प्रशासन उप सचिव परीक्षा : फरक रोमाञ्चक अनुभूति « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रशासन उप सचिव परीक्षा : फरक रोमाञ्चक अनुभूति


२४ पुस २०७६, बिहिबार


४३ वर्ष क्रस गरिसकेको अर्धवृद्ध मान्छे म । गाला चाउरिदै¸ उमेर ढल्कदै¸ दाँत झर्दो उमेरमा प्रवेश गर्दासम्म लोकसेवा गाइडका बुँदा घोकेर कुनै प्रमोसन थाप्नु थिएन । आफ्नो जिम्माको काम थाँती राखेर ट्युसन र कोचिङ सेन्टर बुकुर्सी मार्दै खुला¸ आप्र¸ छड्के सिँढी उक्लिँदै कुनै उच्च स्थान भेटुँला भन्ने अभिलाषा र लालचा थिएन । त्यही भएरै राजीखुशी सङ्घ र प्रदेश छोडी स्थानीय तहमा समायोजन भई घर पायक नगरपालिकामै थन्किई पथाउरी परेको । तर परिस्थिति कस्तो पर्‍यो भने विगतमा एक खालको पद्धतिमा अभ्यस्त भएको । विशेष गरी जिल्ला स्तरीय कार्यालयमा कार्यरत रहँदा एउटा विधि र पद्धति । कर्मचारीतन्त्रमा ज्येष्ठता तथा पदसोपान प्रणालीको मान्यता स्थापित । सरकारी कामकारबाहीकै क्रममा कार्यालय प्रमुखसँग संस्थागत र व्यक्तिगत रूपमा जतिसुकै मतभिन्नता रहे पनि कर्मचारीतन्त्र भित्र सिनियारिटी वेशको आधारमा जिम्मेवारी प्रदान गर्ने सर्वस्वीकार्य परम्परा ।

मुसिकोट नगरपालिकामा खटिई कार्यरत रहँदाको अनुभव अलि भिन्न । उप सचिव सरहको कार्यालय प्रमुखको पद १० औँ तह । सङ्घीय सेवा र दशौँ तह एकै पटक कसरी ? यो बनाउने उपरवाला परमात्माले जानोस् किनकि सङ्घीय सेवामा तहगत छैन । तहगत भइसकेपछि सङ्घीय सेवाको कसरी रह्यो ? दशौँ तहदेखि चौथो तहका कर्मचारी कार्यरत । तर कहिले सातौँको कहिले छैटौँको कहिले पाँचौँको कार्यालय प्रमुख हुने प्रचलन । छानी छानी आफू अनुकूल । शिक्षा सेवा आठौँ तहलाई त्यो जिम्मेवारीबाट विमुख । कि सङ्घीय सेवाकै उप सचिव भए त ठिकै हो । जसले कासमू पनि गर्छ । हाकिम पनि हुन्छ । तहगत हाइराकी पनि मिल्छ । स्थानीय तहमा समायोजन भइसकेपछि त सबै स्थानीय सेवाका भएनौँ र ? अथवा शाखागत र सेवा समूहको कुरा गर्ने हो भने कि त शाखा र सेवा समूहलाई अलगअलग मान्नुपर्यो र सोही अनुरूप व्यवस्थापन गर्नुपर्‍यो । न सेवा समूह स्वायत्त, न सबै सेवा समूहलाई एकीकृत गरी सिनियारिटी वेशको आधारमा परिचालन !

