तीजको महिमा नबिटुल्याउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीजको महिमा नबिटुल्याउ


४ भाद्र २०७६, बुधबार


समय क्रमसँगै हाम्रा मौलिक परम्पराहरूमा पनि बदलाव आएको छ । धार्मिक मूल्य, मान्यता र परम्पराहरूले शैली परिवर्तन गर्दै फेसनमा परिणत हुँदै गएका छन्, जसले मौलिकताको त नाश गरेको छ नै, समाजलाई एक किसिमको विकृतसमेत बनाई रहेको छ ।

जब जब यस्ता गतिविधिहरू बढ्दै जान्छन् तब तब यो शासन व्यवस्थासँगसमेत जोडेर अथ्र्याउने गरिन्छ । पछिल्लो समय लोकतन्त्र नराम्ररी बदनामित हुन पुगेको छ । लोकतन्त्रका पनि आफ्नो सीमा छ, केही मूल्य र मान्यताहरू छन् । त्यसलाई सबैले पालना गरे मात्र त्यो समयानुकूल र सुन्दर लाग्छ । तर, सीमित र निहित स्वार्थमा जब आफू अनुकूल परिभाषित गरिन थाल्छ तब त्यो गन्हाउन पुग्छ ।

यति बेला हिन्दु नेपाली नारीहरूको महत्त्वपूर्ण पर्व तीजबारे दुई थरी बहस चर्चामा छन् । एउटा आधुनिक शैलीमा महिनाअघिदेखि होटेल तथा पार्टी प्यालेस बुकिङ गरेर तडकडभकका साथ ड्याङ–ड्याङ र डुङ–डुङ गर्दै ठुलै भोजभतेरका साथ मनाउन पाउनु पर्छ भन्ने र अर्को समाजको सहनशीलताको तहसमेतलाई ख्याल गरी ‘मौलिक परम्परा’ अनुसार मनाउनु पर्छ भन्ने ।

दिनभर निराहार व्रत बसी सो को अघिल्लो दिन मिठो मसिनो अर्थात् दर खाने चाँडको मौलिक परम्परा रहेको भए पनि सहरी क्षेत्रमा महिनौँ अगाडीदेखि विभिन्न सङ्घसंस्थाको नाममा होटेल तथा पार्टी प्यालेस बुकिङ हुन थालेपछि स्थानीय प्रशासनले चासो दिनु स्वाभाविकै हो ।

केही स्थानमा स्थानीय महिलाहरूले नै तीजको मौलिकतामाथि नै आँच आएको आएको भनी पर्वको ‘मौलिकता संरक्षण’का लागि प्रशासनको ध्यानाकर्षण गराएपछि प्रशासनले मौलिक परम्पराअनुसार तीज पर्व मनाउन अनुरोध गरेको छ ।
फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साङ्गीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण रोक्न प्रशासनले जारी गरेको सूचना विरुद्ध पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घले जनाएको आपत्ति आफैमा आपत्तिजनक छ ।

व्यवसायका नाममा ‘मौलिक परम्परा’लाई चुनौती दिने र समाजमा अमनचयनसँग बस्न पाउने आम नागरिकको अधिकारको हनन गर्ने अधिकार महासङ्घलाई कसले दियो ? शान्ति सुरक्षामा पर्न सक्ने असरबारे प्रशासनले अपनाउने सजगता र अनुरोधलाई अलोकतान्त्रिक मान्ने हो भने सक्नेले जे पनि गर्न हुने नै लोकतन्त्र हो त ? मध्यरातसम्म चर्को ध्वनिमा गानबजान गर्न पाउनु पर्छ भन्दै गर्दा रातमा आनन्दले सुत्न पाउने नागरिकको अधिकार नि !

सापटी लिएरै होस् कि जे जसो गरी जोडेको होस् तडक भडकका साथ गरगहना प्रदर्शन गर्दै गर्दा समाजमा परिरहेको असर पनि सोच्न पर्दैन ? हुनेले लाउने, खाने, घुम्नेदेखि आफ्नो सम्पत्तिमा मोजमस्ति या जे जे मन लाग्छ गर्न सक्छ तर समाजको ‘मौलिक परम्परा’लाई धमिल्याउने गरी होइन ।

नितान्त व्यक्तिगत तथा निजी मामिला विवाह, व्रतबन्ध जस्ता कार्यका लागि त सरकारले कानुन ल्याएर मापदण्ड तोक्न सक्छ भने लाखौँ लाखौँ महिलाहरूको परम्परालाई मर्यादित बनाउन खोज्नु गलत हो भने सही के ?

के यही हो तीज भनेको ? ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने पर्व’लाई महिनौँ, हप्तौँसम्म लम्ब्याउने आधार के ? ‘भगवान् शिवको आराधना गरी नाचगान तथा मनोरञ्जन गरी मनाउने’ भनिएको पर्वलाई पार्टी प्यालेसमा माछा मासु र कतिपय अवस्थामा मदिरासहित खाएर उफ्रिएरै मनाउँदा तीजको मौलिकता कायम रह्यो त ?

‘तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाई मिठा मिठा परिकार खुवाउँदै सुख दुःखका कुरा गरी सपरिवार भेला हुने र यस दिनमा दर खाने चलन छ । यही दर खाने दिनबाट नै तीजको शुभारम्भ भएको मानिन्छ ।’ भनिएको छ तर सहरभरिका पार्टिप्यालेसमा भेला भएर उधुम मच्चाएर कसरी हाम्रो संस्कृतिको जगेर्ना भयो त ?

‘विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरू सुयोग्य वरका लागि व्रत बसी व्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा गरी ब्राह्मणलाई दान दक्षिणा दिइन्छ’ भनिएको छ तर दरका नाममा होटेल, रेस्टुरेन्ट तथा प्यालेसहरूमा धूम मच्चाई नशा उत्रिएको भोलिपल्टै देखि गृह कलह जगाउँदा पतिको ‘दीर्घायु’ र ‘सुयोग्य वर’को कामना पुरा होला त !

यदि महत्त्व नै बुझेर तीन मनाउने हो भने धार्मिक ग्रन्थ पनि त मान्नुपर्ला नि ! हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीलाई भगवान् विष्णुसँग कन्यादान गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गई शिवजीको तपस्या गर्न थालेको उल्लेख छ ।

तपस्या गरेको सय वर्ष पूरा भइसक्दा पनि फल नपाएपछि शिव लिङ्गको स्थापना गरी पानीसमेत नपिईकन निराहार व्रत बसेको र पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुगेको भाद्र शुक्ल तृतीयाको उक्त दिनलाई हिन्दु नारीहरूले उत्सवका रूपमा मनाउन थालेको र तीजको रूपमा मनाउने चलन चल्दै आएको मानिएको छ ।

तर, खै त हप्तौँ-महिनौँदेखि तयारी गर्दा यसको महिमा झन् बढेको हुनुपर्ने हो तर ‘दर’का नाममा खाने पिउने कार्यक्रमबाहेक अन्य त केही सुनिँदैन त ? त्यसैले सक्छौँ मर्यादा पालना गरौँ, सक्दैनौँ नधमिल्याउँ ।

घटना घटिसकेपछि त्यसमा अनेक थरी रूप र रङ्ग छर्दै प्रशासनलाई गिजोल्याई राख्ने मनसाय त्यागी सम्भावित घटनाको पूर्वानुमानसहित सामाजिक मर्यादा कायम राख्न स्थानीय प्रशासनले जारी गरेको सूचना पालना गर्नु र गराउनु नै सभ्य नागरिकको कर्तव्य हो । यसर्थ केही प्रशासनले जारी गरेका निर्णय फिर्ता लिने होइन, गृह मन्त्रालयले नै सबै जिल्ला प्रशासनले अनिवार्य लागू गर्ने गरी ‘समाजमा बढ्दो तडकभडकलाई न्यून गर्न, ध्वनि प्रदूषण हुनु नदिन र फजुल खर्च कटौती गरी समाजको सहनशीलताकोसमेत ख्याल गरी मौलिक परम्पराअनुसार हरितालिका तीज बनाउन सार्वजनिक सूचना’ जारी गर्नुपर्छ ।

सीमित प्रतिशत ‘सहरिया भड्काऊ’ले आधुनिकताको नाममा बहुसङ्ख्यक गाउँले मौलिक परिवेशलाई नबिटुल्याओस् ।

प्रतिक्रिया दिनुहोस