निजामती सेवामा अवकाशको उमेरहद बहस र औचित्यता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवामा अवकाशको उमेरहद बहस र औचित्यता


११ पुस २०७६, शुक्रबार


कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने संघीय निजामती सेवा विधेयक निर्माण भईरहेको विषय अहिले ज्यादै चर्चामा छ । कर्मचारीको बढ्दो औषत आयू (Rising life expectancy) र कर्मचारीको अनिवार्य अवकाश (Age of retirement) मा तालमेल स्थापना गर्नुपर्ने मान्यतामा रहि आएको छ । यसको विपक्षमा पनि विभिन्न मतहरु सुनिने गर्दछन् । अवकाशको बिश्वव्यापी मान्यताको चर्चा गर्दै र नेपालको निजामती प्रशासनमा यसको प्रभाव विश्लेषण गर्दै अवकाश उमेर ६० वर्ष बनाउनुको औचित्यता पुष्टि गर्नुहोस ।

१. विषय प्रवेश

सेवारत कर्मचारीलाई संगठनको विधमान कानून बमोजिम सेवावाट ‍औपचारिक रुपमा अलग राख्ने प्रकृया नै अवकाश हो ।अवकाश सम्वन्धी विभिन्न विश्वव्यापी मान्यताहरु हुन्छन्, त्यसैको आधारमा कर्मचारीको अनिवार्य अवकाश व्यवस्था कानूनमै गरिएको हुन्छ । नेपालमा निजामती सेवा ऐन, २०४९ तथा नियमावलीमा अवकाश सम्वन्धी ब्यवस्था गरिएको छ । यद्वपि पछिल्लो समयमा कर्मचारीको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष पुर्‍याउने बिषयमा पक्ष र विपक्षमा विभिन्न तर्क र छलफल चल्ने गरेका छन् ।

२. कर्मचारीको औषत आयू (Rising life expectancy) र कर्मचारीको अवकाश मान्यता (Age of retirement):

सेवा निवृत्त हुने स्पष्ट किटान सहित कानूनी व्यवस्था सर्वप्रथम जर्मनीमा १८८० मा जर्मनीबाट शुरु भएको पाइन्छ । सेवावधि यहि नै हो भन्ने विश्वभरी एउटै मान्यता रहि आएको पाइदैन् । विभिन्न देशको अवकाश उमेरहदलाई आधार मानि विश्लेषण गर्ने हो भने कर्मचारीको अवकाश आधार/मान्यताहरु निम्न पाइन्छ ।

  • राज्यका नागरिकको औषत आयू
  • राज्यको Demographic Structure (बालवालिका, बृद्वबृद्वा कति छन् )
  • राज्यको वेरोजगार दरको अवस्था
  • Youth Brain Drain अवस्था (Push and Pull Factor)
  • अवकाश पछि कर्मचारीको Span of Life मा परेको प्रभाव
  • जनशक्ति, श्रमिक वा कर्मचारीको मानसिक र शारीरिक हिसाबले तन्दुरुस्त अवस्था

३. कर्मचारीको औषत आयू र अवकाश उमेरमा किन तालमेल मिलाउने त ?

राज्यको जनसंख्या, कर्मचारी संख्या, कर्मचारीको अवकाश पछिको Span of Life,  अन्य देशको अभ्यास, देशको आर्थिक अवस्था, श्रम शक्तिको मानसिक र शारिरीक अवस्था आदीलाई आधार मान्दा निम्न कारणले गर्दा कर्मचारीको औषत आयू र अवकाश उमेरमा तालमेल मिलाउनु जरुरी छ ।

  • Early retirement ले कर्मचारीको Span of Life कमजोर बनाउछ । एक अध्ययनका अनुसार चाडै उमेरमा अवकाश भएका कर्मचारीहरु मध्ये ६०% भन्दा बढी कर्मचारीको थप आयू ७-१० बर्ष मात्र देखाइएको छ ।
  • चाडै अवकाश पाउने कर्मचारी अवकाश जीवनमा सोचेजस्तो काम,सम्मान नपाउदा मानसिक डर, कमजोर, चिन्ता नैराश्यता उत्पन्न हुने गर्दछ । कतिपयले आत्महत्या गर्ने, रोगको शिकार बन्ने जस्ता Negative Impact देखा परेका छन् ।
  • सक्षम कर्मचारीलाई संगठनमै राख्दा संगठनको उत्पादकत्व (Productivity) बढ्छ । उनीहरुका ज्ञान, सीप, क्षमतालार्इ उपयोग गर्न सकिन्छ ।
  • कर्मचारीलाई मानव पुँजी (Human Capital) को रुपमा हेर्नुपर्छ । उनीहरुलाई संगठनको बोझको रुपमा हेर्नुहुन्न । बिश्वव्यापी अवकाशको आधार हेर्दा कुनै न कुनै देशले कर्मचारी अवकाश लिन इच्छा नगरुन्जेलसम्म सेवा गर्न सक्ने Scheme ल्याउने गरेका छन् ।
  • यसर्थ बिश्वव्यापी मान्यता अनुसार कर्मचारीको बिज्ञता र दक्षताको उपयोग गर्न पनि Expectancy Life Limit र  Retirement Age Limit बीच तालमेल मिलाउन जरुरी छ ।

४. नेपालको निजामती सेवामा अवकाश उमेर बहस :

  • मौजुदा अवस्था

निजामती सेवा ऐन २०४९ तथा नियमावी २०५० मा ब्यवस्था भए अनुसार कर्मचारीको अनिवार्य अवकाश उमेरहद ५८ बर्ष तोकिएको छ । यस बाहेक अन्य सरकारी सेवामा रहेको सेवा अवकाश उमेर निम्नानुसार रहेको देखिन्छ ।

  • निजामती सेवा -५८ बर्ष
  • संसद र स्वास्थ्य सेवामा -६० बर्ष
  • अदालत न्यायधिस -६३ बर्ष
  • सर्वोच्च अदालतका न्यायधिस -६५ बर्ष
  • संवैधानिक निकायका पदाधिकारी -६५ बर्ष
  • विश्वविधालय प्राध्यापक -६५ बर्ष
  • अवकाश उमेरहद कसरी निर्धारण गरिएको भन्ने बिषयमा, यी विविधतालाई पुष्ट्याइ गर्ने कुनै आधार भेटिदैन ।
  • अन्य देशको व्यवस्था

विश्वभरको अभ्यास हेर्दा अवकाश उमेर सीमा ( Retirement Age Limit) औषत ६० देखि ६५ बर्षको अन्तरमा प्रयोगमा ल्याइएका छन् । यी अभ्यासलाई निम्नानुसार अवलोकन गर्न सकिन्छ ।

  • भारतमा ६० बर्ष,
  • अमेरिकामा (६५-७०) बर्ष,
  • बेलायतमा (६०-६५) बर्ष,
  • फ्रान्समा ६५ बर्ष,
  • मलेसियामा ६० बर्ष,
  • डेनमार्क ६५ बर्ष । सन् २०२२ मा ६७ बर्ष कायम गर्ने योजना
  • बेल्जियम (६०-६३) बर्ष । सन् २०३० मा ६५ बर्ष पुर्‍याउने योजना
  • अष्ट्रेलिया- ६५ बर्ष । सन् २०२३ मा ६७ बर्ष पुर्‍याउने लक्ष्य निर्धारण

५. नेपालको निजामती सेवामा उमेरहद ६० बर्ष कायम गर्नुको औचित्यता :

नेपालमा पछिल्लो समयमा संघीय निजामती सेवा बिधेयक तर्जुमाको माध्ययबाट हालको अवकाश उमेरहद ५८ बाट २ वर्ष बढाएर ६० बर्ष पुर्‍याउनुपर्ने विषयमा यसका पक्ष विपक्षमा मत जाहेर भइरहेका छन् । यद्यपी निजामति सेवामा अवकाश उमेरहद ६० बर्ष बनाउनु पछाडिको औचित्यता पुष्टि निम्नानुसार गर्न सकिन्छ ।

  • छिटो अवकाश (Early retirement) ले राज्यलाई पेन्सनभार पर्छ । यसलाई ब्यवस्थापनका लागि पनि सहयोगी हुन्छ ।
  • रोजगार रहनु भनेको उत्पादकत्व (Productivity) बढाउनु हो, जसले अर्थतन्त्रमा प्रत्यक्ष सहयोग पुर्‍याइरहेको हुन्छ ।
  • नेपालमा Early retirement पश्चात Social security का विषय, पक्षहरु ज्यादै न्यून छन् । कर्मचारी जीवन निर्वाहको लागि नै जागिरमा लागेको हुन्छ ।
  • बिकसित देश तुलनामा नेपालमा निजामती कर्मचारीको अवकाश पछिका सामाजिक सुरक्षाका पक्षहरु ज्यादै कमजोर रहेका छन् ।
  • सामान्यत: विश्व अभ्यास एवं मान्यता अनुसार कर्मचारीको Active Life Limit, Expectancy of Life, National Labour Market Intensity, Active Labour Force, Demographic Structure लाई आधार तुलना गरेर नै अवकाशको उमेरहद तोकिएको हुन्छ । यस अर्थमा पनि नेपालीको औषत आयू हाल ६९.७ बर्ष र श्रम वजारमा सकृय जनसंख्या धेरै नै रहेको छ ।- पन्ध्रौ योजना
  • चाडै अवकाश प्रणालीले कर्मचारीको Span of life कमजोर बनाउनुका साथै यसबाट कर्मचारीमा रोग, चिन्ता, नैराश्यता र मानसिक कमजोर हुदै आत्महत्याको अवस्था समेत आउन सक्छ ।
  • संघीयतामा कर्मचारी ब्यवस्थापन गर्न सहयोग हुन्छ । पुराना कर्मचारीको ज्ञान, सीप क्षमतालाई उपयोग गर्न सकिन्छ ।
  • पुरुषले ३५ बर्ष र महिलाले ४० बर्ष सेवा प्रवेश हद तोकिएको र ४० बर्षमा सेवा प्रवेश गर्ने महिलाहरु ५८ बर्षमै अवकाश हुँदा निवृत्तभरण (पेन्सन) पाउन नसक्ने ब्यवस्था गरिएकोमा यसको समस्या हल हुन्छ ।
  • बिश्वका विकसित देश लगायत सार्क राष्ट्रको औषत अवकाश उमेरहद ६० बर्ष देखिन्छ । यसलाई समान बनाउन पनि ६० बर्ष कायम गर्न उपयुक्त छ ।
  • निजामती सेवा वाहेक अन्य सरकारी सेवामा अवकाशको उमेर हद ६०-६५ बर्ष देखिन्छ । सबै निकायसँग समन्यायिक बनाउन आवश्यक छ ।

 ६. कर्मचारीको अवकाश उमेरहद ६० बर्ष ब्यवस्थाबाट पर्ने प्रभाव र समाधान :

कुनै पनि नीति तर्जुमा गर्दा यसले केहि पक्ष/बर्गलाई न्याय (फार्इदा) र अन्यलाई अन्याय (घाटा) त पक्कै गर्दछ नै। यसरी यसको ब्यवस्थाले पार्ने प्रभाव र ब्यवस्था गर्नका लागि गरिनुपर्ने यससँगै थप सुधार/समाधानलाई निम्न पक्षबाट केलाउन जरुरी छ ।

  • सकारात्मक पक्ष
  • राष्ट्रिय ढुकुटीमा ब्ययभार कम हुन्छ ।
  • राष्ट्रिय पुँजी कोषको अवस्था कमजोर भएको कारण विकास बजेटलाई साधारण बजेटले धेरै पछाडि धकेलिदिएको छ । अवकाश हुने उमेर वृद्धि गर्दा यस अवस्थामा सुधार आउन सक्छ ।
  • कर्मचारीको अनुभव ज्ञान र सीपलाई संगठनले उपयोग गरी लाभ लिन सक्छ ।
  • संगठनमा उत्पादकत्व बृद्वि हुन्छ ।
  • Labor force participation rate बढ्छ ।
  • Old-age pension ratio बढ्दा अवकाश पछिको कर्मचारीको जीवन सहज हुन्छ ।
  • कर्मचारीको Life of Span बढाउन मद्वत गर्दछ ।
  • अनुभवी कर्मचारीमा काम गर्ने जाँगर उत्प्ररणा बृद्वि हुँदा संगठनको उत्पाकत्व वढ्छ ।

 

  • नकरात्मक पक्ष
  • जनसंख्याको दुइतिहाइ बेरोजगार भएको जनसांख्यिक बनावटमा यसले रोजगारमा प्रत्यक्ष असर गर्दछ ।
  • संगठनमा बढुवाको अन्तिम चरणका कर्मचारीलाई नकरात्मक असर गर्दछ । जस्तो; उमेर हदका कारण सेवा अवकाश हुने केहि बर्ष बाँकि भएका तर बढुवाका लागि योग्य भएका ।
  • संगठनमा युवा कर्मचारीको मनोवल र उत्प्रेरणा कमजोर हुन्छ ।
  • संगठनमा New Blood Inject गर्न आकर्षण हुदैन ।
  • Career shift effect बढ्छ ।
  • संगठनमा बढुवा प्रणालीलाई केहि समय अस्थिर बनाउनछ ।
  • श्रम बजारका युवाहरुको विदेश पलायन बढ्छ ।
  • अध्ययन विना हचुवाको भरमा २ वर्ष बढाइने ब्यवस्थाले अधिकाशं कर्मचारीको बृत्तिपथ (Carrier path) लाई असर गर्दछ ।
  • संगठनमा सबै उमेर समुहको सन्तुलन आवश्यक रहन्छ । उमेर अनुपात (Age Ratio) लाई विश्लेषण नगर्दा एकै उमेर समुहका अत्याधिक कर्मचारी भै नेतृत्व विकास, कार्य पद्वतिमा नै फरकपनता/द्वन्द्व बढ्ने खतरा हुन्छ ।

 

  • ब्यवस्थासंगै गर्नुपर्ने थप सुधार (समाधान)
  • कर्मचारीको मानव संशाधन नीति यथासिघ्र तर्जुमा गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
  • उच्च ब्यवस्थापन समुह कर्मचारीमा नेतृत्व विकासका लागि Succession Plan तयार गरिनुपर्छ ।
  • ६० बर्षे अवकाश उमेरहद एकै पटक लागु नगरी ३ बर्षसम्म प्याकेज (Package) को रुपमा लागु गरिनु आवश्यक छ ।
  • कर्मचारीको अवकाश योजना तथा रणनीति तयार गर्नु आवश्यक छ ।
  • कर्मचारीलार्इ अवकाश अघि एक महिनाको Life Skill सम्वन्धि तालिम गराइनुपर्छ ।
  • योगदानमा आधारित पेन्सन प्रणालीको ब्यवस्था गरिनुपर्छ ।
  • कर्मचारीमा Diversity management सम्वन्धी बिशेष योजना र रणनीति निर्माण गरिनुपर्छ ।
  • उमेर हद ६० बर्ष बनाउदा संगठन भित्र बढुवा प्रणालीमा प्रत्यक्ष असर गर्ने भएकाले निजामती कर्मचारीको बढुवा सम्वन्धी नयाँ तवरबाट ब्यवस्थापन गरिनुपर्छ । जस्तो: Batch Promotion.
  • निजामती कर्मचारीको सेवा प्रवेश उमेरहद शाखा अधिकृत (१८-२५ वर्ष) कायम गरिनुपर्छ । कर्मचारीलाई संगठन भित्रबाटै Grooming गरी बृत्तिपथ अनुमानयोग्य बनाउनुका साथै उपसचिव भन्दा माथीका पदहरुमा प्रतियोगितात्मक परिक्षा प्रणाली हटाइनुपर्छ ।

७. निष्कर्ष :

कर्मचारी अवकाश सम्वन्धी विश्वव्यापी रुपमा विभिन्न आधार र मान्यताहरु रहेका हुन्छन् । कर्मचारीको अवकाश उमेर लहडमा लागेर वा विना अध्ययन बृद्वि गर्दा यसले राज्यको श्रम वजार, अर्थतन्त्र, सांगठनिक स्वरुप र जानसांख्यिक बनावटमा समेत प्रत्यक्ष असर गर्दछ । तसर्थ यसको समस्या हल गर्न बर्तमान अवस्था, मान्यता र आधारका राम्रा र नराम्रा पक्षलाई केलाउदै Ageing Index, Labor force index, Active population Index लगायतको आधारमा विधमान सांगठनिक निजामती जनशक्तिको अवस्था र ब्यवस्था समेतलाई मध्यनजर गरी कर्मचारीको सेवा अवकाश उमेरहद शर्त र परिधि भित्र रहि ६० वर्ष बनाउनु श्रेयष्कर हुन्छ ।

प्रतिक्रिया दिनुहोस