बंगलादेशबाट नेपाली विद्यार्थीको प्रश्न -सबै देशले आफ्ना नागरिक लगिसके, हामीलाई कहिले लैजाने ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बंगलादेशबाट नेपाली विद्यार्थीको प्रश्न -सबै देशले आफ्ना नागरिक लगिसके, हामीलाई कहिले लैजाने ?


१९ चैत्र २०७६, बुधबार


कोरोना भाइरस(कोभिड-१९) दुनियाँभर फैलिएको महामारी हो । हामी विश्वभर फैलिएको अहिलेको विषम परिस्थितिलाई सञ्चार माध्यम र सामाजिक सञ्जालबाट एकदमै नजिकबाट नियालेर हेरिरहेका छौँ ।

बंगलादेश्मा रहेका नेपाल राजदूतावासको तथ्यांकअनुसार अहिलेसम्म सात सयको हाराहारीमा चिकित्सा शास्त्र र अन्य विधाका विद्यार्थीहरू बङ्गलादेशमा अध्ययनरत छौँ । तर अहिले बङ्गलादेशको विभिन्न प्रान्तमा गरी ५०० को हाराहारीमा मात्र नेपाली विद्यार्थी रहेका छन् ।

अझै पनि सरकारले विदेशमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तत्काल कुनै योजना नरहेको भन्नु कतिसम्म न्यायसङ्गत कुरा हो ? प्रायजसो राष्ट्रले आफ्ना नागरिकहरूलाई स्वदेश फर्काइसकेको र फर्काउँदै गरेको अवस्थामा नेपाल सरकारको तयारी एवं व्यवस्थापन चित्त बुझ्दो देखिएन। विगत १२ दिनदेखि हामी कलेज होस्टेलमै सेल्फ क्वारेन्टिनमा बसिरहेका छौँ। सबै कलेजका हस्टेलहरुमा प्रायः नेपाली विद्यार्थीहरुमात्र बाँकी रहेका छौँ ।

बंगलादेशमा विभिन्न मुलुकका विद्यार्थीहरू शिक्षा पढ्न आएका थिए। उनीहरूलाई सम्बन्धित देशहरूले उद्धार गरिरहेको छ। तर, हाम्रो बारेमा सरकारले कुनै पनि कुरा बोलेको छैन। हामी हेल्थ सेक्टरका विद्यार्थी भएका नाताले हाम्रै देशमा फर्किएर देशलाई सहयोग गर्न चाहन्छौँ।

यता परिवार र उता छोराछोरी आत्तिएका छन् । सरकारले केही पहल गरिदिएमा अभिभावकविहीन जस्तो अवस्थामा बस्न बाध्य हुनुपर्ने थिएन ।

लकडाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फस्न पुगेका नेपाली समस्यामा परेकोले वैकल्पिक व्यवस्था गरेर समस्या समाधान गर्नुप¥यो ।

नेपालमा पीपीई लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अझै धेरै ठाउँमा नपुगको कुरा सुनिरहेका छौँ । सबै क्षेत्रमा पर्याप्त सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिन्छ । नेपालभरिका स्वास्थकर्मीहरुप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेको स्मरण गराउँदछु।

उच्च जनघनत्व भएका कारण बङ्गलादेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई अवगत नै छ। परीक्षण गर्नका लागि चाहिने स्वास्थ्य उपकरण, टेस्ट किट्स पर्याप्त मात्रामा नभएको कारण बङ्गलादेश सरकारले सार्वजनिक गरेको कोरोना भाइरसको सङ्क्रमित सङ्ख्याको तथ्याङ्कलाई सटिक मान्न सकिन्न। विश्व स्वास्थ्य सङ्गठनले पनि बङ्गलादेश सरकारलाई यसबारे सचेत गराउँदै आएको छ।

यस्तो अवस्थामा विद्यार्थीहरूले भोग्नु परेको मानसिक एवं पारिवारिक तनावको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

डा. राजु शाह
पूर्वअध्यक्ष, नेपाली विद्यार्थि यूनियन बंगलादेश

Tags :
प्रतिक्रिया दिनुहोस