राष्ट्रिय संकटका वेला नागरिकका कर्तव्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय संकटका वेला नागरिकका कर्तव्य


१४ बैशाख २०७७, आइतबार


यतिखेर सारा विश्व कोरोना भाइरसको बढ्दो संक्रमणवाट आक्रान्त छ । विकसित र शक्ति राष्ट्रहरू समेत निरीह बनिरहेको सन्दर्भमा नेपाल जस्तो आर्थिक सामाजिक विकासका दृष्टिले पछाडि रहेको मुलुकका निम्ति पिडादायी नहुने कुरै भएन । सामान्य स्वास्थ्य समस्याको समेत सुलभ र गुणस्तरीय उपचार पुर्‍याउन नसक्ने हाम्रो संयन्त्रका लागी यस प्रकारको महामारीको सामना गर्नु निकै चुनौतीपूर्ण छ । यसका लागी राज्य सञ्चालनका सबै संयन्त्र सँगै आम नागरिक समेत सचेत र जिम्मेवार बन्नु जरुरी देखिएको छ ।

आजको नवीन शासकीय सोचले सरकार शासन सञ्चालनको महत्त्वपूर्ण संयन्त्र हो तर सम्पूर्ण होइन भन्ने मान्यता स्थापित गरिदिएको छ । प्राकृतिक प्रकोप र महामारी जस्ता राष्ट्रिय विपत्तिका समयमा सरकारको एकल प्रयास र सक्रियताले मात्र त्यस्ता विपत्तिहरुसंग जुध्न पर्याप्त हुँदैन । हाल कोरोना भाइरसबाट सृजित सङ्कटको सामना सरकार एक्लैको प्रयास वाट सम्भव नहुने हुँदा निजी क्षेत्र, नागरिक समाज, गैर सरकारी संघ-संस्था र प्रत्येक नागरिकले हातेमालो गरी अघि बढ्नुपर्ने हुन्छ ।

सीमित श्रोत साधन, कमजोर व्यबस्थापिकय क्षमता, बढ्दो राजनैतिक खिचातानी एवं विगतकै कमीकमजोरीहरूको निरन्तरताले केन्द्रीय सरकारको भूमिकाप्रति जनस्तरबाट प्रश्न उठेका छन् । प्रदेश सरकारहरू केन्द्र र स्थानीय सरकारहरू सँगको कमजोर समन्वयले गर्दा प्रभावकारी कार्यक्षमता प्रदर्शन गर्न सकिरहेका छैनन् । जनताको सबै भन्दा नजिकको सरकार भनेर चिनिने स्थानीय सरकारहरू आफ्नो भूमिकामा अभ्यस्त नभइसक्दा स्थानीय स्तरबाट सम्पादन हुनुपर्ने राहत वितरण लगायतका कार्यहरूले जनतामा उत्साह भर्न सकेका छैनन् ।

निजी क्षेत्र अपेक्षित रूपमा परिपक्व र जिम्मेवार बन्न सकिरहेको छैन । अपवाद बाहेक व्यावसायिक घरानाहरू सङ्कटको वेलामा समेत व्यापारिक सोचबाट माथि उठ्न सकेका छैनन् । गैर सरकारी सङ्घ सस्थाहरुको भूमिका सुन्यप्राय देखिएको छ । नागरिक समाज आफ्नो भूमिकामा सशक्त र सङ्गठित हुन सकेको छैन ।

अहिलेको यस विषम परिस्थितिको सामना गर्न सबै सरोकारवालाहरू एकाकार भई सक्रिय हुनु जरुरी छ । हाल कोरोनाको महामारीबाट बच्न सरकारले केही कदमहरू चालेको छ। सङ्क्रमण फैलिन नदिन घरवन्दीको अवधि पटक पटक थप गरिएको छ । बाहिरी विश्व सँगको आवत जाबत पुर्णत रोकिएको छ । भारत सँगको सिमानामा विशेष निगरानी बढाइएको छ । प्रकोप परीक्षणलाई तीव्रता दिइएको छ । सचेतनाका कार्यक्रमहरू ल्याइएको छ । राहत र सहयोगका कार्य समेत अघि बढेका छन् । सरकारी स्वास्थ्य संस्था र तिनमा कार्यरत स्वास्थ्यकर्मी हरू अहोरात्र खटेका छन् । सुरक्षा निकाय र अत्यावश्यक सेवामा खटिने कर्मचारीहरूले कुशल भूमिका निर्वाह गरेका छन् ।

अव हामी आम नागनागरिकले पनि सोच्ने वेला आएको छ यो समस्याबाट छिटो छुटकारा पाउन हामीले के गर्न सक्छौँ ? कठिन परिस्थतीमा हामी आम नागरिकले खेल्ने र खेल्न सक्ने भूमिका महत्त्वपूर्ण हुन्छ । सामाजिक पद्दती निर्माणको प्रक्रिया व्यक्तिबाटै सुरु हुने हो । व्यक्ति व्यक्ति वाट परिवार र परिवारहरू मिली समाज बन्ने हो । जबसम्म व्यक्ति स्वयं आफ्नो भूमिका बोध गरी सो अनुरूपको आचरण र व्यबाहर प्रदर्शित गर्दैन तब सम्म समाजमा असल पद्दतीको परिकल्पना गर्न सकिँदैन ।

आजको आवश्यकता भनेको प्रत्येक नागरिकले कर्तव्यवोधको गर्ने हो । निजी अस्पताल र क्लिनिक हरू बिरामी जाँच गर्न आनाकानी गरिरहेका छन् । धनाढ्य व्यापारी गाडीमा सामान राखी कालोबजारी गर्दै हिँडिरहेका छन् । गरिब असहायका नाममा आएका राहत वितरण गुनासो रहित हुन सकेका छैनन् । नागरिकलाई घरभित्र राख्न सरकारलाई हम्मे हम् परेको छ । यस्ता केही प्रतिनिधि घटनाले हामी नागरिकले निर्वाह गरेको भूमिकामाथि प्रश्न चिन्ह खडा गरेका छन् ।

सरकार, निजी क्षेत्र, सञ्चार जगत् आदी सबै व्यक्तिहरूकै समूह हुन् र व्यक्तिहरूबाटै सञ्चालित हुने हुन् । यी क्षेत्रमा कार्यरत हरेक व्यक्तिहरूको आचरण आम नागरिक भन्दा अझै सचेत र जिम्मेवार हुनु जरुरी हुन्छ । यस्तो कठिन समयमा समेत नागरिकहरू एक अर्का प्रति समभाब र सहयोगको भावना राख्नुको सट्टा उल्टै समाजमा भ्रम फैलाउने, झुटा भ्रमात्मक सामग्री राखी सामाजिक सञ्जाल रंग्याउने, राज्य श्रोत र साधनको दुरुपयोग र हिनामिना गर्ने उद्यत रहने प्रवृत्ति देखिनु निकै निन्दनीय कार्य हो ।

आम नागरिकको दैनिकी फेरिएका वेला व्यक्तिगत र सामाजिक जीवनमा फेरबदल आउनु स्वाभाविकै हो । विकृति विसङ्गतिका विरुद्ध रचनात्मक सुझाव दिऔँ । स-साना विषयलाई सामाजिक सञ्जाल तताउने विषय बस्तु नबनाऔँ । एक असल नागरिकका रूपमा आफू आफ्नो परिवार र समाज प्रतिको दायित्वबोध गरौँ । सामाजिक सद्भाव फैलाउने, सही सूचना र समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्ने, राहत लगायत अत्यावश्यक सामग्री को सहज वितरणमा सघाउ पुर्‍याउने, सङ्कटमा परेकालाई आर्थिक र मानवीय सहायता उपलब्ध गराउने एवं आफ्नो वरपरको सामाजिक वातावरण स्वच्छ राख्ने जिम्मेवारी हामी नागरिककै हो ।

संकटका वेला आम नागरिक मध्ये पनि थप सेवा सुविधा आवश्यक पर्ने वर्गका नागरिकहरू जस्तै वृद्ध, बालबालिका, दिर्घरोगी, गर्भवती, सुत्केरी आदीको अवस्था कति कष्टकर होला सहजै अनुमान लाउन सकिन्छ । विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू हप्तौँ हिँडेर घर फर्किरहेको दृश्यले तपाइ हामी सबैलाई छोएकै छ । स्वास्थ्यकर्मि सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवामा खटिने कर्मचारी र तिनका परिवारको अवस्था र मनोवैज्ञानिक असर के होला ? के हामीले यस्वारेमा सोचेका छौ ? हामीले सामाजिक सञ्जालमा व्यक्त विचार, तस्बिर वा अन्य सामग्री राख्दा त्यस्ता नागरिकको भावनामा कस्तो असर पर्ला ? हामी जिम्मेवार नागरिकले बुझ्नु पर्ने होइन र ? त्यसैले हामी सबै नागरिकहरू आफू वा व्यक्ति केन्द्रित नभई आपसी सहयोग र सद्भावका साथ आफ्नो आचरण र व्यवहार प्रदर्शित कार्य गर्नुपर्ने अवस्था छ ।

प्रत्येक नागरिकले आफुपनि यो समाजको एक अभिन्न अंश हु र अहिलेको सङ्कट सँग जुध्न मेरो पनि उत्तिकै भूमिका छ भन्ने मनन गरी सरकार र अन्य निकायले गरेका कार्यमा हातेमालो गर्ने हो । सरकारले जारी गरेका नियमहरूको अक्षरशः पालना गर्ने गराउने, अत्यावश्यक कार्यमा बाहेक घरबाट बाहिर ननिस्कने, भौतिक दुरी कायम राख्ने, आफ्नो परिवार र समुदायलाई सचेत र सुसूचित गर्ने गराउने, आधिकारिक सूचना र श्रोतको अनुसरण गर्ने तथा संयमता र धैर्यता प्रदर्शन गर्ने जिम्मेवारी हाम्रै हो ।

यतिखेर सरकारको ढोका घचघच्याउने मात्र होइन हामी नागरिक आफै पनि घच्घचिने सुनौलो अवसर प्राप्त भएको छ । आफूमा रहेका प्रतिभा र सम्भावनाका क्षेत्र पहिचान गर्ने उपयुक्त अवसर जुटेको छ । परम्परा देखी चली आएका धर्म, संस्कृति, दर्शन, योग, ध्यान साधना, सङ्गीत आदीको महत्त्व बुझेका छौ । जीवन आत्मनिर्भर बनाउने उपायहरू खोजेका छौ । त्यसैले यो समयको सदुपयोग गरौँ । स्वास्थ्य र शिक्षामा लिइएका मौजुदा नीतिहरूको बारेमा बहस चलाऔँ र आगामी दिनमा यी क्षेत्रहरूमा गरिनुपर्ने तथा चलिनुपर्ने कदमको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराऔँ । कसैको कमजोरी माथि छलफल गर्ने वा दोषारोपण गर्ने समय खर्च नगरौँ । यो विश्वव्यापी महामारीबाट बच्न र बचाउन हरेक नागरिकले आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्न जरुरी छ । यसो गर्न सकिएमा नेपाल सहित विश्वभरीनै फैलिरहेको कोरोना संक्रमणको फैलावट कम हुने र पुन हामी हाम्रो नियमित दिनचर्यामा फर्कन सक्ने स्थिति सृजना हुन सक्ने देखिन्छ ।

उप-सचिव शर्मा हाल नेपाल सरकारको छात्रवृत्तिमा जापानमा अध्ययनरत छन् 

Tags :
प्रतिक्रिया दिनुहोस