हुन त म पनि अनौठो मानव प्राणी नै हुँ । हिजो प्राइभेट सेक्टरमा सुविधाजनक ठाउँका नोकरी¸ ५४.५५ सालमै विदेशमा आकर्षक तलब सुविधा सहितका अफरहरू परित्याग गरी¸ तत्कालीन अवस्थामा सेवा आबद्धताका प्रचुर सम्भावना हुदाहुदै अन्य सेवामा अहिलेसम्म जाँचै नदिई शिक्षा सेवाको चुत्थो जागिरमा दुर्गम देहाततिर झुन्डिरहेको । नगरपालिकामा समायोजन भइसके पछिका विषयप्रसंग मभन्दा झन् अनौठो अनुभव ।

उक्त प्रसङ्गले एक खालको झोँक चल्यो ! के हो त त्यो सेवा । कि त परिवार एउटै हुन्छ । कित जेठो माइलो साइँलो कान्छो परिवार पिच्छे अलगअलग हुने गर्छ । आफ्नो सेवा समूहको सिनियर त हुने नै भयो तर सबै सेवा समूहको सिनियर पनि उही कसरी ? पल्लो घरको परिवारका सदस्य कमजोर र निरीह हुँदैमा वल्लो घरको मान्छे कसरी पल्लो घरको पनि जेठो कहलिन्छ ? जेठो कहलिन त परिवार एउटै हुनुपर्‍यो । परिवार पनि अलग हुने अनि जेठोको पगरी पनि गुथ्नै पर्ने ? डाक्टर¸ इन्जिनियर¸ कृषि¸ वन¸ शिक्षा लगायत सबै इतर सेवाको पनि उही सिनियर ? सधैँ हाकिमी । सधैँ मालिक । अरू सबै सेवा समूह सहायक र सी ग्रेड । जुन तह र श्रेणीको भए पनि उही नै नजिक र चल्तापुर्जा । अरूलाई त फाल्तु लिलामीको न्यूनतम दर्जा । २.४ थान बुँदा घोकेर लेख्न कसो नसकिएला भन्ने हुर्मत जाग्यो । भित्रैदेखि पढ्ने रहर थिएन । अध्ययनमा अन्तरइच्छा¸ उत्प्रेरणा र अभ्यासको अभावमा बाहिर बाहिर अरू कुनै फ्याक्टरको प्रभावबाट गरिने पढाइले सफलता प्राप्त गरिँदैन भन्ने थाहा हुँदाहुँदै भरियो फाराम । नेपाल प्रशासन सेवा राप द्वितीय । आन्तरिक र खुला प्रतियोगिता ।

परीक्षा दिन जाऊँ कि नजाउँ¸ जाऊँ कि नजाऊँ । विगत एक डेढ महिनाको अवधिमा यो वाक्यले राम्रैसँग दिमागी चक्कर मच्चायो । सम्भवत दिमागमा घुमेको सबैभन्दा ठुलो तरङ्ग र कम्पन यही दुबिधा नै रह्यो । स्वतःस्फूर्त स्वाध्ययनको सिलसिलामा विभिन्न¸ लेख रचना र समसामयिक विषयहरूमा उहिल्यै पहिलेदेखि जानकारी चासो । सहयोगी गाइड पढ्ने त कुरै भएन । तैपनि मित्र प्रेम गिरी मार्फत केही थान किताब पुगे रुकुम मुसिकोटमै । तर कस्तो भयो भने आजका दिनसम्म ती किताबका एउटा पाना पनि पल्टिएनन् । लोक सेवाका किताब भन्ने बित्तिकै भननन टाउको रिङ्गने अनौठो रोगको लक्षण व्युत्पन्न ।

जे होस जाऊँ न त एक पटक भन्ने मनसायले काठमान्डौ भित्रिइयो । आइसकेपछि २.४ दिन कोठामा एक छटाक पनि किताब हेरिएन । आँखा टट्टाउने¸ रिँगटा लाग्ने । परीक्षाको बिहानसम्म पनि फेरि उही पुरानो कुराको पुनरावृत्ति । जाऊँ कि नजाऊँ जाऊँ कि नजाऊँ । गुगल अर्थमा परीक्षा केन्द्र पिइए एसोसिएसन सर्च गर्दा बसाइ स्थान सुनधाराबाट हिँडेरै १५ मिनेटमा पुगिने रहेछ । दोधारै दोधारमा जाऊँ न एक फेर भन्दै कोठाबाट प्रस्थान ।

मध्य पुस । डाँडाकाँडामा हिमपात¸ चिसो र मुसलधारे पानीले कठ्याङ्ग्रिएको धुम्म काठमाडौँ । अनि जाँगर नलागी नलागी खुट्टाका पैताला लतारी रहेको अर्ध बुढो परीक्षार्थी । दशरथ रङ्गशाला त्रिपुरेश्वर हुँदै जेसीसमार्ग थापाथली पुग्दा दिउँसोको सवा बाह्र । परीक्षा हलमा घुइँचो । कोठा नम्बर ५०३ खोज्दै उपल्लो तला उक्लिँदासम्म हल भरिभराउ । माननीय उपसचिवका उम्मेदवारज्युहरु हात माड्दै कलम तिखार्दै । आँखा हल्का हल्का तिरमिर तिरमिर । साढे बाह्र भएपछि हल खचाखच । नेपाल सरकारका अधिकृतहरूको अपूर्व जमघट । चिल्ला चुपिला कास्मिरी स्याउजस्ता गाला । महिलाहरूको आधिक्यता । पाएको मौका । पछि के कसो । अगाडिकै दायापट्टी सिटमा आफूखुसी आसन ग्रहण । बसौँ कि उठौँको दोधार यथावत् । किन आएको छु जस्तो अनुभूति कायम । घडीको छोटो सुई ठ्याक्कै एकमा । ट्वाङ्ग घण्टी । हात हातमा प्रश्न पत्र । परीक्षा सुरु । गेम स्टार्ट । अल द वेस्ट ।

ए फोर साइजको पेपर । ११ का फन्ट । दुई पेजमा नअटेर डिफल्ट मार्जिन घटाएर प्रिन्ट । कति लामो भूमिका । उत्तर हुन कि प्रश्न । छुट्ट्याउनै मुस्किल । भन्न खोजेको के हो खोज्दैमा दिन बित्ने रात बिलाउने । नेपालको कर्मचारीतन्त्रको खाँटी पहिचान प्रश्नसम्मै अभिव्यक्त । सेल रोटी घुमेझैँ फनफनी फनफनी । नटुङ्गिने कुरो । तल्लो वाक्यांश पढी नसक्दै सुरु वाक्यांश बिर्सने । कस्तो भाषा । कति घुमाउन सकेको । जेरी जुलपी घुमाएझैँ । रिङ्गरोड घुमेझैँ । आकाशवेलीका लहरा । जरा र टुप्पा ठम्याउन महाभारत ।

पहिलो प्रश्न सार्वजनिक खर्च व्यवस्थापन । समस्या र समाधान त हुने नै भए । जहाँ समस्या त्यहाँ समाधान । सरर हेरेँ । कता फेसबुकमा देखेको सुन्दर र मुलायम केटी बाटोमा अकस्मात् भेट भएजस्तो लाग्यो । चिनेजस्तो न नचिनेजस्तो । दुई नम्बरी हेरेँ । नयाँ सार्वजनिक शासन तथा सन्जालीकृत शासनमा जनताको संलग्नता र स्वामित्व । कता कता नाइट बस यात्रामा झमकझमक निन्द्रामा सुनेको पुरानो हिन्दी गीत सङ्गीतको सुमधुर धुनजस्तो । ३ नम्बर उही वैदेशिक लगानी भित्रिन नसक्नुका कारणहरू । चर्चामै छ ५५ अरबे एमसिसी । एन्डो प्यासिफिक इस्ट्रयाटिजी र बिआरआइ प्रोजेक्ट । कोही पक्ष कोही विपक्ष । आएको सहयोग कुशासनमै झ्वाम्म । खर्च गर्ने क्षमताको अभाव । अनेक थरी आशङ्का । दलगत र गुटगत छिनाझपडीको जाँतोमुनि पिल्सिएको राष्ट्रिय हित । किन बढ्छ सहयोग । न आएको सदुपयोग । आएको पनि उतै फिर्ता । न देखिने प्रतिफल । न प्राथमिकताका क्षेत्रमा परिचालन । न ग्याप फिलिङ्ग । न लक्षित लाभग्राही । उल्टै खप्की¸ अविश्वास¸ नीतिगत अस्थिरता र लगानी असुरक्षा ।

तीन नम्बर लेखीसक्दासम्म लेखाइमा जाँगर चम्किँदै । पास फेलसँग के सरोकार । लम्वेतान प्रश्न राम्रोसँग हेर्दै नहेरी निहितार्थ भावको आधारमा आफ्ना मनमा गुम्सिएका भावनाका उच्छवासहरु ओकल्दै । फेसबुक पत्रपत्रिकामा नलेखेको पनि धेरै भाथ्यो । कसलाई सुनाउनु मनका विरह वेदना र देशका जर्जर हाल बेहालहरू । कमसेकम उपु परीक्षकसम्म पहुँच्याउने स्वर्णिम अवसर । नेपाल सरकारको सेवा निवृत्त कुनै बुढो खण्डहरू विज्ञ वा विश्वविद्यालयको दलीय प्रोफेसर । धमिला आँखा । कर्के हेराइ । कोल्टो सोँच । खोबुल्टे बुद्धि । योग्यता हिरो । क्षमता जिरो । लामो अनुभव । प्रतिफल शून्य । झरेका दाँत । फुलेको कपाल । कम्पासमान हत्केला । चाउरिँदै छाला । जर्जर अस्थिपञ्जर । उप परीक्षण पछि प्राप्त हुने द्रव्यमा चुहिरहेको र्‍याल । ख्वाकख्वाक खकार । न्याररन्यारर पिनास । गहिरिए के पढ्लान् बुढाले ! के देलान् नम्बर ! जस्तालाई त्यस्तै । ढिँडालाई निस्तै । म पनि उस्तै । मन पराउने र उत्तीर्ण हुनेसँग के सरोकार । तीन घन्टे अवधि । निस्कनु कसरी । लेख्नै त पर्‍यो । मनका विलौरी । लेख्दालेख्दै मौलिक सृजना र उद्देलित विचारहरू आइपुग्यो नम्बर चार ।

चार नम्बर पुग्दा जिब्रो सरररर रसायो । महमा तैरिरहेको जेरी र रसबरी मुखमा राखेजस्तो । पहिलाका दुबिधा पूर्ण पत्तासाफ । हँ ! खोजेको प्रश्न । रोजेकै विषय । कुद्न थाल्यो पाइलट पेन । वर्तमान नेपालको सबैभन्दा ज्वलन्त सवाल । संघियताको गलपासो । चित्रबहादुरको झल्याँस्स सम्झना । कस्तो हो नेपाली सङ्घीयता ? जसको लागि ल्याइयो उसैलाई मन नपर्ने । जसले ल्यायो उसैले अवलम्बन गर्नु नपर्ने । जहाँ लागू गर्न खोजिदैछ त्यहाँ आवश्यकै नदेखिने । ढिलासुस्ती¸ खर्चपर्च¸ दुविधा¸ अन्यौलता¸ खिचातानी¸ तानातान¸ छिनाझपडी¸ व्यवस्थापकीय झन्झटका अनेक लहरा ।

हिजोका सबै संरचना र निकाय कायमै राख्ने । नयाँ परिवर्तनको अनुभूति पनि देखाउनै पर्ने । काठमान्डौको दरबार अङ्कमाल गरिरहने । संघियताको मन्त्रोच्चारण पनि नछोड्ने । अधिकार जति हेड क्वाटरमै । माथिबाट बचेखुचेको चारो हुत्याउने¸ तलका मनुवाहरू त्यही चारो टिप्दै जिब्रो डकार्ने । तलदेखि माथिसम्म तानातान र खिचातानी । के हो सङ्घीयता ? कहाँ छ यो ? हिजो ६०१ जनालाई हलमा हुलेर ७ जना शीर्षस्थहरुले मध्यरातमा भटाभट धाराकाधारा पारित । न सभासदको विवेक । न जनताको आवाज । न विज्ञको सुझाव । न फ्याक्ट बेस । न भ्यालु बेस । जनता भन्ने एउटा । शीर्ष निर्णय अर्कै । के खो आधारमा ६ थियो । के खो आधारमा ७ भयो । के खो आधारमा ५ रहेन । शीर्ष सहमति । सभा बन्धक । बाध्यताको ह्विपमा उठेका हातहरू । झ्याम्मझ्याम्म पारित । निल्नु न ओकल्नु ।

लाखौँ बेरोजगार कार्यकर्ता व्यवस्थापनको लागि हजारौँ पद सिर्जना गर्दैमा कहाँ पुष्टिन्छ यसको औचित्य । संघियताको उखान ‘बोको भनौँ नसो छैन¸ खसी भनौँ बोसो छैन ।’ लेख्दा लेख्दै घन्टौँ बिते । अनेक थरी तर्कना । अधिकांश देशमा दुई तह । नेपालमा तीन तह । जिल्ला समेत चार तह । अधिकांश देशमा कमीङ्ग टुगेदर नेपालमा होल्डीङ्ग टुगेदर । कहाँबाट उठ्यो यसको बहस ? कहाँ पुगेर टुङ्गिन्छ ? जसले लडेँ भन्छन् यसकै लागि उनैले तोक्छन् स्थानीयका नामकरण र प्रदेशका राजधानी केन्द्र सचिवालयबाट । सङ्घीय रुखका जरा स्थानीय र हाँगा प्रदेश । बलियो बनाउनु पर्ने स्थानीय जराहरू । तर शीर्ष नेतृत्व काठमान्डौको थानकोट काट्न अनिच्छुक । भित्री मनमा राजनीतिज्ञ र कर्मचारीका उच्चपदस्थहरू सबै केन्द्रीयताका पक्षधर । संघियतालाई बलियो बनाउने भित्री चाहना हुन्थ्यो त शीर्षस्थहरु प्रदेश मुख्यमन्त्रीमा किन गएनन् ? कर्मचारीका बोसहरूले प्रदेश र स्थानीय किन रोजेनन् ? कुरा प्रस्टै छ पहुँचवाला सङ्घमा झारेझुम्रेहरु प्रदेश र स्थानीयमा । शक्ति र पहुँच केन्द्रमै अनि कसरी बलियो हुन्छ सङ्घीयता ?

काठमाडौँ र जिल्ला सदरमुकामको अमूल्य घडेरी । जिन्दगी भरीको कमाइकजाई । स्थानीय तहमा न घडेरी न घरबार । घरघरमा सिंह¸ घरघरमा दरबार । जनताको गर्धनमा करैकरको तरबार । सकेसम्म अधिकार आफूमै केन्द्रित गर्ने मनसाय । अधिकार तानातानमा बर्षौ बित्ते अझै न भुत्तो न भविष्य ती । कहाँ गए कार्यवृस्तीतिकरण प्रतिवेदन¸ कहाँ पुगे संघ¸ प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सम्बन्धी विधेयक¸ संविधान जारी भएको ३ बर्ष¸ सङ्घीय संसद् सुरु भएको १ वर्षभित्र बन्नुपर्ने सङ्घीय कानुन¸ प्रदेश कानुनलाई समेत आधार मानी बनाउनु पर्ने स्थानीय कानुनको हविगत । प्रदेश र स्थानीय तहमा गएका क्षेत्राधिकार मुताबिक जनशक्ति र वित्तीय संघियताको अवस्था । कर्मचारी समायोजनमा प्रयोग मत्स्य न्यायका सिद्धान्त । स्थानीय तहहरुको परिचालनमा अख्तियारको निर्देशन र महा लेखामा थुप्रिँदै बेरुजुका चाङहरू । प्रदेश र सङ्घले स्थानीयसम्मै तन्काइरहेका लामालामा हातहरू । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सक्रियता । अनेकथरी कानुनको चक्रव्यूह जन्जाल । जो जता उतै अधिकार खिच्ने ध्याउन्ना । अपजस अर्काको जसभरि आफ्नो । एकआपसमा धारे हात । नेपाली सङ्घीयता बोकाको मुखमा कुभिन्डो । पहिलो गाँसमै ढुङ्गा । भुईँ मान्छेको प्रतिक्रिया बेग्लै । यो भन्दा कति लेख्नु । नम्बर त कति हो कति । तस्बिर नाच्न थाल्यो उप परीक्षकको । अहो उता खण्डहर अस्थिपञ्जर र यता प्रतिक्रान्तिकारी भाव मिश्रित उग्रवादी विचार ।

क्वोइशन नम्बर पाँच । पढ्नै नपर्ने । प्रश्न पढ्ने फुर्सद पनि कहाँ छ र । आधा घण्टाको पाबन्दी । प्रथम अक्षर छ प्रमुख प्रशासकीय अधिकृत¸ लास्ट अक्षर के गर्ने विचार छ ? बिचमा त केके हुन्छ थाहै छ । नीति छ¸ कानुन छ¸ संरचना छन्¸ दल छ¸ सरकार छ¸ कर्मचारी संयन्त्र छ¸ अपेक्षा छन्¸ सपना छन्¸ समस्या छन्¸ चुनौती छन् । समाधानको लागि कार्य योजना चाहियो ।

समयको पनि अभाव । शिक्षा सेवाको मान्छे । झ्याम्मै प्रमुख प्रशासकीयमा दाबी गर्न कताकता अप्ठ्यारो अप्ठ्यारो लाग्न थाल्यो । जुन पदको टक रावले यता आइयो । यता पनि उही ठक्कर ।

सामुन्ने अगाडि प्रमुख प्रशासकीय भन्ने बित्तिकै हल्का गम्भीर बनायो । खाऊँ कि नखाऊँ भो । भीमकाय समस्याहरूको चाङ । बाख्रोको खोरदेखि भैँसीको भकारोसम्म¸ टमाटरको टनेलदेखि फोहोर मैला व्यवस्थापनसम्म¸ जनताका उर्लँदा सपना साकारदेखि निर्वाचित दलका अपेक्षा परिपूर्ति र पराजित दलका गनगनसम्म¸ विभिन्न पक्ष¸ तह र निकायको समन्वयदेखि राज्यका योजना कार्यान्वयनसम्म । चौतर्फी हात नहाली हाकिम नहुने । हाकिम नभई ‘उक्त सेवा’ नहुने ।

नम्बर पाँचमा आउँदा लेखाइमा ब्रेक लाग्न थाल्यो । लेखौँ कि नलेखौँ भो । यो प्रमुख प्रशासकीय भएपछि त नेताहरूको खातिर दारी गर्नुपर्ने होला¸ मान्यवरको स्वागतमा फुलका गुच्छा बोकेर बाटैसम्मै पुग्नुपर्ने होला¸ अनेकथरी हाकिमहरूको अघिपछि लुखुरलुखुर कुद्नुपर्ने होला¸ ठाउँकुठाउँ सरुवा नगराई रोजेकै ठाउँमा मिलाइ पाउँ भन्दै नेताजीहरूका पाउमा अनवरत तेल दल्नुपर्नेहोला¸ सरुवा¸ बढुवा र जिम्मेवारी प्राप्तिमा दलको टिकस र सदस्यता काट्नुपर्नेहोला¸ मनमा पिडै पिडा भए पनि उनका सामु ङिच्चङिच्च दाँत ङिच्याउनुपर्ने होला¸ मनका भावहरू दबाएर उनकै स्वार्थमा निर्लिप्त हुनुपर्ने होला¸ राजनीति र सत्तामा देश र जनता त हात्तीका देखाउने दाँत हुन नि त ! ओ साहेब ! खास खातिरदारी त सत्तासीन दलकै अगुवापछुवा टाउके पुछ्रेहरुको पाउकष्टमा घोप्ट्यासन पर्नुपर्ने होला । उनकै धोती लङ्गौटी मोल्नुपर्ने होला । उनका स्वार्थमा धक्का लागेको क्षणदेखि अनेकथरी आरोपको जन्जाल खेप्न तत्पर हुनुपर्ने होला ।

मनमनै सोच्दै गएँ । सोच्दै गएँ । यो प्रमुख प्रशासकीयको पदमा बसेर आडम्वर¸ षडयन्त्र¸ तिकडम¸ जालसाझी गर्दै शासकीय मानसिकताको रिङ्गने कुर्सीमा विराजमान हुनुभन्दा त शिक्षा सेवा स्थानीय तहको आठौँ अधिकृत नै कता हो कता ठिक ठहर । तीनघन्टा अघिदेखि दन्केको राँको हुन्डरी मत्थर । दौडिरहेको कलमको गति मन्द । प्रशासन सेवातिर लहसिन खोजेको अर्धबृद्ध सोचको दियालो निभ्दै र प्रश्न नम्बर पाँचको समयावधि निप्टिदै ।

नाइल नदीभन्दा लामो अष्टबक्रे प्रश्नमा भनेझैँ दुर्गम दूर दराजका नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त¸ मितव्ययी र गुणस्तरयुक्त बनाई एक वर्षभित्र सुरक्षित¸ शान्त र सुव्यवस्थित नगर निर्माणको लागि थापाथली जेसीसमार्गको पिइए एसोसिएसनको पाँचौँ तला ५०३ कोठाको बेन्चमा बसेर सोँचपत्र¸ रणनीतिक खाका र कार्ययोजना बनाउन सकिन्न लोकसेवा महोदय ! त्यसरी निर्मित योजना वास्तविकतामा आधारित नभई काल्पनिक र मनोगढन्ते हुन्छन् । कपोलकल्पित चिन्तन र सोँचले नगरपालिकालाई यथास्थितिबाट अगाडी होइन झन् पछाडि धकेल्छ ।

वास्तविक र कार्यान्वयन योग्य योजनाको लागि त सम्बन्धित स्थानमै पुगी¸ स्थानीय आवश्यकता¸ स्थानीय सहभागिता¸ स्थानीय स्रोत साधन¸ स्थानीय विज्ञता र स्थानीय सन्दर्भ अनुसार त्यहीँकै धरातल माटोमा बसेर यथार्थ खाका कोर्नुपर्ने हुन्छ । सुनधाराको होटेलमा बसेर¸ थापाथलीको प्राइभेट स्कुलको कक्षाकोठामा ३ घण्टाको पछिल्लो आधा घण्टामा निर्मित अन्टसन्ट योजनाको खाकाले कन्ठाग्र पट्टु उपसचिव छनौट त गर्ला तर स्थानीय तहको समृद्धिको परिकल्पना परिपूर्ति गर्न सकिन्न भन्दै परीक्षा हलबाट एक्जिट बहिर्गमन । अब पहिलो पत्रको लेखाइ यस्तो भएपछि ३.४ दिन काठमान्डौँको जाडोमा थुरथुर कठाङ्ग्रिदै दोस्रो पत्रको परीक्षा दिने फुर्सद नभएको हुँदा प्रशासन उपसचिवबाट विनाशर्त उम्मेदवारी फिर्ता लिँदै लोक सेवाको लिखित परीक्षासँग अब अर्को जुनीमा पनि नभेट्ने प्रतिज्ञा सहित अलबिदा । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस