि विश्वको अग्रणी केन्द्रहरू मध्ये एक हो । यो राष्ट्रिय राजमार्ग, द्रुतमार्ग, रेलवे र उच्च गतिको रेल नेटवर्कको लागि एक प्रमुख केन्द्र पनि हो। बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विश्वको सबैभन्दा ठुलो एकल-संरचना विमानस्थल टर्मिनल हो । सहस्राब्दी इस्वीको अधिकांश समय जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो सहर थियो । पुरानो भित्री र बाहिरी सहरको पर्खालका अतिरिक्त तीनतिरबाट अन्तर्देशीय सहर वरिपरिका पहाडहरूको साथ, बेइजिङ रणनीतिक रूपमा तयार थियो र सम्राट्को निवासको रूपमा विकसित भएको थियो र यसैले शाही राजधानीको लागि उत्तम स्थान थियो । यो सहर यसको भव्य महलहरू, मन्दिरहरू, सार्वजनिक उद्यानहरू, बगैँचाहरू, चिहानहरू, पर्खालहरू र ढोकाहरूको लागि प्रसिद्ध छ ।

द ग्रेटवाल
चीनकै शान माटो र ढुङ्गाबाट बनेको एउटा विशाल पर्खाल हो¸ जसलाई चीनका विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व ५ औँ शताब्दीदेखि ईसा पूर्व १६ औँ शताब्दीको मध्यमा बनाइएको मानिन्छ । यो विशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउँदै लगेर आज पर्खालको संरचना यस्तो आइपुगेको छ । सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौँ आश्चर्यमध्येको एक पनि हो ।

स्वर्गको मन्दिर
मध्ये बेइजिङको दक्षिण पूर्वी भागमा अवस्थित शाही धार्मिक भवनहरूको एक उत्तम संरचना रहेको छ द टेम्पल अफ हेवन । यस स्वर्गको मन्दिरलाई १९९८ मा विश्व सम्पदा स्थलको रूपमा अङ्कित गरिएको थियो । “स्वर्गको मन्दिरको प्रतीकात्मक रूपरेखा र डिजाइनले धेरै शताब्दीहरूमा सुदूर पूर्वको वास्तुकला र योजनामा ​​गहिरो प्रभाव पारेको थियो ।” मन्दिर परिसर १४०६ देखि १४२० सम्म मिङ वंशका योङ्गल सम्राट्को शासनकालमा निर्माण गरिएको थियो ।

१६ औँ शताब्दीमा जियाजिङ सम्राट्को शासनकालमा परिसरलाई विस्तार गरी स्वर्गको मन्दिरको नामकरण गरिएको थियो । स्वर्गको मन्दिर १८ औँ शताब्दीमा क्वीङ्लङ् सम्राट्को पालामा पुनर्निर्माण गरिएको थियो । मन्दिर दोस्रो अफिम युद्धको समयमा एंग्लो-फ्गठबन्धनले कब्जा गरेको थियो । मन्दिर परिसरको उपेक्षाले पछिल्ला वर्षहरूमा धेरै हलहरू भत्काइयो । १९१८ मा मन्दिरलाई पार्कमा परिणत गरियो र पहिलो पटक जनताको लागि खुला गरिएको थियो ।

शेनझेन सहर 
चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । शेनझेन शहर चीनको विशेष प्रशासनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ । पहिला शेनझेन कोउलुनदेखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो । सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकियो । सन् १९९० तथा २००० को दशकमा सबैभन्दा छिटो विकास भएको शहरहरू मध्ये शेनझेन पनि एक हो । हालका मेयर झु किन हुन् । शेनझेन क्षेत्रमा मानिसको बसोबास पुरातन समयदेखि नै रहेको देखिन्छ । हालसम्म भेटिएको सबैभन्दा पुरानो पुरातात्त्विक अवशेषहरू करिब ५ हजार वि.सी.को रहेको अनुमान लगाइएको छ । यहाँको क्षेत्रफल २०५० किमी   (७९० वर्ग माइल) रहेको छ । शेनझेन पर्ल नदीको छेउमा अवस्थित छ । शेनझेनको मातहतमा आठ प्रशासनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन् ।

द्रुत गतिमा दूरसञ्चार
चीन विश्व व्यापार सङ्गठनमा डिसेम्बर ११, २००१ मा प्रवेश गरेसँगै विदेशी कम्पनीहरूमा दूरसञ्चार सेवाको बजार पनि क्रमिक रूपमा खोलिएको थियो । चीनमा निश्चित लाइन र मोबाइल सञ्चालकहरूले गत वर्ष सञ्जाल पूर्वाधारमा औसत २ अरब अमेरिकी डलर लगानी गरेका छन्, जुन सबै पश्चिमी युरोपेली सञ्जाल सञ्चालकको संयुक्त लगानीभन्दा बढी हो । फलस्वरूप, चीनसँग हाल  हुवावे र जेडटिइको नेतृत्वमा रहेका तिव्र रूपमा बढ्दो चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिका, दक्षिण पूर्व एसिया र अफ्रिकी देशहरूतर्फ आफ्नो ध्यान केन्द्रित गरेका थिए जसले गर्दा व्यापार अवसर र बढ्दो चीनमा आफ्नो बजार शेयर बढेको छ ।

हामी पनि सञ्चारका क्षेत्रमा धरै माथि पुगेका छौ भनी एक आपसमा गौरवका कुरा गर्दछौँ । पछिल्ला दुई दशकलाई हेर्दा प्रफुल्लित हुनु त्यति बेठिक त पक्कै होइन । चीनमा दूर सञ्चारका लागि गरेको लगानी र प्राप्त उन्नतिलाई हेर्दा हामीकहाँ एक चौथाइ पनि गर्न सकेको जस्तो लाग्दैन । उता अधिकतम सदुपयोगको चिन्ता छ भने यता दुरुपयोगको दुर्गन्ध छ । यस क्षेत्रका माध्यमबाट हाम्रो गतिलाई पनि बढाउँदै पहिचान कायम गराउनुको उत्तम विकल्प अन्य कुनै देखिँदैन ।

सिकाई
मानव समाजको इतिहासमा सम्भवतः सबभन्दा बढी पूर्वाधार विकास गर्न सफल देश भएकोले आफूले सिकेका पाठ अरूलाई सम्प्रेषण गर्ने कार्य गरिरहेको छ । सन् १९७८ देखि जनवादी गणतन्त्र चीनमा एउटा युग थालनी भयो । जसलाई सुधार र खुलापनको युग भनिन्छ । सुधार र खुलापनको युगमा पदार्पण गरेयता चीनले आफ्ना वरपर संसारका धेरै आयाम देख्यो र त्यसबाट सिक्ने प्रयत्न गर्‍यो । यही युगमा धेरै प्रकारका विचार चीनमा आयात गरियो । ‘बृहत् सिकाइ’ को अवधि भनिने यो समयमा चीनका राजनीतिज्ञ, प्राज्ञ, व्यापारी र अरू तह र तप्काका मानिस संसारभर फैलिएर आफ्नो देशका लागि उपयोगी हुने काम सिके । जर्मनी र जापानबाट विचार तथा अमेरिका र युरोपबाट प्रविधि सिके । यसरी हालको चीन भएर विश्वसामु उभिएको हो ।

चीनले आफूलाई अझै विकासोन्मुख मुलुक भने तापनि त्यहाँको विकास र प्रगति हेर्दा विकसित भनी घोषणा गर्न मात्र बाँकी हो भन्ने लाग्दछ । त्यसैले विकासको नमुना बनिरहेको यस देशमा श्रमको सम्मान र अधिकतम प्रविधिको प्रयोग गरेको पाइन्छ । सामूहिकताको सन्देश, कर्ममा विश्वास र सहयोगी भावनाको विश्वविद्यालय नै भनी मान्न सकिन्छ । साथै सामाजिकताको सिकाई केन्द्रका रूपमा पनि सहजै लिन नसकिने होइन ।

लेखक रुपन्देहीको शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्

सन्दर्भ स्रोत: https://ne.wikipedia.org

प्रतिक्रिया दिनुहोस