कोरोना कहर : तीजको लहर, लैङ्गिक अवसर र दायित्व « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोरोना कहर : तीजको लहर, लैङ्गिक अवसर र दायित्व


४ भाद्र २०७७, बिहिबार


सन्दर्भ सुरुवात
तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म मनाइन्छ । यस पर्वमा मुख्य रूपमा भगवान् शिवको पूजा गरिनुका साथै महिला दिदीबहिनीहरु भेला भई नाचगान तथा मनोरञ्जन गर्ने प्रचलन रहेको छ । प्राचीनकालदेखि विशेष गरी हिन्दु नेपाली महिलाहरूले स्वतन्त्रता र आनन्दमय रूपमा मनाइने तीज हाल अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले समेत हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

सारथीहरुद्वारा हरण गरिएकी हिमालय पुत्री पार्वतीले भगवान् शिवको आराधना गरेको पवित्र दिनलाई हरितालिका भनिएको सन्दर्भ किंवदन्तीमा रहेको छ । यस दिनमा विवाहिता महिलाहरू श्रीमानको दिर्घायू तथा अविवाहिताहरू योग्य वरको कामना गरी निराहार व्रत बस्ने परम्परा रहिआएको छ ।

तीज – विगत र वर्तमान
विगतमा देश भित्र एवम् विदेशमा करिब एक महिनादेखि सहरलाई तीजले छोपिसकेको हुन्थ्यो । विभिन्न सङ्घ संस्था, समूह र सङ्गठनले तीज विशेष कार्यक्रमहरूको आयोजना गर्दथे । बजारमा भिडभाडले छिरिसक्नुहुँदैन थियो । साना देखि तारे होटेल सम्म महिना दिन देखि नै बुकिङ गरिएका हुन्थे । आफ्ना आफ्ना हैसियत अनुसार तीजलाई मनाउने क्रम रहन्थ्यो । धार्मिक स्थल खास गरी शिव मन्दिरहरूको तयारी र व्यवस्थापनको कार्य भएको पाइन्थ्यो । विभिन्न कार्यालय तथा राजनीतिक दलहरूका समेत प्रतिस्पर्धा जस्तै गरी तीजका कार्यक्रमहरू आयोजना गरिन्थ्यो । तीजका गीतहरू मार्फत कलाकारहरू स्टेजमै उपस्थित भई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गर्दथे । ग्रामीण क्षेत्रमा टाढा टाढासम्म आफ्ना चेलीबेटीलाई लिन माइतीहरू पुग्ने गर्दथे । छोरी आउने बाटो हेर्दै बसेका आमाहरू छोरीको  आगमनमा हर्षित हुने गर्दथे । वर्ष भरी माइतीघर जान नपाएका दिदीबहिनीहरु माइती पुगेर जन्म घरमा रमाइलो गरी दर खाने र तीज मनाउने गरिन्थ्यो । लामो समय भेटघाट हुन नपाएका बाल्यकालका साथीभाइहरूसँग भेटघाट गरी सुख दुःख साटासाट गर्ने सुवर्ण अवसरको रूपमा तीज पर्वलाई लिइन्थ्यो ।

तीजलाई परम्परादेखि नै आपसी एकता र सद्भावको पर्वको रूपमा लिने प्रचलन छ । पितृसत्तात्मक सामाजिक संरचना र सृजित सामाजिक व्यवहारहरूको कारण नेपाली महिलाहरूले यो पर्वलाई स्वतन्त्रता अभिव्यक्त गर्ने उत्सवको रूपमा पनि लिने गर्दछन् । सामाजिक आर्थिक असन्तुलनका कारण तीज पर्व पछिल्लो समयमा आलोचित समेत बन्दै गएको यथार्थ हो । वर्गीय असमानताका कारण तीजलाई भड्किलो बनाउन थालिएको पाइन्छ । तीजलाई सांस्कृतिक रूपमा भन्दा पनि आर्थिक रूपमा बोझिलो बनाउने तर्फ समाजका वौद्दिक वर्गका महिलाहरू समेत क्रियाशील रहेको अनुभव गर्न सकिन्छ ।

मानव जातिको अस्तित्वमा सङ्कटको रूपमा चीनको मुहान इपिसेन्टर भएर फैलिएको कोरोना भाइरसले प्रत्यक्ष परोक्ष रूपमा विश्वका २०० भन्दा बढी देश आक्रान्त छन् । विश्वका महाशक्ति राष्ट्रदेखि कमजोर राष्ट्र समेतलेआफ्नो सम्पूर्ण शक्तिलाई महामारी विरुद्ध प्रयोग गरिरहेको नेपाल पनि कोरोना महामारी विरुद्धको विभिन्न रणनीति सहित होमिएको छ । छिमेकी मुलुक चीनले व्यहोरेको मानवीय क्षति र सो पश्चात् भारतमा विस्तार भएको महामारीको उच्च जोखिमलाई मध्यनजर गरी गत चैत ११ गतेदेखि करिब ३ महिना नेपालले लकडाउन गरेको थियो । विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाको प्रमुख उपायको रूपमा अवलम्बन गरिएको बाध्यात्मक लकडाउनका कारण समग्र आर्थिक गतिविधि ठप्प भएको कारणबाट विशेष गरी दैनिक ज्यालादारी श्रमिक, गरिखाने वर्ग र महिलाहरूको समेत जनजीवन प्रभावित भएको छ। यसका बहु आयामिक असर देखिएका छन् ।

लामो समयको लकडाउन सामना गरी पुनः सामान्य तर्फ फर्कँदै गरेको नागरिक जीवन पुनः लकडाउन खुकुलोसँगै कोरोना महामारीको तीव्र फैलावटको कारण आतङ्कित बनेको छ । दैनिक मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । अधिकांश हस्पिटलहरूमा बिरामी भर्ना गर्ने बेड समेत खाली नभएकोले घरमा सेल्फ आइसोलेसनमा बसेर मृत्यु भएका दुःखद खबरहरू आइरहेको अवस्था छ । कोरोना महामारीमा नागरिकलाई सुरक्षा र व्यवस्थापनको अग्र भागमा खटिएको स्वास्थ्य र सुरक्षा क्षेत्रमा कार्यरत जनशक्ति नै सङ्क्रमित भएको अवस्था छ । नागरिक तहले सचेतना नअपनाउँदा मुलुकका कैयौँ जिल्लाहरू सिलबन्दी र निषेधाज्ञाको अवस्थामा छन् । स्वदेश र विदेशमा कैयौँ नागरिकहरू अलपत्र परेका छन् । यस विपद्को घडीमा हरेक नागरिकले कोरोना महामारीको सामना गर्न राज्यलाई सहयोग गर्नुपर्ने अवस्था छ । यस बिचमा धमाधम नेपालीहरूका चाडपर्वहरू भित्रिरहेका छन् ।

यति वेला नेपाली महिलाहरूको मुख्य चाडको रूपमा हरितालिका तीजको आगमन भएको छ । कोभिड- १९ को कारण तीजको विगत जस्तो रौनकता शून्य प्राय: देखिन्छ । सामाजिक जनजीवन अस्तव्यस्त छ । महामारीका कारण आज कैयौँ महिला दिदिबहिनीहरुको ज्यान पनि गईसकको छ, कयौँ सेल्फ क्वारेन्टाइन, सेल्फआइसोलेसन तथा हस्पिटलको बेडमा कोरोना सँग लडिरहेका छन्  । कैयौँ यस सङ्क्रमणको उच्च जोखिमको अवस्थाबाट गुज्रिरहेका छन् । यस राष्ट्रिय विपद् र सङ्कटको घडीमा राज्यको आधा भन्दा बढी जनसङ्ख्याको प्रतिनिधि गर्ने हिस्साले सङ्कटको सामना गर्न सरकार सँग हातेमालो गर्नु नागरिक कर्तव्य र दायित्व नै हो । तसर्थ यति वेला तीजको उमङ्ग छाडेर राष्ट्रिय आवश्यकता र परिस्थितिलाई मूल्याङ्कन गरी सोही बमोजिमको भूमिका खेल्नु वान्छनिय देखिन्छ ।

कोरोना कहर-लैङ्गिक अवसर र दायित्व
करिब ६ महिनादेखि कोरोना कहरले आक्रान्त जनजीवन अझै लम्बिँदै जाने अवस्था देखिएको छ । सामाजिक दूरी कायम गर्न सरकारले गरेको आव्हानलाई नागरिक तहले बेवास्ता गर्दै जानुको परिणाम कोरोना महामारी हाल समुदाय स्तरमा पुगेको छ । लकडाउन खुकुलो बनाएको अवस्थालाई समाप्तिको रूपमा बुझिएको कारण छिमेकी मुलुकबाट प्रवेश गर्ने नागरिकको व्यवस्थापनमा हेलचेक्रयाई भयो र कतिपय स्वयंले समेत सचेतता अपनाउन नसक्दा गम्भीर अवस्था सृजना भएको छ । कुनै पनि विपद् बाजा बजाएर आउँदैन भन्ने कथन नै छ तसर्थ विपद्ले सङ्कट सृजना गर्दछ । विश्वव्यापी फैलिएको कोरोना जस्ता महामारीको पूर्वानुमान गर्न सम्भव छैन । राज्य एवम् सरकारले यसका लागि पर्याप्त पूर्वतयारीहरु तथा सावधानीहरू अपनाउन सकेमा क्षति कम गर्न सकिन्छ ।

सङ्कटका बेला नागरिकले सरकारबाट अभिभावकत्व र संरक्षणको अपेक्षा गरेका हुन्छन् । नेपाल जस्तो कमजोर स्वास्थ्य सेवा प्रणाली रहेको मुलुकमा क्षतिको मात्रा अतुलनीय हुनेप्रति सबैको ध्यानाकर्षण हुनु पर्दछ । तीजको रहरलाई महिला समुदायले कोरोना महामारीलाई एकताबद्ध भई सामना गर्ने अभियानको रूपमा मनाउनुपर्दछ । प्रत्येक परिवारको महत्त्वपूर्ण सदस्यको रूपमा रहेको महिला वर्गले पारिवारिक सामाजिक अभियन्ताको भूमिकामा आफूलाई प्रस्तुत गरी मुलुकलाई योगदान गर्नु आजको आवश्यकता हो । बन्दाबन्दीको अवधिमा जबरजस्ती करणी, बाल यौन दुराचार, बोक्सीको आरोप, विद्युतीय कसुर, मानववेचविखन तथा ओसारपसार बहुविवाह, बालविवाह तथा महिला हिंसाजस्ता आपराधिक घट्नाले प्रश्रय पाएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसबीचमा गर्भवती तथा सुत्केरी महिलाहरूको विशेष सुरक्षा तथा अलग्गै व्यवस्थापन प्रबन्ध नभएको कारण मृत्यु भएको छ । यस प्रकार बन्दाबन्दीको अवधिमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाम र न्यूनीकरणका लागि प्रभावकारी उपायहरूको पहिचान गर्नु आवश्यक छ । घरेलु हिंसाको रोकथाम र यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नु आगामी चुनौतीका विषयहरू हुन । महामारीको अवस्थामा पनि बलात्कार तथा महिलामाथिका हिंसाजन्य कार्य भइरहेको हुँदा महिलाहरू अझ बढी जोखिममा परेको देखिएकोले यसको लागि तीनै तहका सरकारहरुबीच समन्वय गरी सरकारका सम्वद्द निकायहरूले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

यस वर्ष नेपाली आमा दिदिबहिनीहरुको तीजको रहरलाई कोरोना कहरले अवरोध खडा गरिदिएको छ । तीजमा घरबाहिर जाने समूहमा बसेर छमछमी नाच्ने र मिठो परिकार खाएर रमाउने अवस्था रहेन । एक आपसमा सामाजिक दूरी कायम गरी सुरक्षित रहनु हरेक नागरिकको अनिवार्य सर्त नै हो । व्यक्तिगत रूपमा सुरक्षित रहेँ मात्र परिवार र समुदाय सुरक्षित रहने हुँदा मानवीय क्षति न्यून हुने तर्फ सचेत र सजग बन्नु र बनाइनु प्राथमिक सवाल हो । आफ्नो वर्गीय हक र अधिकारको लडाइँमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। कतिपय लडाइँ अझै निरन्तर नै छ । मुलुकले हाल व्यहोरीरहेको स्वास्थ्य सङ्कटको बेला चाडपर्वहरूमा उल्लास मनाउने विषय शोभनिय हुँदैन । कोभिड १९ को कारण सबभन्दा बढी असर महिलामाथि नै परेको छ । हाल पनि अनौपचारिक सेवाको क्षेत्रमा पुरुषभन्दा महिला नै बढी रहेका छन् । घरायसी कामसँगै उत्पादनमूलक काममा रहेका महिलाहरूको रोजीरोटीबाट बञ्चित हुनुपरेको छ ।

सङ्घीय संरचनात्मक शासन प्रणाली रहेको नेपालमा सङ्घीय संसदमा ३३ प्रतिशत स्थानीय सरकारमा ४१ प्रतिशत समावेशी अवधारणाको व्यवहारिक कार्यान्वयनका कारण निजामती क्षेत्रमा समेत उल्लेखनीय प्रतिनिधित्व रहेको छ । नेपालमा कोरोना भाइरसको नियन्त्रणका लागि अवलम्बन गरिएका लकडाउन सिलबन्दी निषेधाज्ञा सचेतना राहत वितरण रयापिड टेस्ट क्वारेनटाइन आइसोलेसन जस्ता कार्यहरू हुदँहुदै पनि उक्त नीति कार्यक्रम तथा अभियानहरू लैङ्गिक मैत्री हुन सकेको पाइँदैन । यस्तो परिस्थितिमा महिलामाथि हुनसक्ने हिंसा तथा विभेदलाई सम्बोधन गर्ने जिम्मा लिएको महत्त्वपूर्ण संवैधानिक निकाय राष्ट्रिय महिला आयोग पदाधिकारी विहिनताको अवस्थाबाट गुज्रिनु विडम्बनापूर्ण विषय हो ।

प्रस्तुत सन्दर्भमा तीजको लहरलाई कोरोना कहरको बन्दाबन्दीमा सीमित गर्नुपर्ने बाध्यताले लैङ्गिक अवसरहरूको सृजना गरेको छ । सङ्कटले जोखिम उत्पन्न मात्र गर्दैन साथसाथै न्यूनीकरण र नियन्त्रणका मार्गहरू पनि खडा गरिदिएको हुन्छ । विपद्को अवस्थाको मूल्याङ्कन गरी यस पूर्व अपनाउनु पर्ने सचेतता तथा सावधानीको बारेमा पूर्णरुपमा जानकार रही देहायका कार्यहरू अवसरका रूपमा ग्रहण गर्नु पर्दछ :

-कोरोना लगायतका महामारीको अवधिमा समुदायमा रहेका महिला सङ्घसंस्था समूहको माध्यमबाट आकस्मिक रूपमा गर्न सक्ने कार्य जस्तै राहत वितरण अनलाईन मन परामर्श सेवा सूचना सम्प्रेषण गर्ने सचेतनामूलक कार्यक्रम तीनै तहका सरकारहरूको आपसी समन्वयमा सञ्चालन गरिनुपर्ने ।

-सङ्कटको घडीमा महिलाहरूले रोजगारी गुमाउन बाध्य भएका हुन्छन् त्यसबाट उत्पन्न आर्थिक समस्यालाई सम्बोधन गर्न उनीहरूको आधारभूत आवश्यकता पूर्ति गर्ने तिनै तहका सरकारहरूले रणनीति तय गरी कोष खडा गर्ने र सो को परिचालन गर्ने ।

-कोरोना लगायत महामारीको कारणले महिलामाथि के कस्तो प्रभाव तथा असर एवम् सो ले निम्त्याउने सामाजिक परिणामको तथ्याङ्क विश्लेषण गरी कुन वर्गका महिला अझ बढी प्रभावित छन् भन्ने तथ्याङ्क सङ्कलन गरी भविष्यमा योजना तय गर्न सकिन्छ ।

-महामारीको समयमा हुनसक्ने विभिन्न प्रकारका हिंसाजन्य आपराधिक कार्यहरूको पहिचान गर्ने विश्लेषण गर्ने र तीनै तहका सरकारहरूले आवश्यक सुरक्षा नीतिको तय गर्नै , कानुनी प्रबन्ध गर्ने आवश्यकता अनुसार स्थानीय न्यायिक समितिलाई सशक्त बनाउने महिला प्रहरी परिचालन गर्ने टोलटोलमा समुदायका अगुवा महिलाहरू परिचालन गर्नु आवश्यक हुन्छ ।

-महामारीले प्रभावित वर्गको लागि राहत तथा क्षतिपूर्ति वितरण कार्यलाई पारदर्शी बनाउने साथै समस्याग्रस्त महिला जस्तै अपाङ्गता भएका, वृद्ध, एकल महिला ,गर्भवती, सुत्केरी महिलाको लागि पौष्टिक आहार तथा अन्य स्वास्थ्य सामग्रीको वितरणमा ध्यान दिने ।

-दीर्घकालीन आत्मनिर्भर हुने उत्पादनमूलक क्षेत्रमा महिलाहरूको सहभागिताको लागि तीनै तहको सरकारको अगुवाइमा सरोकारवाला निकायहरूको परिचालन गरी महिलाहरूलाई स्वास्थ्य सेवासम्बन्धी नेतृत्वदायी भूमिका प्रदान गर्न सकेमा भविष्यमा कुनै पनि प्रकारका महामारीको सामना गर्न सक्ने समाजको निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।

अन्तमा  मुलुकको गम्भीर स्वास्थ्य सङ्कटको अवस्थामा सजगता र सचेततापूर्वक यस महामारी विरुद्ध क्रियाशील रहेका सरकारका हरेक निकायहरूलाई सहयोग गर्नु महिलाहरूको दायित्व हो । स्वस्थ मुलुक निर्माणको अभियानमा एकजुट भएर लागौँ र कोरोनामुक्त नेपालकोरूपमा रहने प्रतिवद्धताका साथ यो सालको तीज घरभित्रै बसेर मनाऔँ सम्पूर्ण नेपाली महिलाहरुलाई शुभकामना छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस