विपद् व्यवस्थापनमा सूचना प्रविधिको भूमिका « प्रशासन
prasaLogo
२२ श्रावण २०७७, बिहीबार

विपद् व्यवस्थापनमा सूचना प्रविधिको भूमिका


प्रकाशित मिति : 6 August, 2020 10:50 am

“विपद् विनाश र विकासको साझा स्वरूप हो”

प्राकृतिक प्रकोपबाट जनधनमा पर्ने नकारात्मक असर वा प्रभावको समग्र स्वरूपलाई विपद् भनिन्छ । जस अन्तर्गत भूकम्प, बाढी पहिरो, महामारी रोगहरू, सुनामी आदि पर्दछन् । विपदवाट उत्पन्न हुन सक्ने असर वा क्षतिलार्ई रोकथाम वा न्यूनीकरण गर्नु वा गर्दै जानुलाई विपद् व्यवस्थापन भनिन्छ । विपद् प्राकृतिक देन हो भने व्यवस्थापन मानवीय क्रियाकलापको सक्रियता हो । त्यसर्थ प्राकृतिक विपत्तिको पूर्वानुमान गरी सो बाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्दै जानु नै विपद् व्यवस्थापन हो । जुन सुकै विपदहरु पूर्वसंकेत दिएर आउने कुरा पनि हैन तर कुनै बखत कुनै न कुनै समयमा विपदहरु देखा परेको खण्डमा सो बाट कसरी कम क्षतिमा उन्मुक्ति हुन सकिन्छ भनी पूर्व तयारी गर्नु कुशल विपद् व्यवस्थापन हो । विपद् व्यवस्थापन प्रति चनाखो हुनु आम नागरिक र राज्य दुवैको कर्तव्य पनि हो । केही विपदहरु मानवीय क्रियाकलापहरूबाट उत्पन्न हुने हुँदा सो क्षेत्र तर्फ ध्यान पुर्‍याउनु नागरिक र राज्य दुवैको दायित्व रहन्छ ।

विपद् विनाश र विकासको साझा स्वरूप हो । साथै पीडादायी र सन्देशमूलक विपत्ति पनि हो । सबै विपदहरु प्रकृतिले नै स्वतःस्फूर्त रूपमा निम्त्याउँछ भन्ने पनि होइन । केही विपदहरु मानवीय क्रियाकलापहरूका कारण, आवश्यक अध्ययन अनुसन्धान र उपयुक्त गुणस्तर बेगर बनाइएका भौतिक संरचनाहरू एवं विकास निर्माणका क्रियाकलापहरूबाट पनि निम्तिन सक्दछ । उदाहरणका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रमा निर्माण गरिएका सडक सञ्जालहरूलाई लिन सकिन्छ । जहाँ वर्षायाममा बाढिपहिरोका कारण सयौँ सङ्ख्यामा मानवीय क्षति भोगिरहँदै आउनु परेको इतिहास कुनै नौलो होइन । त्यस्तै सदियौँ देखि तराई क्षेत्रको समथर भूभाग चुवानमा परि ठुलो सङ्ख्यामा मानवीय क्षति भोगिरहनु परेको पनि छ । त्यस्तै अनावश्यक रूपमा जङ्गल फडानी हुनु, भवन निर्माण गर्दा उपयुक्त मापदण्ड नअपनाउनु आदि मानवीय क्रियाकलापका कारण निम्तिएको विपद्को अर्को समस्या पनि हो ।

एक्काइसौँ शताब्दी सूचना प्रविधिको युग हो । जसको फलस्वरूप जलवायु परिवर्तनको कारण मौसममा आउन सक्ने असन्तुलनबाट निम्तिने विपदहरुको बारेमा विभिन्न समयमा जल तथा मौसम पूर्वानुमान महाशाखाबाट प्रवाह गरिँदै वा गर्दै आएका पूर्वसूचनाहरुलाई लिन सकिन्छ । आधुनिक औजार/उपकरणहरूको प्रयोग, वैज्ञानिकको ज्ञान, अनुभव, सीप, समय समयमा हुने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, अन्तरक्रिया आदि कारणले गर्दा पनि जलवायु परिवर्तनसँग सम्बन्धित तथ्यपरक पूर्वसूचनाहरु प्रवाह हुनु ती सूचनाहरू सञ्चारका विभिन्न माध्यमहरू जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरू, सामाजिक सञ्जालका विभिन्न माध्यमहरू मार्फत प्रवाह गरी छोटो समयमा जनस्तरसम्म पुग्न सक्नुले पनि विपदबाट उत्पन्न हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने तर्फ केही हदसम्म मल्हम लगाएको इतिहास पाउन सकिन्छ ।

त्यस्तै सूचना प्रवाहसँग सम्बन्धित विभिन्न निकायहरूले निर्माण एवं प्रयोग गर्दै आएका विभिन्न एप्सहरूको माध्यम मार्फत सर्वसाधारण नागरिकहरू समक्ष सूचनाहरू पुग्न सक्नुले पनि विपद् व्यवस्थापनमा सहयोग पुगेको छ । त्यस्तै विपदबाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यूनीकरण तथा व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना आदि कार्य गर्न केन्द्रमा गृह मन्त्रालय, प्रत्येक जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय, प्रत्येक स्थानीय तहहरूमा प्रकोप व्यवस्थापन समिति रहेको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि स्थापना गरिएको छ । त्यस सम्बन्धी कार्यहरूमा सबै निकायहरूको सक्रियता उत्तिकै छ । जसको कारण विपदबाट उत्पन्न हुन सक्ने मानवीय÷भौतिक क्षतिको ठुलो मूल्य चुकाउन परेको छैन । विपद्को बेला उद्धार कार्यमा सुरक्षा निकायहरूको चुस्त कार्य पनि उत्तिकै छ ।

त्यस्तै वर्तमान समयमा आएको विश्वव्यापीकरणको आमूल परिवर्तन एवं वैज्ञानिक एवं प्रयोगात्मक उच्चशिक्षाप्रति युवा जनशक्तिहरूको आकर्षणको देन पनि हो । नेपालमा पनि सोसँग सम्बन्धित अध्ययन गर्ने जनशक्तिहरूको बाहुल्यता पनि उत्तिकै छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा बहुसंख्यामा विद्यार्थीहरूको अध्ययन अध्यापन हुँदै आएको छ । यसप्रतिको प्राविधिक एवं वैज्ञानिक शिक्षाले जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्दै जनधनमा पर्न सक्ने नकारात्मक असर वा प्रभावलाई कम गर्ने तर्फ सहयोग पुगेको पाइन्छ । साथै जल तथा मौसम विज्ञान विभागमा उपलब्ध आधुनिक औजार उपकरण, दक्ष जनशक्तिको उपस्थिति, समय समयमा हुने सेवा सँग सम्बन्धित तालिम हुनु पनि विपदबाट उत्पन्न हुन सक्ने जोखिम ÷क्षतिलाई न्यूनीकरण गर्नेतर्फ महत्त्वपूर्ण भूमिका रहेको छ ।

नेपालको सन्दर्भमा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायहरूको स्थापना, सूचना प्रवाह गर्ने एप्सहरूको निर्माण एवं प्रयोग, सञ्चारमा जनताको सहज पहुँच आदि कारण ले गर्दा केही हदसम्म सकारात्मक कार्यहरू, भएता पनि केही अनुसन्धान एवं पूर्व अध्ययन बेगर निर्माण गरिएका विकास निर्माणसँग सम्बन्धित क्रियाकलापहरूले निम्त्याएको विपद्को यथार्थता पनि छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रको भौगोलिक संरचनाबाट उत्पन्न हुने गरेका पहिरोले पनि वर्षेनी विपद् निम्तिँदै आएको छ । त्यसतर्फ सबै निकायको ध्यान जानु आवश्यक छ । यसर्थ विकासको नाममा विनाश नभई विकासको नाममा दिगो विकास कायम गरी कुशल विपद् व्यवस्थापन गर्दै विकास र समृद्धिको बाटो तर्फ अगाडी बढ्दै जानु आजको आवश्यकता हो ।

लेखक संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस