उत्प्रेरणाका लागि सन्देश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उत्प्रेरणाका लागि सन्देश


२९ श्रावण २०७६, बुधबार


छोराछोरी नबिग्रियोस, ज्ञानी, विवेकी, असल, आत्मनिर्भर, इज्जतिलो बनोस् र शत्रुका अगाडी आत्मसम्मान र गर्वका साथ जीवनयापन गरोस् भन्ने चाहना हरेक बाबा आमाको चाहाना र इच्छा हुन्छ । तर समाजमा कयौँका छोराछोरीहरू रक्सीको लतमा फसेको, चुरोटको धुवाँमा उडेको र गाँजा, चरेसको नशामा डुबी अमूल्य जीवनबाट हरेस खाएको तितो यथार्थ आँखा अगाडि छर्लङ्ग मानचित्रमा देखा परेको छ । प्रत्येक छोराछोरीहरू कुनै दिनमा विद्यार्थी जीवन व्यतीत गरेको समयमा शिक्षक, शिक्षिकाहरूले कुलतमा नलाग्नको लागि शिक्षा, चेतना, ज्ञान दिन्छन् तर तिनै विद्यार्थी कुलतमा लागि समाज, देशका कर्णधार नभै कपुत भएर दर्दनाक जीवनयापन भोगेको पाउन सकिन्छ ।

यदि सक्छौ भने प्रत्येक वर्ष पुनः स्मरणका लागि एक वर्ष पछि फेरि अध्ययन गर्‍यौ भने प्रगतिको आशामा भविष्य पक्का कुलत नलागेको सपुत, कर्णधार हुने छ भन्नेमा समाजका अगाडी ग्यारेन्टी गर्न सक्छु । आशा छ देशका कर्णधार जस्ता थुप्रै साथीहरूलाई पथ प्रदर्शक, दिशानिर्देश गर्ने अब्बल खालको दस्ताबेज हुने छ भन्नेमा विश्वस्त हुन चाहन्छु । सफलताको लागि कुदिरहेको हरेक मानिसलाई चेतनामूलक सारथि योग्य सामाग्री हुन सक्छ ।

लक्ष्य, उद्धेश्य हासिल गर्न लागी परेमा अफसल कोही पनि हुँदैन भन्ने थोमस एल्वा एडिसन भन्छन् । रुचि, इच्छाले महान् बनाउँछ मान्छेलाई भन्छन् सर आइज्याक न्युटन भन्ने महान् वैज्ञानिक । सोच्ने तरिका बदलौँ र सफलताको यात्रा गरौँ भन्ने सोच राख्ने वैज्ञानिक अल्वर्ट आइन्स्टाइन हुन् । लगन छ भने सफल हुन लगानी चाहिँदैन, सुति रहेका प्रतिभा जर्‍याक जुरुक्क उठ्नका लागि इख चाहिँदो रहेछ भन्छन् विथोविन । शिक्षाले हैन, इच्छाले मात्र सफलता ल्याउँछ भन्छन् चाल्र्स डार्विनले । प्रतिभा नभएर के भो, प्रतिज्ञा तथा कसम त गर्नुहोस् भन्छन् लुइ पाश्चर । जाँचमा फेल भएर के भो र ? आफ्नो खुबीलाई पछयाउने हो भने इतिहासमा नर्बिसने गरी संसारको आँखा अगाडि आउन सकिन्छ भन्छन् रुसी लेखक लियो टोल्स्टाय ।

समस्याको समाधान हैन, सदुपयोगले सफलता ल्याउँछ भन्दै निराशावादीहरू हरेक अवसरलाई कठिनाइ ठान्छन् भने आशावादी हरेक कठिनाइलाई अवसर मानी सङ्घर्ष गर्नुपर्ने अमेरिकी लेखक विन्स्टन चर्चिल बताउँछन् । जीवनसित जुवा खेल्नुस् र सफल हुनुस् भन्ने वाल्ट डिज्नले आफूमाथिको पागलको आरोपलाई सामना गर्दै विश्व विख्यात हस्ती बन्न सफल भए । काम तुच्छ होस् तर सपना (सोच) महान् होस् भन्ने संसारकै सबभन्दा धनी मान्छे बन्न सफल एन्ड्रयू कारनेगी स्कुल शिक्षा नपाएर पनि सफलता हासिल गरे ।

संसार बिर्सेर काम गर्दै जाऊ, सफलता १०० प्रतिशत सम्भव छ भन्दै चौबिसै घण्टा बिजनेसको बारेमा सोच्ने जोन डी.रकफेलर गरिब परिवारमा जन्मेका थिए । महान् सफलताको साँचो(चाबी) कसैले नगरे जस्तो काम गर्नु हो भन्ने फ्रेन्क ब्लुवर्ड जाडोमा एकजोर गतिलो कपडा नपाउने र छ महिनासम्म जुत्ता नभएर नाङ्गो खुट्टामा बस्दथे । महानतम मुक्केबाज मुहम्मद अलीले भौतिक प्रयास मात्र हैन, मानसिक अभ्यास पनि जोड्नु पर्छ, सफलताको लागि भन्दै दिनमा ६ घण्टा प्रशिक्षण लिन्थे । भारतीय सुपरस्टार अमिताभ बच्चनले कि गर्नु, कि मर्नुको अवस्थामा नपुगुन्जेल सफल भइँदैन भन्दै हारजित त जीवनमा भई नै रहन्छन् तर मनले भने कहिल्यै हार्नु हुँदैन भनेका छन् । मार्सल आर्टसको ज्ञाता चीनका बु्रस ली ले सफलताको सूत्र साहस, ठुलो लक्ष्य र दैनिक २० घण्टे परिश्रम गरी विद्रोह गर्ने तागत भएकाहरू घाँडोलाई चँुडालेर अघि बढ्छन् भने कमजोरहरू घाँडो सहित गाई गोरुको नियति भोग्न बाध्य हुन्छन् भनेका छन् ।

विश्वमा उत्तरी तथा दक्षिणी ध्रुवमाथि हवाई उडानको कीर्तिमान राख्ने एडमिल रिचर्ड बर्डले डायरी लेखन एवम् पूर्वाधारको निर्माण नै सफलताको बाटो हो भन्दै १२ वर्ष कै उमेरमा डायरीमा लेखेको सपनालाई साकार पार्न सफल भए । २७ वर्ष जेलमा काटेका दक्षिण अफ्रिकी सरकारको राष्ट्रपति बनेका र सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेल्सन मण्डेलाले सफलताको रहस्य भने कै कर्ममा रमाउने खुबी भनेका छन् । सङ्घर्षको पर्यायवाची नै मेरो जीवन भनेका छन् । लियोनार्दो दा भिन्चीले जुन क्षेत्रमा सफल हुनु छ त्यसै क्षेत्रको रोल मोडल छान्नु सफलताको पूर्वाधार हो भन्ने व्यक्ति चित्रकार मात्र नभै मूर्तिकार, वास्तुविद्, इन्जिनियर, मेकानिक्स समेत बनेका थिए ।

समस्याको समाधान हैन, सदुपयोग गरे सफलता होइन्छ भन्ने शिक्षण पेशाबाट एकाएक दामी एवं नामी साहित्यकार बन्न सफल व्यक्ति एच.जी.वेल्स हुन् । विश्वका महानतम कहानीकार जसले हाइस्कुल कलेज जान पाएनन् तर आज उनकै कथा संसार भरि पढाइन्छ र पढिन्छ । ती हुन् ओ हेनरी । हेनरीले हरेक समस्या अवसरकै अर्को रूप हो समेत भनेका छन् । विश्वविख्यात कालजयी उपन्यास आमाको लेखनी गरेका रुसी साहित्यकार म्याक्सिम गोर्कीले शिक्षाले हैन, इच्छाले सफल मान्छे जन्माउँछ भन्दै अखबारमा काम गर्ने मौका पाएपछि लेखन सीपमा हात हालि सफलता हासिल गरेका थिए । फयोदोर दोस्तोयत्स्कीले जति बढी पीडा, उति ठुलो सफलता हुन्छ भन्नेले ‘क्राइम एण्ड पनिसमेन्ट’ जस्तो कालजयी कृति लेख्न सफल भए ।

पढ्ने तीव्र इच्छाका कारण कैयन पटक आफूले लगाउने लुगा समेत बेचेर किताब किनेका हेनरिक इब्सनले कमाउनको लागि होइन, सिक्नको लागि काम गर्नुहोस् भन्दै प्रायः मान्छे बाँच्दै नबाँची मर्छन् सौभाग्य यो हो कि उनीहरूलाई यसको ख्याल समेत हुँदैन भनेका छन् । शुभ कार्य कहिल्यै असफल हुँदैन भन्ने क्रिष्टोफर कोलम्बसले नकारात्मक सल्लाह अरूको त के विद्धानको पनि मान्नुहुन्न भन्दै समुन्द्री यात्राको खोजकर्ताले अमेरिका पत्ता लगाए ।

सफलताको लागि एउटा विचार पनि काफी हुन्छ भन्ने सेल्सम्यान किंग सी. जिलेटले दाह्री खौरीने ब्लेडको कारखाना खोल्ने विचारका कारण मालामाल बने । सारा कम्प्युटरका सप्टवेयर निमार्ता बिल गेट्सले कहिल्यै टी.भी.हेरी समय बर्बाद गर्न रुचाएनन् । सफल हुनेले अरूले जे गर्छन् त्यही गर्दैनन भन्दै उनका कम्पनीका कर्मचारीहरूले दिनमा मात्र हैन रातभरि पनि काममा खटिरहेकै हुन्छन् ।

डेबी फिल्ड्सले घरेलु कुकिज बेचेर करोडौँ डलर कमाउने आँट त के कल्पना पनि गर्न गाह्रो मान्ने मान्यतालाई तोड्दै आफ्नो खुबी पस्कँदै गर्नु पर्दछ भन्ने धारणा राख्दछिन् । वर्षौको मिहिनेत र बारबार असफलतापछि इन्जिन तयार गरी छाडेका हेनरी फोर्डले प्रयास जारी राखे र हरेक असम्भव सम्भव बन्छ भनेका छन् । त्यसै गरी तपाईँ गर्न सक्छु भन्नुहुन्छ भने जे पनि गर्न सकिन्छ, गर्न सकिन्न भन्नु हुन्छ भने केही पनि गर्न सकिन्न भनी हेनरी फोर्डले विश्वलाई ध्यान केन्द्रित गराउन सफल भए ।

विश्व प्रसिद्ध रिडर्स डाइजेष्ट प्रकाशित गर्ने डेविड बालेसले सफलता के हो ? विचारलाई व्यवहारमा बदल्ने जोखिम मोल्नुलाई मानेका छन् । सन् १८७६ मार्च १० मा टेलिफोनको आविष्कार गर्न सफल अलेक्जेष्डर ग्राहम बेलले प्रेम सफलताको सबभन्दा ठुलो उत्प्रेरणा भनेका छन् । डाक्टर पेशाबाट असन्तुष्ट धावक सर रोजर व्यानिष्टरले मान्छेले चाह्यो भने कुनै पनि सीमा रेखालाई मेटाउन सकिन्छ भनेका छन् । लगातार सिक्दै जाने हो भने सफल हुने सूत्र आफै भेटिने सेम वाल्टनले भनेका छन् । भारतका धनी मानिस धिरुभाइ अबानी गुजरातका गरिब स्कुलको मास्टरका छोराले सफलताको लागि पैसा खोज्ने होइन, काम सिक्नु पर्दछ भनेका छन् ।

सफलताको लागि वातावरण हैन, इच्छाशक्ति प्राथमिक कुरा भएको बताउने मदन पुरस्कार विजेता साहित्यकार झमक कुमारी घिमिरे हुन् । थोमस जे.बरेलले मान्छेले सफल हुने गुण जन्मजात ल्याएका हुन्छन् त्यसैले आफू केका लागि जन्मेको बुझि सकेपछि दोस्रो काम हुन्छ त्यस मुताविक मान्छेको संगति पाउनु हो । कस्मेटिक्स सामानहरूको उपयोगलाई ध्यान राखी व्यावसायिक सफलताको पहिलो सूत्र हो अरूको आवश्यकता बुझ्नुपर्छ भन्ने अनिता रोडिक करोडपति महिलाको नामबाट विश्वमा चिनिन्छन् ।

घनघोर परिश्रम अनि नयाँ प्रयोगले दिन्छ सफलता भन्ने करसरन भाइपटेलले राति अबेरसम्म काम गर्दथे । इन्जियिनर एन.आर.नारायणमुर्तिले काममा नै मनोरञ्जन गर्न सक्नु सफलताको गुढ रहस्य हो भनेका छन् । प्याटी विल्सनले मान्छे समस्याले होइन, विचारले असफल हुन्छन् भनेकी छिन् । लोकप्रिय संगितकार जार्ज गर्शविनले तन, मन, धन जोडनुस् जहाँ हात हाले पनि सफल हुनुस भनेका छन् । भारतीय राष्ट्रपति अब्दुल कलामले कल्पना सबभन्दा ठुलो गर्नुस तर काम सबभन्दा सानोबाट थाल्नुस् सफलता हात पर्दछ भनेका थिए । सन् १९५७ मा लेखनका लागि नोबेल पुरस्कार जितेका अल्बर्ट कामुले सबै क्षेत्रमा असफल भए पनि मनले खाएको विषयमा सफल भइछाडने बताउँछन् । अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कन सन् १८६० को चुनाव पछि सफलता हात पार्दै असफलताको सङ्ख्या जति बढ्दै जान्छ सफलताको चुचुरो त्यति नै नजिक हुँदै जान्छ भनेका छन् ।

आखिर सबै बालबालिका सफलताको लागि विद्यालय जान्छन् । बाबा आमाको माया र प्रेम पनि सफलता कै लागि हुन्छ । सफलता बिनाको जिन्दगी सम्मानजनक हुँदैन । आफू जुन जीवनशैली अँगालेका छौँ त्यही धरातलबाट सङ्घर्ष र सफलताको सुरुवात गर्नका लागि छोरा छोरीलाई विभिन्न साहित्यकार, राजनीतिज्ञ, चित्रकार, व्यवसायी, सङ्गीतकारहरूको विश्वविख्यात सफलताका भनाइहरूलाई लेखन गरेको छु । यसलाई आधार बिन्दु मान्दै औपचारिक अध्ययनलाई परिमार्जन गर्दै सफलताको पदचापलाई सकारात्मक रूपले अभिवृद्धि गरेमा बाबा आमाको लगानी बालुवा माथि पानी खनाए जस्तो पक्कै हुने छैन ।

सफलता पाओस् र असफलताको शिक्षाबाट सफलता पाउने पक्की सडक निर्माण होस् भन्नका लागि मेरो पारिवारिक परिवेश जोड्दै विश्व प्रसिद्ध चर्चित भनाईलाई विश्लेषण गर्ने र आत्मसात् गर्ने मानव ज्ञानको अथाह सम्भावनालाई सार्थक तुल्याउने जिम्मा छोराछोरीको नै हो । छोराछोरीप्रति समर्पित आलेख, चिठी पत्र भोलिका दिनमा लेखी रहने छु । मेरा जस्ता अरू बाबु नानीलेसमेत अनुसरण, सिको गरेमा पक्कै समाज रूपान्तरणमा सानो इकाईको काम भएको मान्नी अध्ययन संस्कृतिलाई बढावा दिलाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस